नमोबुद्ध नगरपालिकाको ९१ करोड ३६ लाखको बजेट, कृषि–पर्यटन, विपद् पुनर्निर्माण र पूर्वाधारमा जोड


मेचीकाली

भकुण्डेबेँसी (काभ्रे)- नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको दोस्रो नगरसभाको नवौं अधिवेशन (बजेट अधिवेशन)को पहिलो बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले बजेट प्रस्तुत गरेका हुन्।

नगर प्रमुख कुनसाङ लामाले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा ‘कृषि, पर्यटन र व्यापार : समृद्ध नमोबुद्धको आधार’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै कृषि, पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपद् पुनर्निर्माण, वातावरण संरक्षण, रोजगारी र सुशासनलाई प्राथमिकता दिइएको छ।

प्रस्तुत बजेटमा आन्तरिक आय ९ करोड २४ लाख ५६ हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड, बागमती प्रदेश सरकारको अनुदान र अन्य आयसमेत समेटिएको छ।

नगरपालिकाले चालुतर्फ २० करोड २९ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ भने नगरस्तरीय प्रकोप व्यवस्थापन कोषका लागि २ करोड रुपैयाँ, विभिन्न निकायसँगको लागत साझेदारीका लागि ९ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

बजेटमा कृषि उत्पादन वृद्धि, पशुपालन, कोल्ड स्टोर निर्माण, सिँचाइ विस्तार, उद्यमशीलता प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार, डिजिटल सेवा, फोहोर व्यवस्थापन तथा विपद् व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।

दाहालचौरमा निर्माणाधीन कोल्ड स्टोरलाई बहुवर्षीय योजनाका रूपमा सम्पन्न गर्न ४ करोड रुपैयाँ व्यवस्था गरिएको छ। विस्तारित बजार क्षेत्रमा मानव मलमूत्र व्यवस्थापनका लागि ५० लाख रुपैयाँमा सक्सन मेसिन खरिद गरिने भएको छ।

स्वास्थ्यतर्फ दाप्चा नमोबुद्ध नगर अस्पताल सुदृढीकरण, मानसिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा विस्तार, गर्भवतीका लागि भिडियो एक्स–रे सेवा तथा डिजिटल स्वास्थ्य प्रणाली लागू गर्ने नीति लिइएको छ। महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता निरन्तरता दिइएको छ भने अवकाश हुँदा २० हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ।

शिक्षातर्फ बालमैत्री नगरपालिका घोषणा, विद्यार्थी छात्रवृत्ति, स्थानीय पाठ्यपुस्तक निर्माण, एक विद्यालय–एक नर्स कार्यक्रम, करियर काउन्सिलिङ तथा प्रविधिमैत्री विद्यालय विकासलाई प्राथमिकता दिइएको छ। माध्यमिक र आधारभूत तहका शिक्षकको तलबभत्ताका लागि क्रमशः ४ करोडभन्दा बढी१३ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई घरदैलोमै वितरण गर्ने व्यवस्था निरन्तरता दिने जनाएको छ। बालमैत्री नगर घोषणा, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता, ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण तथा सडक मानवमुक्त नगर अभियान सञ्चालन गरिने नीति पनि लिइएको छ।

पूर्वाधारतर्फ संघ र प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न सडक निर्माणलाई प्राथमिकता दिइएको छ। वडा नं. ७ को नौबिसे–साउनेडाँडा सडकका लागि ३ करोड ५० लाख रुपैयाँ, वडा नं. ३ को दाहालचौर–तिमाल सडक, वडा नं. १० को दलसिङ्गे–दाप्चा सडक तथा वडा नं. १ को हिराको पसल–मथुरापाटी सडकका लागि प्रत्येक २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

विपद् व्यवस्थापनका लागि भू–सूचना प्रणाली, आपतकालीन सञ्चालन केन्द्र, खुला स्थान संरक्षण तथा पुनर्निर्माण कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र स्थापना, स्रोतमै फोहोर वर्गीकरण, डिजिटल प्रशासन, साइबर सुरक्षा, सार्वजनिक सुनुवाइ तथा शून्य बेरुजु नीतिलाई पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

सञ्चार क्षेत्रको प्रवर्द्धनका लागि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई २ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ।

नगर प्रमुख कुनसाङ लामाले प्रस्तुत नीति तथा कार्यक्रमले उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, सामाजिक न्याय, दिगो विकास तथा विपद्पछिको पुनर्निर्माणलाई केन्द्रमा राख्दै नगरको समग्र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया



थप समाचारहरु