Wednesday, 25 April 2018 12:07 am, Nepal

ग्रामीण क्षेत्रमा पनि पुग्यो पहिलोपटक पाइटल थ्रेसर

मेचीकाली : 2016-11-21 13:23:46


सिन्धुली, ६ मङ्सिर :

सिन्धुलीको ग्रामीण क्षेत्रका किसान पाइटल थ्रेसरबाट धान झार्ने अभियानमा लागेका छन् । अघिल्ला वर्षमा ज्यामी नपाएर खेतमै धानको कुन्यू लगाएर राख्ने किसानले यतिबेला आधुनिक पाइटल थ्रेसरबाट धान झार्न लागेका हुन् । सानो र हलुका हुने पाइटल थ्रेसर मोटरबाटो नपुगेको दुर्गम भेगमा समेत सजिलै लैजान सकिने भएकाले यसमा किसानको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अहिले पाइटल थ्रेसरले किसानलाई धान झार्न सहज बनाएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो – “तौल कम र सानो आकारको भएको हुँदा १३÷१४ वर्षका बालबालिकादेखि महिलाले पनि चाहे सजिलै चलाउन सक्छन् ।” यो मेसिन खुट्टाले चलाएर धानका बालाबाट धान झार्न सकिन्छ ।

कृषि विकास कार्यालयले यस वर्ष ३० वटा पाइटल थ्रेसर ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार थ्रेसर खरिद गर्न बजेट अपुग भएकाले २५ वटा मात्र पाइटल थ्रेसर वितरण गरिने कार्यालयले जनाएको छ ।

कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले गत वर्ष बजरमा पाइटल थ्रेसरको मूल्य ११ हजारको हाराहारीमा भए पनि अहिले मूल्य बढेर १४ हजार पुग्दा कार्यालयले छुट्याएको बजेटले २५ वटा मात्र पाइटल थ्रेसर वितरण गर्न लागिएको बताउनुभयो ।

किसानले समूह, संस्थागत तथा व्यक्तिगत निवेदनका आधारमा पनि पाइटल थ्रेसर खरिद गर्न सक्ने छन् । कृषि विकास कार्यालयको कृषि प्रसार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा पाइटल थ्रेसर खरिद गर्दा रु सात हजार तिर्नुपर्ने कार्यालयले जनाएको छ ।

सिन्धुलीको भौगोलिक हिसाबले टाढा मानिएका डुढभञ्ज्याङ, रत्नावती, महेन्द्रझ्याडी, डाँडीगुराँसे, शीतलपाटी, कुशेश्वर दुम्जा, पिपलमाढीलगायतका गाविसमा किसानले पाइटल थ्रेसर प्रयोग गरेका छन् ।

अहिलेसम्म कार्यालयले १५ वटा पाइटल थ्रेसर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको छ । किसानले अन्यन्त्रबाट पनि पाइटल थ्रेसर खरिद गर्ने गरेको र अहिलेसम्म सिन्धुलीमा ७० भन्दा बढी किसानले पाइटल थ्रेसर प्रयोगमा आएको पाइएको छ ।

नयाँ प्रविधिले दाइँ गर्ने परम्परागत प्रणाली लोप हँुदै

खेतबारीमै थ्रेसर मेसिन पुग्न थालेपछि किसान एकातिर हर्षित भएका छन् भने अर्कोतिर यसले ग्रामीण अर्थतन्त्रलाई सवल बनाएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

थ्रेसर मेसिन सडकको पहुँच पुग्ने स्थानमा सिन्धुलीमाडीदेखि ग्रामीण क्षेत्रमा पनि पुगेपछि गोरु लगाएर दाइँ गर्ने परम्परागत प्रणाली लोप हँुदै गएको छ । गोरुले ३–४ घन्टामा सिध्याउने दाइँ थ्रेसरले छिटो सक्ने भएकाले यसतर्फ आकर्षण बढेको रामहरि रोक्का बताउनुहुन्छ । थ्रेसरबाट धान बटुलेर घर लैजानुपर्ने झन्झटबाट मुक्ति पाई खेतमै दाइँ गर्न सजिलो भएको उहाँले बताउनुभयो ।

थ्रेसर मेसिन राख्नेले किसानको खेतमै गएर थोरै धान वा पैसामा धान चुटने गरेकाले यसबाट किसानको परिश्रमको बचत हुनुका साथै खर्चको समेत कम हुने गरेको किसानको भनाइ छ ।

गोरुको प्रयोग गर्दा धेरै खेताला लाग्ने र बढी खर्च हुने भएपछि किसान नयाँ प्रविधितिर आकर्षित हुन थालेका हुन् । गोरु र खेताला लगाएर धान दाइँ गर्दा बढी खर्चिलो भएपछि सिन्धुलीका किसान थ्रेसर मेसिनबाट धान चुटन आकर्षित भएका हुन् ।

कृषि क्षेत्रमा भित्रिएको आधुनिकीकरणसँगै बाली भित्र्याएर दाइँ गर्ने काममा मेसिनको प्रयोग बढ्न थालेपछि यसबाट किसानको समय र पैसासमेत बचत हुन थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु