Wednesday, 23 May 2018 03:18 am, Nepal

जडीबुटीे प्रशोधन उद्योगले गाउँमै रोजगारी

मेचीकाली : 2018-01-04 13:54:37


कञ्चनपुर, २० पुस :

शुक्लाफाँटा नगरपालिका वडा नं ८ बेल्डाँडीका सपना साह स्कुलबाट फर्केपछि दिउँसो सधैँ घर नजिकैको सामुदायिक वनमा गएर नियमित असारेका पात संकलन गर्न वन जान्छिन । असारेका भारी जडीबुटी प्रशोधन केन्द्रमा ल्याएर प्रशोधन गरी निकालेको तेल बिक्री गरेर उनले पढाइ खर्च चलाउँदै आएकी छिन् ।

हालसम्म दुई लिटर तेल बेचेर साहले आठ हजार कमाइसकेकी छिन् । उनी भन्छिन् “तेल बेचेको पैसाले पढाइ खर्च चलेको छ, बाटोमा साइकल बिग्रेपछि मर्मत गर्न पुगेको छ, कापी कलम किन्न पनि पुगेको छ ।”साहसँगै उनका साथीहरु पूजा बोहरा, पूजा टमटा र दीपा धामीले पनि असारेलगायतका जडीबुटी बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन् । उनीहरू सबै झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।

सिर्जना जडीबुटी समूहमा आबद्ध पूजाले तीनकट्ठा जग्गामा परिवारको सहयोगमा मेन्था पनि लगाएकी छिन् ।यसअघि उनले केमाइलको खेती गरी त्यसको तेल बेचेर रु छ हजार कमाइ गरेकी थिइन । परिवारको खर्चसँगै विद्यालयको खर्च आफैँले जुटाउँदै आएको उनले बताइन् ।

बेल्डाँडीमा गत वर्षदेखि खोलिएको सो उद्योगमार्फत विद्यार्थीसहित स्थानीयवासीले गाउँमा आम्दानी गरिरहेका छन् ।उद्योग सञ्चालक समितिका कोषाध्यक्ष कमला साउद भन्नुहुन्छ, “उद्योग खुलेपछि गाउँलेले घर खर्च चलाएका छन्, विद्यार्थीले पढाइ खर्च पाएका छन्, यसले फाइदा नै भएको छ ।”

असारेको तेल प्रतिकिलो रु ३० हजार बढीमा बिक्री हुने गरेको छ । प्रगति सामुदायिक वनसित साझेदारीमा गत वर्ष दातृ निकायको सहयोगमा उद्योग सञ्चालन गरिएको हो ।असारे, मेन्था र केमाबाट सुगन्धित तेल उत्पादन गर्न सकिने सुनेका स्थानीयबासिन्दाले दातृ निकायको रु पाँच लाख, परियोजना घुम्ती कोषको रु एक लाख र सामुदायिक वनको रु तीन लाख लगानीमा उद्योग स्थापना गरेका थिए ।

सामुदायिक वनमा असारे प्रशस्त भएकाले आम्दानी पनि गतिलो नै छ उद्योग सञ्चालक समितिका कोषाध्यक्ष साउदले भन्नुभयो, “असारे पेलेर शुरु गरिएको उद्योगबाट अहिले मेन्था, केमाइल र लिप्टिसको तेल पनि उत्पादन हुने भएकाले आम्दानी बढ्दै गएको छ ।” केमा र मेन्थाखेतीका लागि स्थानीयवासीले चार समूह बनाएका छन् ।

समूहका सदस्यले तेल बेचेर हालसम्म रु दुई लाख १६ हजार आम्दानी गरेका छन् । एक समूहका सदस्यले कम्तीमा २० हजारभन्दा बढी आम्दानी गरेका छन् । स्थानीयवासीले उत्पादन गरेको तेल स्थानीय वीरबहादुर ऐरले किनेर नेपालगञ्ज पु¥याई अर्का व्यापारीलाई बेच्ने गर्नुभएको छ । नेपालगञ्जका व्यापारीले यहाँको तेल विदेश निर्यात गर्दै आएका छन् ।

स्थानीय जडीबुटी उद्योगमा संलग्नका अनुसार विगतमा काठमाडौँ र नेपालगञ्जका व्यवसायीले आएर तेल सस्तोमै किनेर लैजाने गरेका थिए । स्थानीयवासीले नै तेल किनेर राम्रो मूल्य दिन थालेपछि जडीबुटीखेतीमा यहाँका बासिन्दाको आकर्षण बढ्न थालेको हो । स्थानीय मैना बोहराले उद्योग खुलेपछि घर खर्च चलाउन सहयोग पुगेको बताउनुभयो ।

उद्योगमा सेटिङ हाउस निर्माण, प्राविधिक कर्मचारीलगायतका जनशक्ति बढाउन पाए अझै बढी आम्दानी लिन सकिने उहाँले उल्लेख गर्नुभयो ।

अन्न नफल्ने बाँझो खेतमा समेत जडीबुटीखेती राम्ररी सप्रने र जंगली जनावरले समेत जडीबुटीलाई नखाने भएपछि स्थानीयवासीको यसप्रतिको मोह बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु