देउवाको अपिल : कांग्रेसलाई एकताबद्ध बनाउँदै युवा पुस्ताको माग सम्बोधन गरौं


मेचीकाली

काठमाडौं — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो स्वास्थ्य उपचारपछि सार्वजनिक अपिल जारी गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न र युवा पुस्ताको मागलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

पाँच महिनाको लामो स्वास्थ्य उपचारपछि पुनः सार्वजनिक जीवनमा फर्किएको उल्लेख गर्दै देउवाले उपचारका क्रममा आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आफू अब मुलुकलाई सुशासन, सिकाइ र समुन्नत बनाउन योगदान गर्ने यात्रामा समर्पित हुन तयार रहेको बताएका छन्।

देउवाले नेपाली कांग्रेसको लामो लोकतान्त्रिक इतिहासको स्मरण गर्दै पार्टीले मुलुकमा लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायको अधिकारका लागि संघर्ष गरेको उल्लेख गरेका छन्। विगतका राजनीतिक संघर्षमा बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूको योगदानलाई उनले स्मरण गरेका छन्।

उनले २०२० सालदेखि निरन्तर देखेका राजनीतिक दुःख, सुख र संघर्षका दिनहरू अझै पनि मानसपटलमा ताजा रहेको बताएका छन्। लोकतन्त्र र गणतन्त्रका लागि नेपाली कांग्रेसले गरेको संघर्षलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण अनुभवका रूपमा प्रस्तुत गरेका छन्।

देउवाले पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि र परिवर्तनको आकांक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै आफूले सुनेको उल्लेख गर्दै नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने धारणा राखेका छन्।

गत भदौमा भएको ‘जेन्जी’ आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि देउवाले बताएका छन्। उनका अनुसार परिवर्तनको अर्थ विगतका सबै उपलब्धिलाई खराब भन्नु होइन। लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि विगतमा भएका संघर्ष र उपलब्धिलाई पनि सम्मान गर्न आवश्यक छ।

उनले देशमा पद्धति निर्माण गर्दा विगतका ऐतिहासिक उपलब्धिलाई नकारात्मक रूपमा प्रस्तुत गर्नु उपयुक्त नहुने बताएका छन्। देश निर्माणका क्रममा कमजोरी भएका भए त्यसलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ।

देउवाले परिवर्तन सजिलो नहुने भन्दै परिवर्तनको बाटोमा धैर्य, साहस र दृढताको परीक्षा हुने बताएका छन्। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने वर्तमान सरकारको दायित्व भएको उनले उल्लेख गरेका छन्।

साथै, राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने देउवाको धारणा छ। उनले जनताबाट उठेका आवाजलाई बेवास्ता गरेर लोकतन्त्रमा कुनै पनि विषय बदल्न नसकिने बताएका छन्।

कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड

देउवाले नेपाली कांग्रेस एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन्। उनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानको संरक्षण तथा संशोधनसमेत राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले अंकगणितीय रूपमा संसदमा कांग्रेस सानो–ठूलो भए पनि २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनको हरेक उथलपुथलको नेतृत्व कांग्रेसले गर्दै आएको दाबी गरेका छन्।

पार्टीभित्र देखिएको निराशा र असमझदारीले मुलुकको राष्ट्रियता कमजोर हुनसक्ने भन्दै उनले आम कांग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई पार्टीको नीति तथा संघर्षलाई स्वीकार गर्दै अघि बढ्न आग्रह गरेका छन्।

युवा पुस्तालाई अघि बढाउनुपर्ने भए पनि त्यसको अर्थ विगतका अनुभवी पुस्ता सबै खराब छन् भन्ने नभएको देउवाको भनाइ छ। आफ्नो राजनीतिक अनुभव र पार्टीको विगतबाट नयाँ पुस्ताले सिक्न सक्ने उल्लेख गर्दै उनले अनुभव हस्तान्तरण आवश्यक रहेको बताएका छन्।

उनले नेपाली कांग्रेसप्रतिको आफ्नो अटुट विश्वास र माया कहिल्यै कम नहुने बताएका छन्। पार्टीका साथीहरू निराश रहेको अवस्थालाई सम्बोधन गर्दै उनीहरूको मनोबल बढाउने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एकपटक जोड्ने समय आएको पनि देउवाले बताएका छन्।

अन्त्यमा देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। २००३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको बताएको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

उनले विगतका विभाजन र विवादबाट पाठ सिक्दै मेलमिलापको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्। आफ्नो जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गर्दै देउवाले बाँकी जीवन पनि यही मूल्य–मान्यताअनुसार मुलुक र जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया



थप समाचारहरु