dashain
Monday, 15 October 2018 04:48 pm, Nepal

नाग्म–गमगढी सडक निर्माण कार्य भटाभट

मेचीकाली : 2010-12-22 14:06:29


जुम्ला, ७ पुस : मानव विकास सूचाङ्कको अन्त्यमा रहे पनि प्राकृतिक मनोरमस्थलका दृष्टिले उत्कृष्टस्थल मानिएको मुगुलाई सडक यातायातको राष्ट्रिय सञ्जालमा छिटोभन्दा छिटो जोड्ने प्रयास जोडतोडका साथ भइरहेको छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्मगाडबाट सुरु भई ११ हजार फिटको उचाइ पार गरेर मुगुको सदरमुकाम गमगडी जोड्ने लक्ष्यका साथ सो राजमार्गको काम तीव्र गतिले भइरहेको छ ।  नाग्म–गमगढी नाम दिइएको सो सडकको लम्बाइ ९१ किमी हुने अनुमान गरिएको छ ।

 नाग्मगाडदेखि नेपाली (खस) भाषा र सभ्यताको उद्गमस्थल  मानिएको जुम्लाको सिंजा उपत्यका हुँदै लाहासम्मको ४४ किलोमिटर सडकको प्रारम्भिक निर्माण  कार्य (ट्र्याक) पूरा भएको छ ।नाग्मगाडदेखि सिंजा उपत्यका हुँदै बोतामालिकासम्मको भू–बनोट सडक निर्माणका लागि केही सजिलो भए पनि त्यसपछिका जियागाउँ, भुलभुले हुँदै पिनासम्मको क्षेत्र पहरा, ठाडो भिर र वर्षमा दुई–तीत महिना हिउँले ढाकिने हुनाले काम गर्न अत्यन्त अप्ठ्यारो छ ।

    सो सडकअन्तर्गत लाहादेखि जिया गाउँसम्मको १३ किलो मिटर क्षेत्रमा सडक निर्माणको काम धमाधम भइरहेको सडक निर्माणमा खटिएका नेपाली सेनाका सेनानी सञ्जय केसीले जानकारी दिए ।

    राजमार्गको निर्माणले नेपाली भाषाको उद्गमस्थल सिंजा उपत्यका अति मनोरम र सुन्दर पर्यटकीय महत्व बोकेको रारा क्षेत्र हुँदै मुगुको सदरमुकाम गमगढीलाई सडकको राष्ट्रिय सञ्जालमा समेट्ने छ ।

    उक्त राजमार्गका लागि आव ०६४ देखि २०६७÷०६८ सम्ममा राज्यले रु ३९ करोड ९१ लाख बजेट विनियोजन गरिसकेको छ । 

    विसं २०६४ चैतबाट निर्माण सुरु गरिएको सो राजमार्ग आगामी तीन वर्षभित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ । सेनाले यो वर्ष विनियोजन भएको रु आठ करोड बजेट अपुग हुने जनाउँदै सरकारसँग थप रु १६ करोड बजेटको अपेक्षा गरेको छ ।

    राजमार्ग निर्माणका लागि नेपाली सेनाले जुम्लाको गोरुचौर, जियागाउँमा शिविर खडा गरेको छ भने छिट्टै मुगुको ताल्चा विमानस्थलमा पोष्ट खडा गर्ने जनाएको छ ।

    राजमार्गमा परेको जग्गाको मुआब्जावापत हालसम्म रु एक करोड ११ लाख बराबरको मुआब्जावापतको रकम वितरण गरिसकेको नेपाली सेनाले जनाएको छ ।

    नेपाली सेनाले सडक निर्माणका साथसाथै स्थानीय जनताको मागलाई  उच्च महत्व दिएर सिँचाइका लागि कुलो, विद्यालयको पर्खाल निर्माण, खानेपानीका लागि पाइपको व्यवस्था र ग्रामीण सडक निर्माण गरेर सहयोग पु¥याएको छ ।

    समग्र कर्णाली क्षेत्रका बासिन्दाका साथै खासगरी जुम्ला र मुगुवासीले सो राजमार्गको निर्माण कार्य छिटो पूरा गरी मोटर गुडेको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् ।

        केही दिनअघि खस समुदायको उद्गमस्थल मानिएको सिंजा उपत्यकामा एउटा बस पुगेपछि स्थानीय सर्वसाधारण अत्यन्त खुसी र उत्साही भए ।

    सो बसका चालक चन्द्रबहादुर कठायत भन्छन्–बाटोले गाउँमा रोजगारी दिएको छ, अहिले १६ वटा बस कर्णालीको जुम्ला बसपार्कबाट विभिन्न ठाउँमा लागि छुट्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु