धुलिखेल- प्रहरीले सुनको सिक्री लुटपाट घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत चैत २३ गते रोशी गाउँपालिका–८ घर भई हाल धुलिखेल नगरपालिका–७ अड्डाबजारमा डेरा गरी बस्ने ३८ वर्षीया सरिता हायु अस्पताल चोकतर्फ जाँदै गर्दा एक अपरिचित व्यक्तिले घाँटीमा लगाएको सुनको सिक्री लुटेर फरार भएका थिए।
घटनापछि पीडितको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको विशेष टोलीले अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो। सो क्रममा फरार रहेका प्रतिवादीहरूलाई असार ४ गते मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेँसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई चोरीसम्बन्धी कसुरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका–९ का १८ वर्षीय जुनिसा कपाली, मण्डनदेउपुर नगरपालिका–४ का १८ वर्षीय नवीन तामाङ, तेमाल गाउँपालिकाका १८ वर्षीय रोहन तामाङ, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ का १८ वर्षीय कमल बराइली, धुलिखेल नगरपालिका–३ का २३ वर्षीय अजय तामाङ तथा ओखलढुंगाका १८ वर्षीय किरण भुजेल रहेका छन्।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।