काठमाडौं–विवादमा रुमल्लिएको नेपाली कांग्रेस फुटको संघारमा पुगेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको हो ।
पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्दै कार्यालयमार्फत पार्टी गतिविधि अगाडि बढाउने निर्णय लिएको छ । पार्टी एकताको अवस्था, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासहित संस्थापन पक्षका नेताहरूको पछिल्लो धारणा तथा महाधिवेशन तयारीका विषयमा छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गोल्फुटारस्थित आफ्नै निवासमा निकट नेताहरूको बैठक बोलाएका थिए । उक्त बैठकले एकताको पक्षमा सभापतिसहित संस्थापन पक्षका नेताहरू गम्भीर नदेखिएको समीक्षा गर्दै १५औँ महाधिवेशन तयारीसम्बन्धी गतिविधि तीव्र बनाउने निर्णय लिएको हो ।
यसले कांग्रेस विवाद थप जटिल बनाएको छ । १५औँ महाधिवेशन तयारीसम्बन्धी गतिविधिका लागि भन्दै २२ असारमा महाराजगन्ज चुनदेवीमा पार्टीको १५औँ महाधिवेशन तयारी समितिको केन्द्रीय सम्पर्क कार्यालय औपचारिक रूपमा शुभारम्भ गर्ने र लगत्तै राष्ट्रिय भेलाको मिति तोक्ने निष्कर्ष निकालेको नेता एनपी साउदले बताए । देउवा पक्षले सातवटै प्रदेशको अगुवा भेला सम्पन्न गरिसकेको छ । अर्का नेता मीन विश्वकर्माले सम्पर्क कार्यालयबाटै महाधिवेशन तयारीका सम्पूर्ण काम अघि बढाइने बताए । बैठकमा नेता खड्काले संस्थापन पक्षले पार्टी एकताका लागि गम्भीरता नदेखाएकाले अघि बढ्नुको विकल्प नरहेको ब्रिफिङ गरेका थिए । खड्कामार्फत इतर पक्षले यसअघि नै संस्थापन पक्षलाई विभिन्न माग राखेर लिखित प्रस्ताव पठाएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमिति मर्ज गर्ने विषयमा कुरा मिलेको छैन ।
तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेकामध्ये ११४ जना हाल केन्द्रीय कार्यसमितिमा नभएकाले ती सबैको समायोजन हुनुपर्ने खड्कको माग छ । संस्थापन कांग्रेसले विशेष महाधिवेशनअघिका कुनै पनि कमिटी मर्ज नगर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने नेता तथा कार्यकर्तालाई १५औँ महाधिवेशनमा सहभागी नगर्ने बताएको छ । इतर पक्षका नेता तथा कार्यकर्ताले सदस्यता अद्यावधिक नगरेको सन्दर्भमा संस्थापन पक्षले कडा रणनीति लिएको हो ।