Wednesday, 26 September 2018 03:10 am, Nepal

शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन

मेचीकाली : 2018-02-20 13:37:50


– कविता उपाध्याय

लिबाङ, रोल्पा, ८ फागुन :

“प्रजातन्त्रको अनुभूति गर्न पाउनु त टाढाको कुरा हामीले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ भन्नेसमेत थाहा पाएका छैनौँ”, रोल्पा नगरपालिका स्थायी घर बताउने सुकमाली डाँगीले भन्नुभयो । ५० वर्षीया डाँगी शहीदपत्नी हुनुहुन्छ । सशस्त्र युद्धका समयमा श्रीमान्को हत्या भएपछि डाँगी तीन छोरा र एक छोरीसहित जिल्ला सदरमुकाममा मजदूरी गर्दै आउनु भएको छ । संघीयताको त कुरै छाडाँै नयाँ संरचनापछि उहाँलाई आफ्नो वडा कति नम्बरमा पर्छ भन्ने कुरासमेत थाहा छैन ।

“श्रीमान् शिक्षक हुनुहुन्थ्यो । २० वर्ष पहिले स्कूल गएका श्रीमान्लाई पुलिसले मारे भन्ने खबर आयो । उहाँको मृत्युपछि सरकारले दिएको राहतले छोराछोरी पढाउँदै आएकी छु ।”

“आफूले ढुंगामाटोको काम गरेर कमाएको ज्यालाबाट साँझ बिहानको गुजारा चल्छ”, उहाँले लामो श्वास लिँदै भन्नुभयो । डाँगीलाई आजसम्म पनि प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रका बारेमा केही थाहा छैन ।

“सुन्न त सुनेकी छु, सुनेपनि के काम, मजदूरका दिन कहिले फेरिएलान् ?” उहाँको राज्यसँग प्रश्न छ । प्रेम विवाह गरेकी डाँगी बिहेपछि श्रीमान्सँग करिब १२ वर्षमात्र सँगै बस्नुभएको हो । युद्धका नाममा श्रीमान्को हत्या नभएको भए आज डाँगीलाई ढुंगामाटोमा दिनरात बिताउनु पर्ने थिएन कि जस्तो लाग्छ ।

आम शिक्षकका परिवार जस्तै उहाँको परिवारमा पनि श्रीमान्को तलबबाट जीविका चल्ने थियो भन्ने उहाँलाई लाग्छ । पटकपटक चुनावमा प्रचार गर्न जानेले शहीद परिवारलाई गाडी भाडा बिना नै यात्रा गराउने आश्वासन बाँडेको भएपनि त्यो पूरा हुन नसकेपछि उहाँमा गुनासो रहिरहेको छ ।

“जे दिवस आए पनि हामीलाई केही फरक पर्दैन, हाम्रा दिन फेरिएनन् । अब त फेरिएलान् जस्तो पनि लाग्दैन ।” उहाँले भन्नुभयो ।

डाँगीलाई आफ्नोभन्दा अझ बढी छोराछोरीको भविष्यको चिन्ता छ । उहाँका अनुसार राहतबाट आएको रकमले छोरा काठमाडौँमा पढ्दैछ । “जेठी र कान्छी छोरी सानै उमेरमा आफैँ विवाह गरेर गइसके । माइली छोरी मसँगै छे । दुःखसुख गरेर लिबाङको एक विद्यालयमा पढाइरहेकी छु,” उहाँले सुनाउनुभयो ।

सन्तानले धेरै पढ्नसके केही गर्लान् कि भन्ने आशा भए पनि छोरीहरु बालविवाह गर्दै जानाले उहाँलाई बेलाबेला थप निराश बनाउने गरेको छ ।

डाँगीजस्तै परिवर्तन गाउँपालिका– ५, रोल्पाका अनिलकुमार घर्तीले पनि जिल्ला सदरमुकाममा करिब १२ वर्षदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आउनुभएको छ । ३९ वर्षीय घर्तीका अनुसार दिनभरि ढुंगामाटोमा पसिना चुहाएमात्र उहाँको परिवारले साँझ बिहान पेटभरि खान पुग्छ ।

एक दिन बिरामी भए वा काममा अल्छी गरे भोकै बस्नुपर्ने बाध्यता रहेको पनि उहाँले सुनाउनु भयो । यसअघि मजदूरीका लागि भारतका विभिन्न स्थानमा लामो समय खर्चिएका घर्तीले २०६२÷०६३ को आन्दोलनपछि नेपालमै मजदूरका दिन फेरिन्छन् भन्ने सुनेर स्वदेश फर्कनुभएको थियो ।

