dashain
Wednesday, 17 October 2018 04:03 pm, Nepal

भटाभट गायव हुँदैछन् सीमा स्तम्भ

रासस : 2010-10-21 15:01:37


सयभन्दा बढी सीमास्तम्भ गायव

राजविराज, ४ कात्तिक : नेपाल–भारत सीमा छुट्याउने सप्तरीस्थित विभिन्न सीमावर्तीय गाउँहरुमा गाडिएको सीमा स्तम्भ हराउनेक्रम बढ्दै गएको छ । पछिल्लोपटक भारत–नेपालको सीमा छुट्याउन सप्तरीको तिलाठी गाविसमा गाडिएको २२७ नं को जङ्गे पिलर बाढीमा भासिएको छ । दुई देशको सीमा छुट्याउन गाडिएको सीमा स्तम्भहरुको आवश्यक निरीक्षण र मर्मत सम्भारको अभावमा कतिपय स्तम्भहरु जीर्ण भएर हराउने गरेको छ ।

यसअघि सप्तरीको लालापट्टी गाविसस्थित गाडिएका सीमा स्तम्भहरुमध्ये १९ वटा साना स्तम्भहरु (बेसाबुत) हराएका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी रामविलास राय यादवको नेतृत्वमा डेढ वर्षअघि गरिएको निरीक्षणको क्रममा त्यहाँका दुईवटा सीमा स्तम्भहरु बाढीमा समेत बगेको पाइएको थियो ।

लालापट्टी गाविसमा मात्र गाडिएको ४७ वटा साना ठूला सीमा स्तम्भहरुमध्ये अहिले २८ वटामात्र भेटिन्छ ।  पछिल्लोपटक सप्तरीको तिलाठीमा गाडिएको सीमा स्तम्भ दुई महिनाअघि स्थानीय जीता नदीमा आएको बाढीमा बगेको स्थानीय जितेन्द्र झाले जानकारी दिए । अहिले उक्त ठाउँमा सशस्त्र सीमा सुरक्षा बेल्हीले चिनो स्वरुप बाँस गाडेको छ ।

सप्तरीमा गाडिएका सीमा स्तम्भहरुमध्ये सबभन्दा बढी गोबरगाढा गाविसमा हराएका छन् । कोसी नदीको बीच टापूमा रहेको गोबरगाढा गाविसमा बर्सेनि बाढीका कारण सीमा स्तम्भहरु भासिने गरेको छ ।

गतवर्षकै तथ्याङ्कअनुसार त्यहाँ तीनवटा जङ्गे पिलर र ३० वटा साना सीमा स्तम्भहरु हराएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । पूर्वमा रहेको कोशी नदीदेखि पश्चिम बलान नदीसम्मको कुल ७८ किलोमिटर भएको सप्तरी जिल्लामा नेपाल–भारतको सीमा छुट्याउन ३८३ वटा सीमा स्तम्भहरु गाडिएका थिए ।

जिल्लाको १६ वटा गाविसमा २८ वटा जङ्गे पिलर (ठूलो स्तम्भ) र ३५५ वटा सानो पिलर गरी कुल ३८३ वटा सीमा स्तम्भ रहेको मध्ये हाल १५७ वटा हराइसकेका छन् । यीमध्ये १० वटा जङ्गे पिलर र  बाँकी सानो पिलर हराएको हो ।

सीमा स्तम्भहरुको सुरक्षा गर्नु दुवै देशको दायित्व भए पनि नेपाल सरकारका प्रतिनिधिहरु कहिलेकाहीँ आए पनि भारत सरकारतर्फबाट कुनै प्रतिनिधि नआउने गरेको लालापट्टीस्थित दसगजा क्षेत्र मिचेर बसोबास गर्दै आएका भारतीय नागरिकको भनाइ छ । ‘धैरेजसो सीमा स्तम्भहरु भत्केर पनि माटोमा पुरिने गरेका छन्’, दसगजा क्षेत्र मिचेर बसोबास गर्दै आएका मध्ये विहार राजपुरका रङ्गु यादवले भने– ‘केही स्तम्भहरु कोसीको बाढीमा पनि बग्ने गरेका छन् ।’

अधिकांश सीमा स्तम्भहरु भत्किएर हराउने गरेको हुँदा प्रत्येक पाँच वर्षमा हरेक स्तम्भको मर्मत सम्भारसँगै रङ्गरोगन गर्नु आवश्यक भएको सीमा विद्हरुको भनाइ छ । तर, सानोसँगै ठूला स्तम्भहरु (जङ्गे पिलर) समेत हराउँदै गएको अवस्थामा पनि यसको मर्मत सम्भार र आवश्यक रङ्गरोगन नगरिएकाले सीमा स्तम्भहरु हराउने कार्य बढ्दै गएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु