dashain
Wednesday, 17 October 2018 12:43 am, Nepal

११ गाविसमा खाद्यान्न सङ्कट

मेचीकाली : 2010-08-18 12:08:46


बाजुरा, २ भदौ

बाजुराको पूर्वोत्तर क्षेत्रका ११ गाविसका बासिन्दा यतिबेला खाद्यान्न सङ्कटको चपेटामा परेका छन् । खाद्य संस्थानको कोल्टी डिपोमा चामल रित्तिएकाले यस क्षेत्रका पाण्डुसेन, कोल्टी, कोटिला, जगन्नाथ, वाई, बाँधु, साप्पाटा, जुकोट, रुगिन, गोत्री र बिच्छ्याँ गाविसका बासिन्दालाई खाद्यान्न सङ्कट भएको हो ।

    खाद्य संस्थानको चामलकै भर पर्ने यो क्षेत्रका बासिन्दा संस्थानको कोल्टीस्थित डिपोमा चामल सकिएपछि समस्यामा परेका हुन् । डिपोमा ४२ क्विन्टल चामलमात्र मौज्दात रहेकाले वितरण गर्न नसकिएको डिपोका प्रमुख जगतबहादुर कुँवरले बताए । गोदाममा एक हजार क्विन्टल चामल मौज्दात पनि नभए चामल लिन आउनेको भीडलाई नियन्त्रण गर्न नसकिने उनले बताए । े । मागअनुसार कहिल्यै चामल मौज्दात हुन नसक्ने यस डिपोले महिनौँको आयातपछि एक हजार क्विन्टल जम्मा गरेर वितरण गर्ने गरेको उनको भनाई छ ।

यी गाविसमा वर्षको १० महिना खाद्यान्नको चर्को सङ्कट हुने गर्दछ । हाल डिपोमा समेत चामल नपाइएकाले छाक टार्न मुस्किल भइरहेको यो क्षेत्रका स्थानीय बासिन्दाले बताएका छन् ।  चामलकै लागि तीनदिनको पैदल हिँडेर सदरमुकाम मार्तडी पुगेका गोत्री–९ मनिडाँडाका लालबहादुर खत्रीले भने– ‘दस किलो चामलका लागि छ दिन हिँड्नु पर्छ, त्यो पनि पाउने निश्चित हुँदैन ।’

    चालु आर्थिक वर्षको एक महिना बित्दासमेत संस्थानले चामलको कोटा निर्धारण नगरेपछि आवश्यकता अनुसार चामल आउन नसकेको बताइएको छ । जिल्ला खाद्य व्यवस्था समितिले कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको उल्लेख गर्दै चामल ढुवानीका लागि पटकपटक संस्थानको केन्द्रीय कार्यालयमा पत्राचार गरिएको संस्थानको बाजुरा शाखाका प्रमुख अमरबहादुर चन्दले बताए ।

    दुई महिनाअघि जिल्ला खाद्य सुरक्षा सञ्जालले जिल्लाका अधिकांश गाविसका बासिन्दालाई खाद्य सङ्कट भएको जनाउँदै उनीहरूलाई तत्काल खाद्य प्रबन्ध गर्न विश्व खाद्य सङ्गठनलगायत सरकारी निकायलाई आग्रह गरेको थियो ।

    गत आर्थिक वर्षमा कोल्टी डिपोका लागि नौँ हजार क्विन्टल चामल आएको थियो । उक्त चामलको परिमाण निकै कम भई यो आर्थिक वर्षका लागि १५ हजार क्विन्टल चामल माग गरिएको खाद्य व्यवस्था समितिका संयोजक प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु