धुलिखेलमा कौडा खेल्ने १६ जना पक्राउ, डेढ लाखभन्दा बढी नगद बरामद


धुलिखेलमा कौडा खेल्ने १६ जना पक्राउ, डेढ लाखभन्दा बढी नगद बरामद
मेचीकाली , 

काभ्रे-काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शंखुपाटीस्थित एक खाली घरमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १ लाख ५१ हजार ५४५ रुपैयाँ नगद, १६ थान कौडा र एक बुक तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मंसिर ८ गते बिहान करिब २ः३० बजे धुलिखेल नगरपालिका–१२ शंखुपाटीस्थित प्रदीप श्रेष्ठको मान्छे नबस्ने खाली घरमा जुवातास खेल भइरहेको गोप्य सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा प्रहरी निरीक्षक श्यामसुन्दर यादवको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका–१२ शंखुपाटीका ४८ वर्षीय बलराम थापा, ४२ वर्षीय श्रीकृष्ण थापा, २२ वर्षीय सुजनकुमार तामाङ, २६ वर्षीय सुमन श्रेष्ठ, ४० वर्षीय दीर्घबहादुर तामाङ, ५२ वर्षीय पूर्णबहादुर तामाङ, ३० वर्षीय रामकृष्ण श्रेष्ठ, ३२ वर्षीय सुमन श्रेष्ठ, ४९ वर्षीय गणेश तामाङ, ३१ वर्षीय साजन श्रेष्ठ, ४६ वर्षीय भीम श्रेष्ठ, ३९ वर्षीय कुमार थापा र ३४ वर्षीय मिनबहादुर भुजेल रहेका छन्।

त्यसैगरी बनेपा नगरपालिका–७ का ५३ वर्षीय कुमार तामाङ र ५१ वर्षीय राजेश लामा तथा नमोबुद्ध नगरपालिका–११ का ४३ वर्षीय धनबहादुर तामाङ पनि पक्राउ परेका छन्।

प्रहरीले जुवाको खालबाट १ लाख ५१ हजार ५४५ रुपैयाँ नगद, १६ थान कौडा र एक बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका सबै १६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।


प्रतिक्रिया



थप समाचारहरु