dashain
Tuesday, 16 October 2018 10:34 pm, Nepal

ओखलढुंगामा भोकमरीको संकेत

मेचीकाली : 2011-03-07 13:03:52


ओखलढुंगा,  २३ फागुन : उत्पादन घटेपछि ओखलढुङ्गा जिल्लाका हिमाली र सिँचाइ नपुगेका सुख्खा क्षेत्रमा खाद्यसङ्कट हुने भएको छ । जिल्लाको कुल गार्हस्थ्य उत्पादन घटेर गत वर्षको तुलनामा यस वर्ष खाद्यान्न उत्पादनमा निकै कमी आएपछि खाद्यसङ्कट हुने जिल्ला कृषि विकास कार्यालय, ओखलढुङ्गाले जनाएको छ । ओखलढुङ्गाको एक लाख पाँच हजार ८६४ हेक्टर क्षेत्रफलमध्ये खेतीयोग्य २३ हजार ८७० हेक्टर जमिनमा गरिएको खेतीबाट यो वर्ष धान, मकै, कोदो र फापर गरी ५१ हजार ९२२ मेट्रिकटन उत्पादन भएको छ ।

    यो उत्पादनले जिल्लाको दुई लाख जनसङ्ख्यालाई ५ देखि ६ महिना मात्र धान्न सक्ने कृषि प्राविधिकहरू बताउँछन् ।

    ओखलढुङ्गाका लागि थप पाँच हजार ५०० मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने उनीहरूको भनाइ छ । प्रशस्त खाद्यान्न नहुँदा स्वस्थ र गुणस्तरीय पारिवारिक जीवनमा समेत समस्या देखिन थालेको र विगतका तुलनामा कुपोषणका बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । जलवायु परिवर्तन, खडेरी, सिँचाइ अभावका कारण खाद्यान्न उत्पादनमा ह्रास आएको कृषि विकास कार्यालय ओखलढुङ्गाका प्रमुख सुखदेव मैनालीले बताउनुभयो ।

    जिल्लाको कुल जनसङ्ख्याको ९४ प्रतिशत कृषि पेसामा आवद्ध भए पनि स्थानीय उत्पादनले आवश्यकता पूर्ति गर्न सकेको छैन ।

    लामो समयदेखि जिल्लाले खाद्य सङ्कट झेल्दै आएको छ भने यस वर्ष यो समस्याले झन् विकराल रुप लिनसक्ने मैनालीले बताए ।

    ओखलढुङ्गाका हिमाली गाविसहरू जन्तरखानी, पात्ले, रावदोलु र भुसिंगालाई विश्व खाद्य कार्यक्रमले सन् २०१० देखि खाद्य सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ भने सिँचाइ नभएका सिस्नेरी, बलखु, पलापु, भदौरे, दियाले र पोखरे गाविसहरू सुख्खा क्षेत्रका रुपमा रहेका छन् ।

    समयमा पानी नपर्दा यसवर्ष जिल्लाको १९८ हेक्टर खेत बाँझै रहेकाले १ दशमलव ०५ प्रतिशत धान उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

    त्यस्तै १२ हजार ९७ हेक्टरमा मकै खेती गरिए पनि गत वर्षको तुलनामा यस वर्ष १७ प्रतिशतले उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले बताए ।

    खडेरीका कारण यस वर्ष धान र मकै उत्पादनमा समेत ह्रास आएको छ भने खानेपानीका मुहानसमेत सुकेका छन् ।

    सुख्खाग्रस्त एक दर्जन गाविसमध्ये पलापु, सिस्नेरी, दियाले र भदौरेमा माघ महिनादेखिनै खानेपानी अभाव देखिएको छ । ती गाविसमा यस वर्ष खाद्यसङ्कट हुन सक्ने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु