मूल्यबृद्धिको बहानामा सुर्यविनायक-धुलिखेल सडकको काम सुस्त


मेचीकाली

काभ्रे–मुल्यवृद्धिको बहाना बनाउँदै निर्माण व्यवसायीले काभ्रेमा विकासे आयोजनाको काममा ढिलाई गर्न थालेका छन् । विशेषगरी अरनिको राजमार्ग अन्र्तगत विस्तार भैरहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाको काममा सुस्तता आएको छ । 

६ लेनमा विस्तार भैरहेको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकमा मध्यपूर्वको द्धन्द्धपछि भएको मूल्यबृद्धिको कारण देखाउँदै निर्माण व्यवसायीले काममा ढिलाई गरेका हुन् । निर्माण व्यवसायीले मध्यपूर्वको द्धन्द्धका कारण बिटुमिन (अलकत्रा) तथा निर्माण सामाग्री, पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि भएको कारण देखाउँदै सडकको काममा ढिलासुस्ती गरेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले विभिन्न बहानामा काममा गति नदिँदा सडक विस्तार भैरहेको क्षेत्रमा वर्षाको समयमा हिलो र घाम लागेको समयमा धुलोको समस्या भोग्न बाध्य भएका छन् । 

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका ईन्जिनियर विष्णुप्रसाद खनालले सडक बिस्तारको जिम्मा पाएका निर्माण व्यवसायीले मध्यपूर्वको द्धन्द्ध र मूल्यबृद्धिको कारण देखाउँदै सडक विस्तारको काममा ढिलाई गरेको बताउनुभयो । “निर्माण व्यवसायी कम्पनीले निर्माण सामाग्रीमा भएको मूल्यबृद्धिको कारण देखाउँदै सडकको काममा ढिलासुस्ती गरिरहेका छन्, अहिले साँगादेखि धुलिखेल सडक खण्ड र सुर्यविनायकदेखि साँगासम्मको खण्डमा कालोपत्रेको काम ठप्प छ” ई. खनालले भन्नुभयो । उहाँले सडक विस्तार अन्र्तगत बनेपाको तीनदोबाटो नजिकै अण्डरपास, मेसिनरी पर्खाल लगाउने बाहेकको काम हुन नसकेको र सूर्यविनायकदेखि साँगासम्मको खण्डमा साँगामा निर्माणाधिन अण्डरपास निर्माण तथा अण्डरपासदेखि भक्तपुरतर्फको एक किलोमिटर सडकमा वर्षामा अण्डरपासबाट यातायात सञ्चालन गराउन काम भैरहेको बताउनुभयो । 

ई. खनालले सडक विस्तार अन्र्तगत हालसम्म काभ्रेपलाञ्चोकतर्फ ७० प्रतिशत र भक्तपुर खण्डमा ५० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकतर्फ बनेपा बुडोल र २८ किलो क्षेत्रमा करिब साढे दुई किलोमिटर सडकमा प्राइम गरेता पनि अलकत्रामा भएको मूल्यबृद्धिका कारण कालोपत्रे गर्ने काम हुन नसकेको बताउनुभयो । यस्तै भक्तपुरतर्फको खण्डमा सूर्यविनायकदेखि जगातीसम्मको डेढ किलोमिटर सडक डिबिएम गरिएको बताउनुभयो । उहाँले मूल्यबृद्धिको कारण देखाउँदै निर्माण व्यवसायी कम्पनीले गरेको ढिलाईका कारण आयोजनाको काममा प्रभावित पारेको बताउँदै यसले गर्दा आयोजनाको काम निर्धारित समयमा नै हुन नसक्ने अवस्था आउने बताउनुभयो । सडक बिस्तारको काममा ढिलाई भएको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले असन्तुष्टि जनाउनु भएको छ । आईतबार मन्त्री बादेले आयोजनाका प्रमुख, निर्माण व्यवसायी र बनेपाका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा आयोजनाका काममा ढिलाई हुँदा बनेपामा दुई जनाले ज्यान गुमाउनु परेको भन्दै असन्तुष्टि जनाउनु भएको हो । उहाँले आयोजनाको काममा ढिलाई हुँदा बनेपाबासीले हिलो र धुलोको सामना गर्न बाध्य भएको बताउनु भएको थियो । मन्त्री बादेले आयोजना अन्र्तगत भक्तपुरतर्फ एउटा र काभ्रेपलाञ्चोकमा पर्ने दुई वटा पुल निर्माणमा भएको ढिलाई भएको भन्दै पुलको काम समयमा नै नहुँदा स्कुले बालबालिका र अन्य नागरिकले समस्या भोग्नुपरेको बताउनुभयो । 

छलफलमा बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सडकहरू बिनाअवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सडक आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । त्यसैगरी बनेपास्थित पुण्यमाता खोला पुल तथा भैँसीपाटी खोला पुल निर्माणका क्रममा अवरुद्ध सर्भिस लेन र सहायक मार्ग पुनः सञ्चालन हुनेगरी आवश्यक निर्माण तत्काल गर्ने निर्णय गरिएको छ । अरनिको राजमार्गको सुर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी साढे तीन वर्षदेखि सडक विस्तारको काम हुँदै आएको छ । सूर्यविनायकदेखि साँगासम्मको ७.३ किलोमिटर सडक सडक निर्माणको लागि आशिष कुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा २०७९ पुस महिनादेखि काम गर्दै आएको छ । 

यस्तै काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक सडक निर्माणको लागि लामा कन्स्ट्रक्शनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि सडक विस्तारको काम गर्दै आएको छ । साँगादेखि धुलिखेलसम्मको जिम्मा पाएको लामा कन्ष्ट्रक्शनको सम्झौता २०८२ मङ्सिरमा सकिएर आगामी मङ्सिरसम्मका लागि र सुर्यविनायकदेखि साँगासम्मको सडकको जिम्मा पाएको आशिष कुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीको सम्झौता २०८२ पुस महिनामा सकिएर आगामी पुस महिनासम्म म्याद थप गरिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु