Tuesday, 19 June 2018 04:30 pm, Nepal

नगरभित्रकै विद्यालयमा पाँच शिक्षक पाँच विद्यार्थी !

मेचीकाली : 2017-04-20 08:46:12


पर्वत, ७ वैशाख :

निःशुल्क तथा गुणस्तरीय शिक्षा, तालिमप्राप्त शिक्षक शिक्षिका, शान्त वातावरण भएको नगरपालिकाभित्रकै यहाँको एक सामुदायिक विद्यालय बन्द हुने अवस्थामा परेको छ ।पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित जनएकता प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या रित्तिदै जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।

स्थानीयवासी दिनप्रतिदिन बसाइँ सर्ने क्रम बढेपछि विद्यार्थीको सङ्ख्या न्यून बनेको हो । विद्यालयमा पढ्ने केही विद्यार्थी सोही गाउँआसपास माविमा पढ्न जान थालेपछि उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको शिक्षकले गुनासो गरेका छन् ।

विसं २०४८ मा स्थापना भएको सो विद्यालयले केही वर्षपहिले ५० जनासम्म विद्यार्थी पढ्न आउने गरेका भएपनि अहिले एकपछि अर्को गरेर विद्यार्थी सङ्ख्या घट्न थालेको विद्यालयले जनाएको छ ।

विद्यालयमा बाल शिक्षामा अध्ययन गर्नेसहित अहिले पाँच विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको विद्यालयका प्रध्यानाध्यापक अमृत गुरुङले बताउनुभयो । उहाँले गाउँमा प्रायः विद्यार्थी नभएको भन्दै साविकको आर्थर गाविस ठूलो भएपनि जनजातिका कुनै पनि विद्यार्थी विद्यालयमा पढ्न नआउने बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा दलित विद्यार्थी मात्र पढ्न आउने गरेका छन् । उनीहरु पनि घरमा कुनै काम भएमा अभिभावकले विद्यालय नै नपठाउने गरेको उहाँले बताउनुभयो । विद्यार्थी पढ्न नआएको खण्डमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्थासमेत आउने गरेको छ । विद्यालयमा एक कार्यालय सहयोगीसहित पाँच शिक्षकको दरबन्दी रहेको छ । कक्षा ३ सम्म आधारभूत प्राविको पढाइ हुने उक्त विद्यालयमा चालु शैक्षिकसत्रमा ११ विद्यार्थी भर्ना भएको भएपनि अहिले पाँचजना मात्र नियमित आउने गरेका छन् ।

जिल्ला शिक्षा कार्यालय पर्वतले न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने नीति ल्याएको भए पनि उक्त विद्यालय भने अहिलेसम्म गाभिएको थिएन । विद्यार्थीको सङ्ख्या यही अवस्थामा रहेमा उक्त विद्यालयलाई नजिकैको अर्कोसँग गाभ्ने तयारी गरिएको जिशिका पर्वतले जनाएको छ ।

पछिल्लो समय निजी विद्यालयको अङ्ग्रेजी शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु