विदेशका दुई दशक, स्वदेशको बाँझो जमिन र सयपत्रीको सुनौलो कमाइ


विदेशका दुई दशक, स्वदेशको बाँझो जमिन र सयपत्रीको सुनौलो कमाइ
मेचीकाली , 

साउदी अरब र इजरायलमा २० वर्ष पसिना बगाएका माधव घिमिरेले बनेपाको बासडोलमा फूलखेतीबाट खोजे नयाँ सम्भावना । १३ रोपनी जमिनमा फुलेको सयपत्रीले वार्षिक १४ लाख रुपैयाँसम्मको कारोबार दिन थालेपछि उनी परिवारसहित खेती र बजार व्यवस्थापनमा जुटेका छन् ।


काभ्रे । विदेशमा दुई दशक बिताउँदा माधव घिमिरेले अरूका खेतबारीमा पसिना बगाए । तर, त्यही अनुभवले उनलाई आफ्नै देशमा केही गर्ने बाटो देखायो । साउदी अरब र इजरायलमा २० वर्ष बिताएर फर्किएका उनीसँग कृषि कामको अनुभव त थियो, तर स्वदेशमा फर्किएपछि के गर्ने भन्ने स्पष्ट योजना थिएन ।

नेपाल फर्किएपछि केही समय अन्योलमै बित्यो । त्यसपछि उनले काभ्रेको बनेपा–१२ बासडोलमा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरे । सुरुमा स्क्वास जातको फर्सी लगाए । तर, एउटा बाली भित्र्याएपछि अर्को बाली लगाउने समय आउँदा जमिन खाली हुने अवस्था बन्यो । जमिन बाँझो राखेर भाडा तिर्नुभन्दा केही नयाँ प्रयोग गर्ने सोच पलायो ।

त्यही सोचले उनलाई फूलखेतीसम्म पुर्‍यायो ।

तीन वर्षअघि परीक्षणका रूपमा लगाएको सयपत्रीले राम्रो आम्दानी दिएपछि घिमिरेले तरकारी खेतीसँगै फूलखेतीलाई पनि व्यावसायिक रूपमा अघि बढाए । अहिले बासडोलको त्यही जमिनमा सयपत्रीका पहेँला रङका फूलले आकर्षक दृश्य बनाएको छ । तिहार नजिकिँदै गर्दा उनको खेतमा फूल टिप्ने, तौलिने र बजार पठाउने चटारो छ ।

विदेशमा सिकेको कृषि कर्मलाई आफ्नै माटोमा प्रयोग गर्दा त्यसले आम्दानीको बाटो खोलिदिएको छ ।


१३ रोपनीमा सयपत्रीको संसार

घिमिरेले अहिले करिब १३ रोपनी जमिनमा सयपत्री खेती गरेका छन् । त्यसमध्ये नौ रोपनीमा मात्रै करिब चार हजार बिरुवा छन् । उनले लगाएको ‘कर्मा ट्रिपल फाइभ’ जातको सयपत्री यस वर्ष राम्रोसँग फुलेको छ । गत वर्षभन्दा यसपालि फूलका थुँगा पनि ठूला भएका छन् ।

फूलखेती सुरु गर्दा उनीसँग न पर्याप्त प्राविधिक ज्ञान थियो, न त व्यावसायिक अनुभव । चितवनबाट बेर्ना ल्याएर रोपेका उनले सुरुका दिनमा अन्य पुष्प व्यवसायी र एग्रोभेटसँग सल्लाह लिएर खेती अघि बढाए । पहिलो र दोस्रो वर्ष सिक्दै, बुझ्दै र समस्या झेल्दै बित्यो । दोस्रो वर्षदेखि आफैँ बेर्ना उत्पादन गर्न थाले ।

खेतीसँगै अनुभव पनि बढ्दै गयो ।

‘पहिलो र दोस्रो वर्ष सोध्दै, सिक्दै काम गरियो । तेस्रो वर्षदेखि त आफैँले धेरै कुरा जानियो,’ उनी भन्छन् ।

गत वर्ष उनको बारीबाट करिब ११ हजार किलो सयपत्री फूल उत्पादन भयो । त्यसबाट १२ देखि १४ लाख रुपैयाँसम्मको कारोबार गर्न सफल भए । पहिलो वर्ष पाँचदेखि सात रोपनीमा सीमित फूलखेतीलाई त्यसपछि विस्तार गर्दै लगेका हुन् ।

यस वर्ष पनि गत वर्षकै हाराहारीमा उत्पादन हुने उनको अनुमान छ । तर, उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित हुन्छ भन्ने छैन । यसपालि तिहार ढिलो परेको छ । अर्कोतर्फ, फूलखेती गर्ने किसानको संख्या बढेकाले बजार मूल्य घट्न सक्ने उनको चिन्ता छ । दुई दिन परेको वर्षाले केही बिरुवाका हाँगा भाँचिएकाले उत्पादनमा समेत असर पर्न सक्ने देखिएको छ ।

