काभ्रे– काभ्रेपलाञ्चोकमा पछिल्ला दुई सातायता ‘बर्ड फ्लु’ (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि पशु स्वास्थ्य निकाय र स्थानीय प्रशासन सतर्क बनेका छन्। सङ्क्रमण नियन्त्रणका लागि सरोकारवालासँग छलफल गरी जैविक सुरक्षा, पशुपन्छीको ओसारपसार नियन्त्रण र परीक्षण प्रक्रियालाई प्रभावकारी बनाउने तयारी गरिएको छ।
पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जेठ १२ गतेदेखि जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि हुन थालेको हो। मङ्गलबारसम्म बनेपा र पनौती नगरपालिकाका गरी नौ वटा कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भइसकेको छ।
बरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार पनौती नगरपालिका–९ का रबिन विक, भाष्कर केसी र खड्का फार्म, पनौती–८ को साहारा कृषि फार्म, पनौती–७ को मानेश्वरी एग्रो फार्म, पनौती–५ का विजय थापा, माधव तिवारी र रिता खड्काको फार्म तथा बनेपा नगरपालिका–१३ स्थित इटचा एग्रोटेक प्रालि र बनेपा–६ का नारायण दाहालको कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि भएको छ। ती फार्ममा पालिएका कुखुरा तथा केही स्थानमा हाँससमेत सङ्क्रमित भेटिएका हुन्।
सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म २७ हजार ५२७ वटा कुखुरा, ११२ वटा हाँस, तीन हजार आठ सय चल्ला, तीन हजार ५५० किलोग्राम दाना र १२ हजार ५७१ वटा अण्डा नष्ट गरिएको पशु सेवा कार्यालयले जनाएको छ।
बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सङ्क्रमित क्षेत्र वरपरबाट पशुपन्छीको ओसारपसारमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले परीक्षणका लागि पठाइएका नमुनाको रिपोर्ट ढिलो आउँदा किसानले थप आर्थिक क्षति बेहोर्नुपरेको भन्दै परीक्षण प्रक्रिया छिटो बनाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
पशु सेवा विभागका उपनिर्देशक डा. विकास श्रेष्ठले नेपालमा पछिल्लो पटक चैत महिनामा झापा जिल्लामा बर्ड फ्लु देखिएको स्मरण गराउँदै हाल काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकलाई बर्ड फ्लुको ‘हट स्पट’ का रूपमा हेरिएको बताउनुभयो। उहाँका अनुसार काभ्रेमा हालसम्म नौ वटा फार्ममा सङ्क्रमण पुष्टि भएको छ।
डा. श्रेष्ठले बर्ड फ्लुको फैलावट रोक्न फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार देशभर मङ्गलबारसम्म करिब छ लाख २० हजार पशुपन्छी, ११ लाखभन्दा बढी अण्डा र ठूलो परिमाणमा दाना नष्ट गरिएको छ। परीक्षणका लागि पठाइएका नमुनाको नतिजा सामान्यतया २४ देखि ३६ घण्टाभित्र आउने उहाँको भनाइ छ।