काभ्रे– राम्रो आम्दानी दिने नगदे बालीका रूपमा स्थापित हुँदै गएको बोधिचित्तको दाना टिप्ने सिजन सुरु भएसँगै काभ्रेपलाञ्चोकमा हरेक वर्षजस्तै यसपालि पनि विवाद, झगडा र चोरीका घटना बढ्न थालेका छन्। दानाको मूल्य उच्च भएकाले बगैंचा धनी, व्यापारी र मजदुरबीच हुने विवादले सुरक्षा चुनौतीसमेत थपिएको छ।
जिल्लाका विभिन्न स्थानमा बोधिचित्तको दाना टिप्ने विषयमा विवाद उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चार स्थानमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा १६ जना प्रहरी परिचालन गरेको छ। यससँगै पछिल्ला केही सातायता झण्डै एक दर्जन कृषकका बारीबाट बोधिचित्तको दाना चोरी भएका घटनाको अनुसन्धान पनि प्रहरीले गरिरहेको छ।
प्रहरीका अनुसार धुलिखेल नगरपालिका–८ की कृष्णकुमारी बडाल, रोशी गाउँपालिका–११ का मोहनबहादुर रायमाझी, रोशी–५ लुर्पुङका आईते सिं थिङ, धावा थिङ र जेनी सिं थिङ तथा रोशी–६ का शेरबहादुर तामाङको बारीमा दाना टिप्ने अधिकारलाई लिएर विवाद भएपछि सुरक्षा व्यवस्था मिलाइएको हो।
जिल्लामा बोधिचित्तको दानाको मूल्य बढ्दै जाँदा पहिले नै व्यापारीसँग भएको खरिद–बिक्री सम्झौता तोडेर बढी मूल्य दिने अर्को व्यापारीलाई बिक्री गर्न खोज्ने प्रवृत्तिका कारण हरेक वर्ष यस्ता विवाद दोहोरिने गरेको प्रहरीको भनाइ छ।
चोरीका घटनामा पनि प्रहरीले केही सफलता हात पारेको छ। धुलिखेल नगरपालिका–१ की कान्छी तामाङको करिब सात लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना चोरी गरेको आरोपमा सोही स्थानका फुर्साङ तामाङ, रोज तामाङ र फुर्बा तामाङलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक रबिन बिष्टले जानकारी दिनुभयो।
त्यसैगरी मण्डनदेउपुर नगरपालिका–१२ का सुनबहादुर तामाङको करिब पाँच लाख रुपैयाँ बराबरको दाना चोरी गरेको आरोपमा सम्राट कामी र भुम्लु गाउँपालिका–६ का कुमार कामीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।
यस वर्ष जेठ २० गतेदेखि असार २५ गतेसम्म जिल्लाका विभिन्न स्थानमा बोधिचित्त चोरीका घटना भएका छन्। धुलिखेल, पनौती, पाँचखाल, भुम्लु, मण्डनदेउपुर र रोशी गाउँपालिकाका कृषकहरू चोरीबाट प्रभावित भएका छन्। कतिपय स्थानमा रुख नै बीचबाट काटेर दाना लगिएको छ भने कतै रातिको समयमा मोटरसाइकल प्रयोग गरेर चोरी गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
यसैबीच, जेठ ३० गते राति काभ्रेभञ्ज्याङमा गरिएको सवारी जाँचका क्रममा प्रहरीले बा ७० प ३५५६ नम्बरको मोटरसाइकलबाट करिब तीन माना बोधिचित्तको दाना बरामद गरेको थियो। उक्त घटनामा रोशी गाउँपालिका–१२ का गणेश तामाङ र सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का दरी नेपाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका बोधिचित्त खेतीका प्रमुख क्षेत्र मानिन्छन्। पछिल्ला वर्षहरूमा यसको राम्रो बजार मूल्यका कारण जिल्लाका अन्य स्थानीय तहमा पनि बोधिचित्त खेती विस्तार हुँदै गएको छ। उत्पादनसँगै यसको व्यापार बढे पनि दाना टिप्ने अधिकार, खरिद सम्झौता र चोरीका घटनाले भने हरेक वर्ष सुरक्षा चुनौती दोहोरिँदै आएको छ।