उनको अनुमानमा यस वर्ष तिहारका लागि मात्रै एउटा बिरुवाबाट औसत आधा किलोसम्म फूल टिप्न सकिन्छ । तिहारपछि एकादशी लगायतका पर्वमा पनि फूलको माग हुने भएकाले बाँकी उत्पादन क्रमशः बिक्री गर्ने योजना छ ।


बारीदेखि बजारसम्म परिवारकै जिम्मेवारी

घिमिरेको फूलखेतीको अर्को विशेषता उत्पादनसँगै बजार व्यवस्थापनमा देखिन्छ । उनी फूल उत्पादन गरेर बिचौलियालाई जिम्मा लगाउँदैनन् । परिवारका सदस्य नै उत्पादनदेखि बिक्री र भुक्तानी संकलनसम्म खटिन्छन् ।

खेतीको सम्पूर्ण जिम्मेवारी घिमिरे आफैँले सम्हाल्छन् । छोरा बजार व्यवस्थापन, बिक्री र भुक्तानी संकलनमा सक्रिय छन् । बुहारीले काठमाडौंको ग्वार्कोस्थित तरकारी मण्डीमा फूल बिक्रीको जिम्मेवारी सम्हाल्छिन् ।

यसरी परिवारकै श्रम र सहभागितामा उनको व्यवसाय चलेको छ ।

‘बजारमा चार–पाँच सय रुपैयाँमा बिक्री भएको वस्तुको किसानले दुई सय रुपैयाँ मात्रै पाउने अवस्था छ । बीचमा बिचौलियाले धेरै हिस्सा लैजान्छन् । हामी आफैँ बजारमा पुर्‍याउँछौँ, आफैँ बिक्री गर्छौं र पैसा उठाउँछौँ,’ उनी भन्छन् ।

उनको उत्पादनको मुख्य बजार काठमाडौं हो । कालिमाटी, धुम्बाराही, जडीबुटी र पशुपति क्षेत्रबाट फूलको माग आउने गरेको छ । केही व्यापारीले विदेश पठाउने प्रयोजनका लागि समेत सम्पर्क गरेका छन् ।

यसपालि माग उल्लेख्य रूपमा बढेको छ । घिमिरेका अनुसार दुईदेखि चार हजार किलो फूलको अर्डर आइसकेको छ । बारीमा देखिएको फूलसमेत अग्रिम बुकिङ भइसकेको छ । माग धान्नुपर्ने भएकाले उनले अहिले नयाँ अर्डर लिन बन्द गरेका छन् ।


सम्भावना छ, चुनौती पनि कम छैन

फूलखेतीमा आम्दानीको सम्भावना देखिए पनि चुनौती उत्तिकै छन् । विशेषगरी वर्षायाममा बिरुवामा लाग्ने डढुवा रोगले किसानलाई समस्यामा पार्ने गरेको छ । सुरुका वर्षमा रोग पहिचान गर्न नसक्दा उनले पनि क्षति व्यहोर्नुपर्‍यो । अहिले भने प्राविधिकको सल्लाहमा विषादी प्रयोग र बिरुवाको स्याहार गर्दै आएका छन् ।

त्यसैगरी बजार मूल्यको अनिश्चितता अर्को चुनौती हो । किसानले उत्पादन गरेको फूलले उचित मूल्य पाउने वातावरण नहुँदा मेहनतअनुसार प्रतिफल नपाउने जोखिम रहन्छ । भारतबाट आयात हुने फूलले नेपाली उत्पादनको बजार प्रभावित पार्न सक्ने उनको बुझाइ छ ।

स्वदेशमै उत्पादन भएको फूललाई प्राथमिकता दिने सरकारी नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनको अपेक्षा छ । नेपाली किसानले उत्पादन गरेको फूलले बजार पाउने सुनिश्चितता भए फूलखेतीमा अझ धेरै किसान आकर्षित हुन सक्ने उनको विश्वास छ ।

माधव घिमिरेको कथा केवल विदेशबाट फर्किएर कृषि कर्ममा लागेको व्यक्तिको कथा होइन । यो बाँझो जमिनलाई उत्पादनसँग जोड्ने, सिकेको सीपलाई आफ्नै माटोमा प्रयोग गर्ने र बिचौलियाको भर नपरी परिवारकै श्रमबाट बजारसम्म पुग्ने एउटा प्रयासको कथा पनि हो ।

कुनै समय अरूको खेतमा काम गरेर जीविका चलाएका घिमिरे अहिले आफ्नै बारीमा फुलेका सयपत्रीबाट आम्दानी गरिरहेका छन् । विदेशमा बिताएका दुई दशकको अनुभवलाई उनले स्वदेशको जमिनमा रोपेका छन् । त्यसको प्रतिफल अहिले बासडोलको बारीमा पहेँलपुर फुलेको छ ।

उनका लागि सयपत्री अब तिहारमा घर सजाउने फूल मात्रै होइन, स्वदेशमै सम्भावना खोज्न सकिन्छ भन्ने विश्वासको प्रतीक बनेको छ।


प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो विपी राजमार्ग