यसरी स्वदेश फर्किएका घर्तीले कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्रको चर्चा चलेको सुन्दै आउनुभएको छ । तर पनि मजदूरका जीवनमा कुनै तन्त्रले पनि सकारात्मक प्रभाव छोड्न नसकेको उहाँको अनुभव छ ।

आफ्नो जीवनमा उहाँले इच्छाएको पार्टी र नेता रोज्दै करिब छ÷सात पटक भोट हालिसक्नुभएको छ । मजदूरका लागि न त कुनै तन्त्रले केही ग¥यो न त आफूले जिताएका नेताले नै आफूहरुका बारेमा केही सोचेका छन्, उहाँले दुःखेसो पोख्नुभयो ।

ढुंगामाटोमै पसिना चुहाउँदै आएका घर्तीले दुई सन्तानलाई सरकारी विद्यालयमा भर्ना गराउनु भएको छ । तर सन्तानका दिन पनि नफेरिएलान् कि भन्ने विषयमा उहाँलाई हरपल चिन्ता छ ।

यस्तै, रोल्पा नपा–८ का ३८ वर्षीय तेजराम खत्रीले पनि रोजगारीका लागि कतार, मलेशियालगायतका विभिन्न स्थानमा वैदेशिक रोजगारीका शिलशिलामा लामो समय खर्चिसक्नु भएको छ ।

बिहे गरेको केही समयमै बाँकी जीवन सुखसँग बिताउने आश्वासनसहित श्रीमतीलाई घरमै छोडेर रोजगारीका लागि हिँडेका खत्रीको पनि वैदशिक रोजगारीले जीवनमा कुनै किसिमको परिवर्तन ल्याउन सकेन । विदेशमा सोचेअनुरुप कमाइ नभइरहेकै बेला देशमै जनताका दिन फेरिन्छन् भन्ने सुनेपछि उहाँ पनि स्वदेश फर्कनुभयो ।

दशवर्षे सशस्त्र युद्धले उथुलपुथल भएको रोल्पा र रोल्पालीका दिन फेरिने, युवाले रोजगारी पाउने भन्ने खबर पाएपछि उहाँ निकै उत्सुकताका साथ घर फर्कनुभएको थियो । अब रोजगारी पाए परिवार पाल्न सजिलो हुनेछ भन्दै घर फर्किएका खत्रीका पर्खाइमै दिन बितिरहेका छन् ।

उहाँले पनि सदरमुकाममा ढुंगामाटो गरेर जीविका चलाउँदै आउनुभएको छ । तर बूढेशकालमा काम गर्न नसक्दा पो के गर्ने भन्ने चिन्ताले उहाँलाई बेलाबेला पिरोल्ने गर्छ । अरु केही नभए पनि सरकारले मजदूरका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा दिनसके पनि ठूलो राहत हुने थियो, उहाँ भन्नुहुन्छ ।

यसैगरी, साविकको पाछाबाङ गाविस–६, रोल्पाका शर्मिला बूढा हाल ३५ वर्षकी हुनुुहन्छ । उहाँले पनि जिल्लामा लामो समयदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आउनुभएको छ । “आठ÷नौ वर्षदेखि वैदेशिक रोजगारीमा पुगेका श्रीमान्को कमाइ ऋण तिर्दैमा ठिक्क छ । अझै तीन वर्ष आउनुहुन्न होला”, उहाँले भन्नुभयो ।

आफूले कमाएको कमाइ घरखर्चमै तथा श्रीमान्को तलब ऋण तिर्नमै ठिक्क भएपछि उहाँको जीवनमा नयाँ प्रगति हुन सकिरहेको छैन । देशमा विभिन्न राजनीतिक उतारचढाव आइरहे पनि मजदूरका भविष्यका बारेमा कसैले पनि नसोच्दा दिक्क लाग्ने गरेको उहाँले बताउनुभयो । श्रम गरेअनुसार जीवनमा परिवर्तन नआउँदा दुःख लाग्ने गरेको उहाँले बताउनुभयो ।

सबैजसो मजदूरले आफ्नोभन्दा पनि आफ्ना छोराछोरीको भविष्यको चिन्ता गरेका छन् । यसतर्फ समयमै सरोकारवालाको ध्यान जानुपर्नेमा मजदूरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु