आईजीपी कार्कीमाथि दबाब परेको भन्ने समाचारप्रति प्रहरीको आपत्ति


आईजीपी कार्कीमाथि दबाब परेको भन्ने समाचारप्रति प्रहरीको आपत्ति
मेचीकाली , 

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजनीतिक दबाब परेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ। प्रहरीले अपुष्ट र तथ्यहीन सूचनाले संगठनको प्रतिष्ठा र नागरिकको विश्वासमा असर पर्न सक्ने भन्दै सत्यतथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजनीतिको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणी प्रकाशित र प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मक सन्देश फैलिन सक्ने प्रहरीको भनाइ छ। यसले नागरिकको सुरक्षामा समर्पित संस्थाप्रतिको विश्वास, संगठनात्मक छवि र निष्ठामा समेत असर पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको स्वीकार गर्दै समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न आग्रह गरेको छ।

पत्रकारिताको व्यावसायिक आचारसंहिता तथा राज्यप्रति नागरिकको जिम्मेवारी निर्वाह गर्दै प्रमाणित र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पनि प्रहरीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ।

विज्ञप्तिमा नेपाल प्रहरी सरकारको नीतिनिर्देशनअनुसार नागरिकप्रतिको जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख छ। प्रहरीले कुनै पनि प्रकारको भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने जनाएको छ।

यसैबीच, अर्को विज्ञप्तिमार्फत प्रहरीले विवादास्पद कारोबारी दीपक भट्ट र उनको समूहसँग सम्बन्धित मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटासँग प्रहरी संगठनलाई कमजोर बनाउने वा सुरक्षा निकायलाई विवादमा तान्ने उद्देश्यले गरिएका गतिविधिप्रति सचेत रहेको जनाएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया



थप समाचारहरु