काभ्रे-बनेपा र पनौती नगरपालिका क्षेत्रमा रहेका दुई वटा पोल्ट्री फार्ममा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि करिब दुई हजार कुखुरा तथा हाँस नष्ट गरिएको छ।
पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिका–१३ साँगास्थित बद्री खत्रीको लेयर्स फार्ममा पालिएका कुखुरामा असार ३ गते बर्ड फ्लु पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि फार्ममा रहेका एक हजार ६५० वटा लेयर्स कुखुरा नष्ट गरिएको कार्यालय प्रमुख डा. बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो।
त्यसैगरी, पनौती नगरपालिका–७ स्थित शर्मिला श्रेष्ठको मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र लोकल कुखुरामा असार ७ गते बर्ड फ्लु पुष्टि भएको उहाँले बताउनुभयो। संक्रमण नियन्त्रणका लागि मङ्गलबार उक्त फार्मका १६७ वटा लोकल कुखुरा, ११२ वटा हाँस, १६ वटा अण्डा र ५० किलोग्राम दाना नष्ट गरिएको छ।
संक्रमण थप फैलिन नदिन सावधानीस्वरूप श्रेष्ठको घर नजिकै श्यामकुमारी थोक्करले पालेका १६ वटा गिरिराज कुखुरा पनि नष्ट गरिएको कार्यालयले जनाएको छ। ती कुखुरामा संक्रमण पुष्टि नभए पनि जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको डा. ठाकुरले बताउनुभयो।
उहाँका अनुसार जिल्लाभर बर्ड फ्लुबारे जनचेतना फैलाउन अभियान सुरु गरिएको छ। पशु सेवा कार्यालयले सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ भने जिल्लाका विभिन्न नाकामा पशु तथा पक्षीको ओसारपसारमा निगरानी कडा बनाइएको छ। स्थानीय तहका पशु सेवा शाखा र प्राविधिक परिचालन गरेर पनि निगरानी र जनचेतना कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।
हालसम्म जिल्लाका अन्य कुनै फार्ममा बर्ड फ्लुको संक्रमण नदेखिएको कार्यालयको भनाइ छ। यता, पोल्ट्री व्यवसायी मञ्च काभ्रेपलाञ्चोकका सचिव दयाराम महतले जिल्लाका ठूला व्यावसायिक पोल्ट्री फार्म सुरक्षित रहेको बताउनुभयो। उहाँका अनुसार हाल संक्रमण बनेपा र पनौतीका सानो परिमाणमा पक्षी पालिएका दुई फार्ममा मात्र सीमित रहेको छ र व्यावसायिक उत्पादनमा संलग्न ठूला फार्ममा बर्ड फ्लुको कुनै लक्षण देखिएको छैन।