वर्षामा विपी राजमार्गको साविककै स्थानबाट यातायात सञ्चालन गर्ने तयारी


मेचीकाली

काभ्रे— गत २०८१ असोजमा रोसी खोलाको बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गमा यस वर्षको मनसुनमा सवारीसाधनलाई खोलाबाट सञ्चालन गर्नुपर्ने बाध्यता हट्ने भएको छ। पुनर्निर्माणको कामले गति लिएसँगै वर्षायामभर साविककै सडकमार्गबाट यातायात सञ्चालन गर्ने गरी तयारी तीव्र पारिएको हो।

जिल्ला सुरक्षा समिति तथा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले पुनर्निर्माण भइरहेको सडक खण्डको स्थलगत अनुगमन गर्दै वर्षा सुरु हुनुअघि आवश्यक सबै काम सम्पन्न गरी पुरानै मार्गबाट सवारी सञ्चालन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले केही महिनाअघि अनुगमन गर्दा प्रारम्भिक चरणमा रहेको काम अहिले उल्लेखनीय रूपमा अघि बढेको बताउनुभयो। उहाँका अनुसार बाढीले क्षति पुर्‍याएका स्थानमा संरक्षण पर्खाल निर्माण भइसकेकाले वर्षाको समयमा पुरानै मार्गबाट सवारी सञ्चालन गर्ने आधार तयार भएको छ।

"निर्माण व्यवसायीहरूले वर्षायाममा साविककै सडकबाट यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसलाई समयमै पूरा गर्न सडक डिभिजन र निर्माण कम्पनीलाई निर्देशन दिएका छौं," उहाँले भन्नुभयो। अझै केही स्थानमा काम बाँकी रहेकाले मनसुन पूर्ण रूपमा सक्रिय हुनुअघि नै ती संरचना सम्पन्न गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो।

२०८१ असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २९ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता पुनर्निर्माणको काम विभिन्न खण्डमा विभाजन गरेर अघि बढाइएको छ। सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजन इन्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ तीन वटा ठेक्का प्याकेजमार्फत पुनर्निर्माण भइरहेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा बन्ने अर्को खण्डको काम वर्षायामपछि सुरु हुनेछ।

उहाँका अनुसार हाल सञ्चालनमा रहेका तीनवटै खण्डमा करिब ३४ प्रतिशत भौतिक प्रगति भएको छ। राजमार्गलाई भविष्यमा बाढीबाट सुरक्षित बनाउन रोसी खोलाको सतहभन्दा करिब चार मिटर तलसम्म आरसीसी पर्खाल निर्माण गरी बलियो संरचना तयार पारिएको छ। "वर्षाअघि साविकको सडकमार्ग सञ्चालनका लागि आवश्यक पर्ने करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ," इन्जिनियर योगेशले भन्नुभयो। "पहिचान गरिएका १० जोखिमयुक्त स्थानमध्ये सात स्थानमा सवारी सञ्चालन गर्न मिल्ने अवस्था बनिसकेको छ। बाँकी स्थानमा पनि तीव्र गतिमा काम भइरहेको छ।"

उहाँका अनुसार सामान्य वर्षा वा सानो बाढी आए डाइभर्सन प्रयोग गरिनेछ भने ठूलो बाढी आए पनि साविककै सडकमार्गबाट सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। चौकीडाँडा, बोक्सीकुना र पिप्लेलगायतका जोखिमयुक्त क्षेत्रमा समेत आवश्यक संरचना निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो। सडक डिभिजन भक्तपुरका अनुसार पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किलोमिटर सडक पुनर्निर्माणका लागि उमा एन्ड कम्पनी–भण्डारी अमरज्योति जेभीसँग ६८ करोड ८० लाख रुपैयाँमा सम्झौता गरिएको छ। डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किलोमिटर सडक लामा–नव कान्तिपुर जेभीले एक अर्ब ४२ करोड रुपैयाँमा निर्माण गरिरहेको छ भने चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको ११ किलोमिटर सडक खानी–एवान–कमलजीत जेभीले एक अर्ब ३३ करोड रुपैयाँमा पुनर्निर्माण गरिरहेको छ।

यस्तै, बर्खेखोलादेखि पिप्ले (सुख्खापहिरो) सम्मको ३.२ किलोमिटर सडक जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भएको छ। यसका लागि सिमिजु कर्पोरेशनसँग गत वैशाखमा सम्झौता भइसकेको छ। करिब दुई अर्ब ६० करोड रुपैयाँ लागतको यो आयोजना वर्षायामपछि निर्माण चरणमा प्रवेश गर्नेछ।

प्रतिक्रिया



थप समाचारहरु