Wednesday, 23 May 2018 03:03 am, Nepal

स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा

मेचीकाली : 2018-01-19 14:44:06


–केदार मगर

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कनसमेत रोकेपछि विचल्लीमा परेका हुन् ।

टायल मेसनका लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेशनल कम्पनी पुगेका राईद्वयले खाना खाने रकमसमेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले रोकेको जनाएको छ । कम्पनीले हाललाई काम नभए पनि केही दिनपछि काम हुने भन्दै घर फर्कनसमेत रोकिरहेको धनकुमार राईले बताउनुभयोे ।

राईले सेटलाइट कम्पनीबाट केही दिनपछि पाउने भनिएको काम पनि नेपालको मेनपावरमा भनिएभन्दा अप्ठ्यारो हुने बताएका छन् । कम्पनी टाट पल्टिएकाले गर्दा काम–दाम नपाएको बताउनुहुने धनकुमारका अनुसार काम शुरु हुनासाथ काममा लगाउने र तलब दिने भन्दै कम्पनीले जबर्जस्ती रोकिरहेका छन् ।

विचल्लीमा परेका कामदारलाई काम नगरी बसेको दिनको तलब तथा खाने–बस्ने सुविधा नदिने कम्पनीले बताएका छन् । हाल बसेको तथा खाएको रकम काम शुरु भएपछि पाउने तलबबाट कटाउने जनाएको पीडितले बताएका छन् ।

ऋण लिएर कतार गएका राईद्वयले विचल्लीमा परेपछि स्वदेश फर्कन पहलका लागि सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन् । सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएका दिक्तेलबजारस्थित सूचना तथा परामर्श केन्द्रमा फोन गरी अरुण र धनकुमारले तत्कालै नेपाल फर्काउन पहल गरिदिन अनुरोध गरेका छन् ।

अरुण र धनकुमारसँगै उक्त कम्पनीमा पुगेका नवलपरासीका भमबहादुर मगर, उदयपुरका दीपबहादुर माझी र कैलाली टीकापुरका नन्दसिं साउदसमेत विचल्लीमा परेका छन् । वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपिसमेत कामदारसँग नभएको पाइएको परामर्शकर्ता अम्बिका दाहालले बताउनुभयो ।

उद्धारको पहल गरिदिनका लागि पिपुल्स फोरमसँगको समन्वयमा सूचना केन्द्रले वैदेशिक रोजगार विभागमा निवेदन दिने परामर्शकर्ता दाहालको भनाइ छ । पिपुल्स फोरमले वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारामा परेकालाई निःशुल्क कानूनी पैरवीको काम गर्छ ।

आफ्नो मेनपावरबाट जाने कामदारले काम तथा दाम नपाएपछि उत्पन्न समस्या समाधान गर्ने भन्दै कतार पुगेको निर्देशक श्याम श्रेष्ठले उल्टै कामदारको पैसा लिएर फर्किएको धनकुमारले बताउनुभयो । “खाना खाने रकमसमेत नभएपछि कम्पनीले दिएको पैसा निर्देशक श्यामले आफैँ लिएर नेपाल फर्के” उहाँले भन्नुभयो, “अहिले कतारमै रहेका नेपाली साथीले दिएको केही रकमले श्वास अल्झाउने काम भइरहेको छ ।”

कामदारका लागि स्वयं मेनपावरको निर्देशक श्याममार्फत रकम दिँदा उचित हुने ठानेर खानाका लागि ५०० रियल उपलब्ध गराए पनि बदमासी गरेको कम्पनीका मुदिर (मालिक)ले जानकारी दिएको परामर्शकर्ता दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु