धुलिखेल-बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारको प्रशंसा गर्ने सञ्चारमाध्यम मात्रै सरकारका मित्र नभई सरकारका कमजोरी औँल्याउने, प्रश्न गर्ने र आलोचना गर्ने पत्रकार पनि लोकतन्त्रका महत्वपूर्ण साझेदार भएको बताएका छन्।
प्रेस स्वतन्त्रता र आलोचनात्मक पत्रकारितालाई लोकतन्त्रको अभिन्न आधारका रूपमा व्याख्या गर्दै उनले सरकारलाई जवाफदेही बनाउन सञ्चारमाध्यमले निर्भीक र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
मदानी बिट मिडिया प्रालिद्वारा सञ्चालित मदानी बिट डटकमको चौथो वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले सरकार परिवर्तन हुन सक्ने, नेतृत्व र राजनीतिक परिस्थिति बदलिन सक्ने भए पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन नहुने बताए। ‘सरकारको प्रशंसा गर्ने सञ्चारमाध्यम मात्रै सरकारका मित्र होइनन्। सरकारका कमजोरी औँल्याउने, प्रश्न गर्ने र आलोचना गर्ने पत्रकार पनि लोकतन्त्रका उत्तिकै महत्वपूर्ण साझेदार हुन्,’ उनले भने।
उनले पत्रकारलाई सरकारको प्रशंसा वा विरोधमा सीमित नभई तथ्यमा आधारित भएर प्रश्न गर्न, नागरिकका समस्या उठाउन र सार्वजनिक सरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन आग्रह गरे। सरकारसँग सञ्चारमाध्यमको सम्बन्ध विज्ञापन दिने र समाचार प्रकाशन गर्ने विषयमा मात्रै सीमित नभई लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, पारदर्शिता र सार्वजनिक जवाफदेहितामा आधारित हुनुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री थापा मगरले सरकारी विज्ञापन वितरणमा राजनीतिक निकटता, व्यक्तिगत सम्बन्ध र पहुँचभन्दा सञ्चारमाध्यमको वास्तविक क्षमता, पाठक तथा दर्शकको पहुँच र प्रभावकारितालाई आधार बनाउनुपर्ने बताए। सरकारी विज्ञापन कुनै सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने वा कसैलाई दण्डित गर्ने माध्यम नभई सार्वजनिक सूचना नागरिकसम्म पुर्याउने माध्यम भएको उनले स्पष्ट पारे। ‘विज्ञापन वितरणमा राजनीतिक निकटता, व्यक्तिगत सम्बन्ध वा पहुँच होइन, सञ्चारमाध्यमको प्रकृति, पाठक तथा दर्शकको पहुँच, भौगोलिक क्षेत्र, समाचारको प्रभावकारिता, नियमितता र वास्तविक कार्यक्षमतालाई आधार बनाउनुपर्छ,’ उनले भने।
ठूला सञ्चारमाध्यमले मात्रै सरकारी विज्ञापन प्राप्त गर्ने र साना तथा स्थानीय सञ्चारमाध्यम अवसरबाट वञ्चित हुने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो। प्रदेशभित्र सञ्चालित रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमको न्यायोचित पहुँच सुनिश्चित गर्न विज्ञापन तथा सूचना वितरण प्रणालीलाई पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाइने उनले प्रतिबद्धता व्यक्त गरे। उनले लोकतन्त्र निर्वाचनबाट मात्रै बलियो नहुने उल्लेख गर्दै नागरिकले सरकारका निर्णयबारे सही सूचना पाउनुपर्ने, सरकारी कामको निगरानी गर्न पाउनुपर्ने र सरकारका कामको आलोचना गर्न सक्ने वातावरण आवश्यक रहेको बताए। सञ्चारमाध्यम नागरिकको आवाज सरकारसम्म पुर्याउने र सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो।
पत्रकारमाथि हुने धम्की, दबाब, दुर्व्यवहार र आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताउँदै मुख्यमन्त्री थापा मगरले पत्रकारको सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखे। न्यूनतम पारिश्रमिक, नियमित तलब, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षाको व्यवस्था सञ्चार संस्थाहरूको जिम्मेवारी भएको उनले बताए।
