काठमाडौं विश्वविद्यालयमा ‘पर्यावरणीय कृषि तथा खाद्य प्रणाली’ विषयको अध्यापन


मेचीकाली

धुलिखेल- काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्स अन्तर्गतको कृषि विभागले ‘पर्यावरणीय कृषि तथा खाद्य प्रणाली’ विषयको आज एक समारोहबीच उद्घाटन सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि स्कुल अफ साइन्सका डीन प्रा. डा. बेदमणी दाहाल , विशिष्ट अतिथि LIBIRD का कार्यकारी निर्देशक भरत भण्डारी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता विभागिय प्रमुख डा. कुमार लामाले गर्नुभएको थियो ।  साथै कार्यक्रममा WHH नेपालकी प्रतिनिधि श्री शर्मिला पुन, ANSAB का प्रतिनिधि श्री विनोद कुमार बराइ  र LIBIRD बाट श्री रिता गुरूङ्गले कार्यक्रममा उपस्थित जनाउनुभएको थियो । 

काठमाडौं विश्वविद्यालय, कृषि विभागले प्रकाशित गरेको पाठ्यक्रम अनुसार यस ‘पर्यावरणीय कृषि तथा खाद्य प्रणाली’ विषयको मुख्य उद्देश्य विद्यार्थीहरूलाई पर्यावरणीय कृषिको आधारभुत अवधारणा र सिद्धान्तहरू बुझ्न सक्षम बनाउनु रहेको छ । दुई साता सम्म सञ्चालन हुने यस विषयमा ३२ घण्टा सैद्धान्तिक र १६ घण्टा व्यावहारिक कक्षा रहेका छन् । विभागका प्रमुख डा. कुमार लामाका अनुसार यो कृषि विभागको पहिलो प्रयास हो, जसमा कुल ८ चरण सञ्चालन गरिनेछ र प्रत्येक चरणमा २५ जना विद्यार्थीहरू सहभागी हुनेछन् । यस कार्यक्रममा सन् २०२७ डिसेम्बरसम्ममा कुल २०० विद्यार्थीलाई प्रशिक्षण प्रदान गर्ने लक्ष्य रहेको छ । प्रशिक्षणका क्रममा रोग-किराको पारिस्थितिक व्यवस्थापन, दिगो माटो तथा जल व्यवस्थापन, बहुबाली प्रणाली, स्थानीय जैविक कीटनाशक तथा मलको तयारी, समुदायसँगको अन्तरक्रियासहितको फिल्ड भ्रमण जस्ता गतिविधिहरू समावेश छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बेदमणि दाहालले ‘पर्यावरणीय कृषि तथा खाद्य प्रणाली’ विषय सुरु गर्न पाउँदा आफु अत्यन्त खुसी रहेको बताउँदै विद्यार्थीहरूलाई यसले दिगो कृषि र खाद्य प्रणालीमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई पर्यावरणीय कृषि सिद्धान्तहरूलाई व्यावहारिक रूपमा लागु गर्न प्रेरित गर्नुभयो । विशिष्ट अतिथि श्री भरत भण्डारीले वर्तमान वैश्विक तथा राष्ट्रिय परिप्रेक्ष्यमा पर्यावरणीय कृषि तथा खाद्य प्रणाली विषयको सान्दर्भिकताबारे प्रकाश पार्दै यसले कृषिमा आइरहेका जलवायुजन्य चुनौती, जैविक विविधताको ह्रास, र असुरक्षित खाद्य प्रणालीको समाधानमा कोशेढुङ्गा साबित हुने बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु