काभ्रे– आगामी मनसुनको समयमा मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा रहेका करिब पाँच सय बस्ती जोखिममा पर्न सक्ने आङ्कलन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार स्थानीय तहहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार वर्षायाममा बाढीपहिरो, आगलागी, हुरीबतास, चट्याङलगायतका मनसुनजन्य विपद्का कारण जिल्लाको १३ वटा स्थानीय तहका ४७९ बस्ती जोखिममा पर्न सक्ने जनाएको हो ।
काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाँईले मनसुनजन्य विपद्का कारण जिल्लाको धुलिखेल नगरपालिकाका २५ बस्ती, बनेपा नगरपालिकाका ५०, पाँचखाल नगरपालिकाका ८३, पनौती नगरपालिकाका १५, नमोबुद्ध नगरपालिकाका ५० र मण्डनदेउपुर नगरपालिकाका १५ वटा बस्ती जोखिमयुक्त रहेको बताउनुभयो । यसैगरी तेमाल गाउँपालिकाका ३५ बस्ती, बेथानचोक गाउँपालिकाका करिब एक सय, रोसी गाउँपालिकाका १२ वटा बस्ती, भुम्लु गाउँपालिकाका ४० बस्ती, खानीखोला गाउँपालिकाका ३० बस्ती, चौरीदेउरालीका पाँच बस्ती र महाभारत गाउँपालिकाका १९ वटा बस्ती जोखिममा रहेको बताउनुभयो । उहाँले जिल्लाको मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोसी, बेथानचोक, महाभारत, तेमाल, खानीखोला र चौरीदेउराली पहिरोको उच्च जोखिम, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, महाभारत, तेमाल, खानीखोला गाउँपालिका बाढीको उच्च जोखिममा रहेका छन् ।
यस्तै नमोबुद्ध नगरपालिका, खानीखोला गाउँपालिका हुरीबतास र चट्याङ, पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध र पनौती नगरपालिकाका आगलागीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । पाँचखाल, बनेपा, धुलिखेल, पनौती नगरपालिका सवारी दुर्घटनाको उच्च जोखिममा रहेका छन् भने जिल्लाका १३ वटै स्थानीय तह भुकम्पको उच्च जोखिममा रहेका छन् । जिल्लाको १३ वटै स्थानीय तहको समग्र सङ्कटासन्नताको स्तर हेर्दा पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध, पनौती नगरपालिका, महाभारत र खानीखोला गाउँपालिका उच्च जोखिममा रहेका छन् भने मण्डनदेउपुर नगरपालिका, भुम्लु, रोसी, बेथानचोक, तेमाल र चौरीदेउराली गाउँपालिका जोखिममो मध्यमस्तरमा रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गुरागाँईले जिल्लामा मनसुनजन्य विपद् आएको खण्डमा जिल्लाको पनौती नगरपालिका बाहेक अन्य १२ वटा स्थानीय तहमा २०९ वटा खुल्ल क्षेत्र, जिल्लाको १३ वटै पालिकामा गरी १९२ वटा सुरक्षित स्थान रहेका छन् भने १३ वटा पालिकामा गरी ८१ वटा हेलिप्याड रहेका छन् ।
जिल्लामा विपद् भएको खण्डमा उद्धारका लागि खट्नका लागि नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीका ८० जना शसस्त्र प्रहरीका ५८ जना गरी कुल १७९ जना सुरक्षा जनशक्ति रहेका छन् । जिल्लामा ६२ वटा जेसिबी, ३८ वटा एम्बुलेन्स, ३६ स्काभेटर, १३ वटा डोजर, ५ वटा दमकल, चार वटा शव वहान, दुई भ्याकुलोडर र दुई वटा लोडर रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा बाढीपहिरोे, आगलागी, करेन्ट, डुबी, चट्याङलगायतका विपद्बाट आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आवको बैशाख मसान्तसम्म १४७ जनाको मृत्यु १७३ जना घाईते र १४ जना बेपता रहेका छन् ।