काभ्रे- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) काभ्रे शाखाले 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३' मा समावेश गरिएको धरौटीसम्बन्धी व्यवस्थाप्रति गम्भीर असहमति जनाउँदै उक्त व्यवस्था पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेको छ।
शाखाका अध्यक्ष भुवन रायमाझीले जारी गरेको विज्ञप्तिमा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्य स्वागतयोग्य भए पनि प्रस्तावित धरौटीसम्बन्धी व्यवस्थाले इमानदार, जिम्मेवार तथा सेवा–मुखी शैक्षिक परामर्श संस्थाहरूमा अनावश्यक आर्थिक भार थप्ने उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार नयाँ तथा साना शैक्षिक परामर्श संस्थाहरूको दिगो सञ्चालनमा चुनौती सिर्जना हुनुका साथै समग्र शैक्षिक परामर्श क्षेत्रको विकासमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। त्यसैले कुनै पनि नीति, नियम वा कानुनी व्यवस्था निर्माण तथा कार्यान्वयन गर्दा सम्बन्धित सरोकारवाला संस्था, विज्ञ तथा व्यवसायीहरूसँग पर्याप्त छलफल, व्यावहारिक अध्ययन तथा आपसी सहमतिका आधारमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ।
ईक्यान काभ्रे शाखाले सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायलाई धरौटीसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरी विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्था तथा सरकार सबै पक्षको हित सुनिश्चित हुने गरी व्यावहारिक, न्यायोचित र सर्वस्वीकार्य समाधान खोज्न आग्रह गरेको छ।
विज्ञप्तिमा विद्यार्थीको हित संरक्षण, गुणस्तरीय सेवा प्रवाह, पारदर्शी शैक्षिक वातावरणको प्रवर्द्धन तथा शैक्षिक परामर्श क्षेत्रको दिगो, मर्यादित र जिम्मेवार विकासप्रति ईक्यान काभ्रे शाखा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकार र सरोकारवाला पक्षसँग संवाद र सहकार्यबाट दीर्घकालीन समाधान खोजिनुपर्ने पनि उल्लेख छ ।