केयुबाट एकसाथ १ हजार ५ सय २७ विद्यार्थी दीक्षित


मेचीकाली

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयु)को ३१औं दीक्षान्त समारोह (दोस्रो चरण) असार १९ गते सम्पन्न भएको छ । समारोहमा विभिन्न संकायका १ हजार ५ सय २७ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ । 

दीक्षित हुनेमध्ये २१ जना विद्यावारिधि (PhD/DM/MCh), ९३ जना एमफिल तथा अनुसन्धानमूलक स्नातकोत्तर, २७९ जना स्नातकोत्तर, २ जना पीजीडीई र १ हजार १ सय ३२ जना स्नातक तहका विद्यार्थी रहेका छन् । संकायगत रूपमा स्कुल अफ मेडिकल साइन्सेजबाट सबैभन्दा धेरै ५ सय ४ जना विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै, स्कुल अफ इन्जिनियरिङबाट ३ सय ५५, स्कुल अफ साइन्सबाट २ सय ७, स्कुल अफ आर्ट्सबाट १ सय ६१, स्कुल अफ म्यानेजमेन्टबाट १ सय ४६, स्कुल अफ एजुकेसनबाट १ सय १२ र स्कुल अफ लबाट ४२ जना विद्यार्थीले उपाधि प्राप्त गरेका छन् ।

दीक्षित हुनेमध्ये ८ सय पुरुष र ७ सय २७ महिला रहेका छन् । साथै अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, बेलायत र अमेरिकाका १ सय ७९ जना विदेशी विद्यार्थी पनि दीक्षित भएका छन् । यो संख्या कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो ।

यसपटक विश्वविद्यालयबाट पहिलो पटक Bachelor of Technology in Artificial Intelligence अन्तर्गत २६ जना, Doctor Medicinae in Neonatology अन्तर्गत ३ जना तथा Master of Science in Medical Biochemistry and Molecular Biology अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ । 

यस चरणको दीक्षान्त सम्पन्न भएसँगै काठमाडौं विश्वविद्यालयबाट हालसम्म स्नातक हुने विद्यार्थी संख्या ५१ हजार ५ सय ६७ पुगेको छ । तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन् । 

दीक्षान्त समारोह शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । समारोहमा बोल्दै पोखरेलले दीक्षित विद्यार्थीहरुलाई आफ्नो भविष्यलाई लिएर धेरै चिन्तित नहुन आग्रह गरे । 

"म पनि यही विश्वविद्यालयबाट चार वर्ष अघि मात्र दीक्षित भएको हूँ । मलाई थाहा थिएन आज म यहाँ पुग्छु भनेर । कसैले छिटै सफलता पाउन सक्नुहुन्छ, कसैलाई समय लाग्न सक्छ," पोखरेलले भने ।   विश्वविद्यालयमा सिकेको ज्ञानलाई समाज रुपान्तरणमा प्रयोग गर्न पनि पोखरेलाले दीक्षित विद्यार्थीलाई आग्रह गरे ।

उपकुलपति प्रा. डा. ऋषीकेश वाग्लेले आफ्नै पूर्व विद्यार्थी शिक्षा मन्त्री तथा सहकुलपतिको रूपमा विस्वविद्यलयमा फर्कँदा गर्व लागेको बताए ।  नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउने सवालमा भिसा प्रक्रिया ठुलो चुनौती रहेको औंल्याउँदै सरकारले यथोचित नीतिगत सहयोग गर्नुपर्ने बताए । “अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि हाम्रा भिसा नीतिहरू अझै पनि पर्याप्त सहज र स्वागतयोग्य हुन सकेका छैनन्,” उनले भने ।

समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूषण पटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गरे । प्राध्यापक पटवर्धनले दीक्षित विद्यार्थीहरू नेपालको भविष्यको हिस्सा भएको बाटअए । विद्यार्थीहरूले जुनसुकै क्षेत्रमा प्रवेश गरे पनि नेपालको ज्ञानको सम्पदा र काठमाडौं विश्वविद्यालयको प्रशिक्षणलाई साथमा लैजाने विश्वास व्यक्त गरे ।  


प्रतिक्रिया



थप समाचारहरु