Sunday, 18 November 2018 06:13 pm, Nepal

सुरु भयो बडा दशैं

मेचीकाली : 2018-10-10 02:07:09


घरघरमा घटस्थापना गरिँदै
काठमाडौं, २४ असोज :

हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँएको छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतका अनाज छर्ने गरिन्छ । माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो । यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ ।

यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । आज काठमाडौं उपत्यका लगायत देशैभरका देवी मन्दिरहरुमा विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु