Wednesday, 23 May 2018 03:18 am, Nepal

बगरमै वित्छ जिन्दगी

मेचीकाली : 2018-01-19 14:42:36


–शेरबहादुर सिंह
भीमदत्तनगर, ५ माघ :

चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउनुहुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग बगरमा बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरु उपाय छैन ।

“बालुवा नछाने छाक टार्न धौधौ पर्छ,” तीन वर्षीया छोरी विशिता र १२ वर्षीय छोरा राकेशसँगै बगरमा ढुंगा संकलन गरिरहनुभएकी चदाराले रासससित भन्नुभयो– “हामी बगरकै भरमा बाँचेका छौँ ।”

उहाँका श्रीमान् डिल्ली रोजगारका लागि भारत जानुभएको छ । उहाँले एक दशकयता बगरमा संघर्ष गर्दै आउनुभएको छ । आफूसित भएको दुई कट्ठा जग्गाको अन्नबालीले नपुग्ने भन्दै उहाँले नदीको बगर नै आफ्नो रोजगारीको गन्तव्य भएको बताउनुभयो ।

“हरेक वर्ष मंसिरदेखि जेठ मसान्तसम्म बालुवा, गिट्टी र ढुंगा संकलन गरेर बिक्री गरी आम्दानी गर्ने गरेको छु,” चदाराले भन्नुभयो– “यही कमाइले घर खर्च टरेको छ ।” उहाँका दुई छोरा बगरमै आमालाई बालुवा छान्न सहयोग गर्दैआएका छन् ।

“बालुवा बेचेर चामल किन्नुपर्ने अवस्था छ,” उहाले भन्नुभयो– “मुलुकमा जुस्तो सुकै परिर्वतन आए पनि हाम्रो दैनिकी यसरी नै चलेको छ ।”

बडैपुरकी दलित महिला चदारा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँ जस्तै महाकाली किनारको तटीय क्षेत्रका विपन्न परिवारलाई महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । बगरमा बालुवा चालेर यहाँका सयौँ परिवारको खर्च टरेको छ ।

“एक महिनादेखि भारतको रोजगारी छाडेर श्रीमतीसहित बालुवा संकलन गरिरहेको छु,” बगरमै भेटिनुभएका बडैपुरका राजेन्द्र लुहारले भन्नुभयो– “तटीय क्षेत्रका लागि मात्र नभई बगर अरुका लागि पनि आयस्रोतको माध्यम बनेको छ ।”

पाँच छोराछोरी रहेका लुहार दम्पतीसहित बगरमा बालुवा, गिट्टी र ढुंगा संकलन गरी बिक्री गरेर आम्दानी गरिरहेका छन् । “चार÷पाँच दिनमा एउटा ट्रली गिट्टी संकलन गर्न सकिन्छ,” लुहारले भन्नुभयो– “गिट्टी प्रतिट्रली रु एक हजार ७०० देखि रु एक हजार ८०० सम्ममा बिक्री भइरहेको छ ।” बालुवा प्रतिट्रली रु ८०० र ढुंगा प्रतिट्रली रु एक हजार ५०० सम्ममा बगरबाटै बिक्री हुने गरेको छ ।

“एक वर्ष भारतको हिमाञ्चलमा स्याउ टिपेर घरको खर्च चलाए,” उहाँले भन्नुभयो– “अहिले कुनै सीप नलागेपछि बगरमा पुगेको छु ।”

जिल्ला समन्वय समितिले वार्षिकरुपमा ठेक्का प्रक्रियामार्फत निर्माण व्यवसायीलाई बालुवा, गिट्टी र ढुंगा संकलनका लागि जिम्मा दिने गरेको छ । हाल महाकालीको भुजेला, ऐरी, ओदाली, झोलुंगे पुल छेउलगायतका क्षेत्रबाट दैनिक सयौँ गाडीमा उक्त सामग्री ढुवानी हुने गरेको छ । बगरमै खरिदका लागि पुग्ने ट्रक तथा ट्र्याक्टर व्यवसायीले बालुवा संकलनको शुरुवाती चरणमा पर्याप्त मूल्य दिने गरेको संकलकले बताएका छन् ।

विगत दुई महिनादेखि बगरमै टहरा बनाइ बालुवा, गिट्टी संकलन गरिरहेका बेल्डाँडी गाउँपालिका–९ इमलियाका सियाराम रानाले आफ्नो गाउँबाट हरेक वर्ष मजदूरी गर्न आउने गरेको बताउनुभयो । बहत्तर वर्षीय वृद्ध बुबासहित बगरमा ढुंगा छानिरहेका सियारामले एउटा याममा रु ६० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । “बुबासँगै विगत पाँच वर्षदेखि बालुवा छानेर बेचिरहेका छौँ,” उहाँले भन्नुभयो ।

सियारामले भन्नुभयो– “आर्थिक अवस्था कमजोर भएकै कारण बगरमा दुःख गर्नुपरेको हो ।” उहाँका बुबाले परिवारको पालनपोषणका लागि वृद्ध वस्थामा पनि बगर धाउनु परेको सुनाउनुभयो । “पहिले ट्रकमा मजदूरी गर्थे ।” उहाँले भन्नुभयो–“त्यसपछि बगरमा बालुवा छान्न आए ।” बगरमै टहरा बनाएर आश्रय लिँदै आएका उहाँले पाँच महिनासम्म ढुंगा संकलन हुने गरेको बताउनुहुन्छ ।

“बर्खा शुरु नहुँदासम्म संकलन गर्न पाइन्छ ।” उहाँले भन्नुभयो–“वर्षात् शुरु भएपछि खेतीपातीका लागि घरतिर लाग्छौँ ।” बगरमा मजदूरीका लागि बेल्डाँडीसँगै, बेलौरी, पुनर्वास, सिसैयालगायतका क्षेत्रबाट समेत थारु समुदायका स्थानीय महाकाली पुगेका छन् ।

दिनभर बगरमा काम गर्ने भीमदत्त नगरपालिका–१३ कल्चुदेवी चदारा पनि विगत आठ वर्षयता बगरमा संघर्ष गर्दैआउनुभएको छ । “छोराछोरीको खर्च जुटाउन पनि बगरमा आउनै पर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो– “भएको तीन कट्ठा जग्गामा लगाएको खेतीबालीसमेत चौपायाले नष्ट गरिसके ।”

पछिल्ला दिनमा भीमदत्तनगर बजार क्षेत्रमा रातिमा छाडा चौपाया नदीको बगरमा छाड्ने काम भइरहेको उहाँले बताउनुभयो । “रातभर अन्नबाली खाएर सखाप गर्छन,” उहाँले भन्नुभयो– “चौपाया व्यवस्थापन गर्न हाम्रो बस्तीमा पठाउने काम भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु