काभ्रे–जापानले जिम्मा लिएको बिपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खेखोला खण्डको पुनर्निर्माण आजबाट सुरु हुने भएको छ ।
१२ असोज २०८१ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रे र सिन्धुलीमा पर्ने ३० दशमलव ५ किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्नेछ । त्यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा पिप्लेदेखि बर्खेखोलासम्मको ३ दशमलव २ किमि सडकखण्डको पुनर्निर्माण कार्य सुरु हुन लागेको सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।
आज जापानका लागि नेपाली राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्ने तयारी छ । जापानको सिमिजु कर्पाेरेसनले उक्त खण्डको निर्माण ठेक्का पाएको छ । जापानले दुई अर्ब ८० करोड येन अनुदान दिने गरी १३ कात्तिकमा द्विपक्षीय सम्झौता भएको थियो । त्यसपछि बाँकी प्रक्रिया पूरा गरेर निर्माण सुरु गर्न लागिएको हो । उक्त खण्डमा जापानले यसअघिदेखि नै पूर्वतयारीको काम गरिरहेको छ । क्याम्प बनाउने, अस्थायी बाटो बनाउनेलगायतका काम भइसकेका छन् । यसबाहेक बाँकी खण्डलाई भने चार प्याकेजमा विभाजन गरेर सडक विभागले पुनर्निर्माण गरिरहेको छ ।
एक सय ५९ किलोमिटर बिपी राजमार्ग जापानकै २६ अर्ब यान आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो । आर्थिक वर्ष २०५३÷५४ देखि सुरु भएको निर्माणकार्य २०७२ सालमा सम्पन्न भएको थियो । सडक विभागले चार प्याकेजमा विभाजन गरेर क्षतिग्रस्त सडकको पुनर्निर्माण गरिरहेको छ । भकुन्डेबेँसीदेखि चारसयबेँसीसम्म ११ किमि सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम अघि बढेको छ । चारसयबेँसीदेखि डालाबेँसीसम्मको नौ किमि सडक बनाउन खानी–कमलजित–एवान जेभीसँग एक अर्ब २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । काभ्रे जिल्लामा पर्ने यो खण्डमा पुनर्निर्माणको काम भइरहेको छ ।
सिन्धुली जिल्लामा पर्ने बर्खेखोलादेखि नेपालथोकसम्मको पाँच किमि सडक पुनर्निर्माण गर्न भने खरीढुंगा–घिसिङ–क्षितिज जेभीसँग ५५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किमि सडकको पुनर्निर्माणका लागि उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग ६८ करोड ८० लाख ६८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । हाल यी खण्डमा पनि पुनर्निर्माणको काम भइरहेको छ ।