पत्रकारिता सार्वजनिक जिम्मेवारीसँगै व्यावसायिक पेसा पनि भएकाले पत्रकारलाई समाचार उत्पादन गर्ने जनशक्तिका रूपमा मात्रै नभई सार्वजनिक हितका लागि काम गर्ने श्रमजीवी नागरिकका रूपमा हेर्नुपर्ने उनले उल्लेख गरे।
मुख्यमन्त्री थापा मगरले पत्रकारिताले समाजमा निराशा मात्रै फैलाउने नभई सम्भावना र समाधानका उपायसमेत देखाउनुपर्ने बताए। सरकारका कमजोरी उजागर गर्नुका साथै सुधारका उपाय प्रस्तुत गर्नु पनि जिम्मेवार पत्रकारिताको महत्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।
प्रविधिको तीव्र विकासले पत्रकारिता क्षेत्रमा नयाँ अवसरसँगै चुनौती थपेको उल्लेख गर्दै उनले इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) ले सूचना उत्पादन तथा वितरणको स्वरूप परिवर्तन गरिरहेको बताए। गलत सूचना, भ्रामक समाचार, अफवाह तथा कृत्रिम रूपमा तयार पारिएका तस्बिर र भिडियोको जोखिम बढ्दै गएको उनको भनाइ थियो।
‘अब पत्रकारिताको विश्वसनीयता छिटो समाचार दिने क्षमताले मात्रै निर्धारण गर्दैन। तथ्यको पुष्टि, स्रोतको विश्वसनीयता, निष्पक्षता र जिम्मेवार समाचार सम्प्रेषणले निर्धारण गर्छ,’ उनले भने। कृत्रिम बुद्धिमत्ताले पत्रकारितामा नयाँ सम्भावना सिर्जना गरे पनि यसको प्रयोग गर्दा मानवीय विवेक, व्यावसायिक आचारसंहिता र तथ्य परीक्षणलाई बिर्सन नहुने उनले बताए।
बागमती प्रदेश सरकारले पत्रकारहरूको डिजिटल सीप विकास, तथ्य जाँचसम्बन्धी तालिम, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता तथा आधुनिक सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति बनाइरहेको जानकारी दिँदै उनले यस क्षेत्रमा सम्बन्धित संस्था र सरोकारवालासँग सहकार्य गर्ने सोच रहेको बताए। प्रदेशभित्र सञ्चालित रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमको वास्तविक अवस्था पहिचान गर्ने, सरकारी विज्ञापन तथा सूचना वितरणलाई पारदर्शी र समानुपातिक बनाउने, स्थानीय सञ्चारमाध्यमको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि र आर्थिक दिगोपनाका लागि सहकार्यका कार्यक्रम अघि बढाउने विषयमा प्रदेश सरकारले ध्यान दिने उनको प्रतिबद्धता थियो।
कार्यक्रममा मुख्यमन्त्री थापा मगरले सरकार र सञ्चार क्षेत्रबीचको सहकार्य सरकारको पक्षमा बोल्ने विषयमा मात्रै सीमित हुन नहुने स्पष्ट पार्दै सार्वजनिक हितका विषयमा मिलेर काम गर्नु नै सहकार्यको वास्तविक अर्थ भएको बताए।
वार्षिकोत्सवको अवसरमा अनलाइनका सहसम्पादक विकास तिमल्सिना र गोमा थापालाई नगद पाँच हजार पाँच सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ। संस्थाको पत्रकारिता तथा सम्पादकीय यात्रामा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा सम्पादक श्याम सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने प्रधान सम्पादक मोतिराम तिमल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए। चौथो वर्ष प्रवेश गरेको मदानी बिट डटकमले आगामी दिनमा सत्य, तथ्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारितालाई प्राथमिकतामा राख्दै आफ्नो यात्रा निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।