काठमाडौंमा हार्वर्ड हेल्थ ह्याकाथन विशेष कार्यक्रम: नवप्रवर्तन, लगानी र मार्गदर्शनको संगम


मेचीकाली

काठमाडौं-हार्वर्ड हेल्थ ह्याकाथनका अग्रणी नवप्रवर्तकहरू, लगानीकर्ता, प्रशिक्षक तथा उद्योग विशेषज्ञहरूबीच आइतबार काठमाडौंमा एक उच्चस्तरीय नेटवर्किङ तथा मार्गदर्शन कार्यक्रम सम्पन्न भएको छ। द ब्रिटिश कलेज, काठमाडौंमा आयोजित उक्त कार्यक्रम नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (NTIC), काठमाडौं विश्वविद्यालयद्वारा आयोजना गरिएको हो।

“Innovators, Investors, and Coaches Meet” शीर्षकमा सम्पन्न यस विशेष कार्यक्रम हार्वर्ड हेल्थ ह्याकाथनका उत्कृष्ट २० टोलीका लागि लक्षित थियो। कार्यक्रममा स्वास्थ्य प्रविधिमा आधारित नवप्रवर्तनशील समाधानहरूलाई लगानी अवसर, विज्ञ मार्गदर्शन तथा रणनीतिक साझेदारीसँग जोड्दै नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी स्वास्थ्य नवप्रवर्तनलाई गति दिने उद्देश्य राखिएको थियो। पूरा दिन चलेको कार्यक्रममा प्रमुख वक्तव्य, प्रशिक्षकद्वारा सञ्चालित सत्रहरू, प्यानल छलफल, लगानी केन्द्रित प्रस्तुति तथा अन्तरक्रियात्मक नेटवर्किङ कार्यक्रमहरू समावेश थिए। कार्यक्रमको उद्घाटन तथा सन्दर्भ प्रस्तुत गर्दै प्रा. डा. बिम प्रसाद श्रेष्ठले नेपालमा स्वास्थ्य नवप्रवर्तनको सम्भावना र आवश्यकतामाथि प्रकाश पार्नुभयो।

कार्यक्रममा शार्क ट्यांक नेपाल तथा NAIMA की प्रतिनिधि रितु सिंह वैद्य र Xuno का डा. रुपेश कृष्ण श्रेष्ठ लगायतका विशिष्ट वक्ताहरूको सहभागिता रहेको थियो। प्रशिक्षकहरूले प्रारम्भिक चरणका स्वास्थ्य स्टार्टअपहरूको चुनौती, लगानीकर्तासमक्ष प्रस्तुति दिने तरिका तथा विश्वसनीय र विस्तारयोग्य प्रविधि निर्माणबारे महत्वपूर्ण सुझावहरू प्रदान गरेका थिए। त्यसैगरी, फ्युजमेसिन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. समीर मास्केले “AI, Health & the Future of Innovation in Nepal” विषयमा भर्चुअल माध्यमबाट विशेष मन्तव्य दिनुभएको थियो। कार्यक्रममा “Health at Home” का डा. विशाल ढकालको पनि सहभागिता रहेको थियो।

हार्वर्ड टी.एच. चान स्कूल अफ पब्लिक हेल्थ इनोभेसन ल्याब,युयस एम्बस्सी नेपाल,  कोइका नेपाल, डोल्मा फाउन्डेसन, एनसेल लगायतका प्रतिष्ठित साझेदारहरूको सहयोगमा सम्पन्न यस कार्यक्रमले नेपालका उत्कृष्ट स्वास्थ्य प्रविधि टोलीहरूलाई अनुभवी मार्गदर्शक तथा सम्भावित लगानीकर्तासँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रम सफलतापूर्वक आयोजना गर्न सहयोग पुर्‍याएकोमा द ब्रिटिश कलेजप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया



थप समाचारहरु