Sunday, 18 November 2018 06:20 pm, Nepal

आज बडा दशैंको मुख्य दिन, टिका र जमरासहित आशिर्वाद ग्रहण गरिँदै

मेचीकाली : 2018-10-19 07:22:10


-टिकाको साइत बिहान ९:५१ बजे
काठमाडौं, २ कात्तिक :

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज टिका तथा जमरा ग्रहण गरिँदैछ । दशैंको टिकाका लागि बिहान ९ बजेर ५१ मिनेटको शुभ साइत रहेको छ । त्यसअघि ९ बजेर ३९ मिनेटमा देवी बिजर्सनको साइत रहेको छ । तर, विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग ब्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिनसमेत हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वाससमेत रहिआएको छ । दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बुबा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु