Wednesday, 25 April 2018 12:02 am, Nepal

कात्तिक नाचले उल्लासमय बन्यो पाटन

मेचीकाली : 2016-11-08 17:11:38


सञ्चिता घिमिरे

ललितपुर-

दसैँ तिहार सकिएर देशका अन्य ठाउँमा मनसुन हुँदा पाटन भने उल्लासमय बनेको छ । पाटनवासीले विशेष महत्वका साथ मनाउने पर्व कात्तिक नाच मङ्गलबजारस्थित कात्तिक नाच डबलीमा तिहार सकिएसँगै सुरु भएको छ ।बिहीबार सुरु भएको नाच आगामी सोमबार (२९ गते) सकिँदैछ । अघिल्लो वर्ष भूकम्पका कारण उल्लासमय हुन नसकेको नाच यो वर्ष हर्षाेल्लासका साथ मनाइदै गरिएको होे ।

 गत वर्ष भूकम्पका कारण जम्मा १० दिन नाच सञ्चालन भए पनि यो वर्ष १२ दिनसम्म मनाउन लागिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।

हरेक साँझ ७ बजे नाच सुरु हुने गरेको छ । नाचको किसिम हेरेर कहिले १० बजे त कहिले १ बजेसम्म सञ्चालन हुने गरेको चित्रकारले बताउनुभयो । नाचमा सबैभन्दा महत्वपूर्ण नृसिंह अवतार (हिरण्यकश्यप वध) लाई मानिन्छ । यो नाच देखाइने रात दर्शकको सबैभन्दा बढी भीड हुन्छ । उहाँले भन्नुभयो – “यो रात सिङ्गो डबली भरिएर खचाखच हुने गर्छ ।”

देशमा शान्ति सुव्यवस्था कायम गरेर जनतालाई एकताको सूत्रमा बाँध्न राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरुवात गरेका हुन् । धान काटिसकेर पाटनवासीलाई फुर्सदमा मनोरञ्जन दिलाउने उद्देश्यले सुरु भएको नृसिंह अवतारमा हिरण्यकश्यप वधलाई असत्यमाथि सत्यको विजयका रुपमा लिइन्छ । यो नाचमा अहिले पनि हिरण्यकश्यपको भूमिकामा नाच्ने व्यक्ति साँच्चै बेहोस हुने गरेका छन् । उहाँले भन्नुभयो – “विष्णुका विभिन्न लीलामा आधारित नाचमा स्थानीयवासीको आस्था देखिन्छ ।”

विसं २००६ सम्म यो नाच एक महिना देखाउने गरिएको थियो । राजनीतिक परिवर्तनसँगै यो नाच दुई दिनमा सीमित बन्न पुग्यो । यी दुई दिनमा बराह अवतार र नृसिंह अवतार मात्रै देखाइने गरिएको थियो । विसं २०३७ देखि भने अरु नाच पनि थप हुन थाले । विसं २०६९ मा ८ दिन नाच देखाइएकामा विसं २०७० मा दुई दिन थप गरिएको थियो ।

एक महिनासम्म देखाउनुपर्ने भए पनि आर्थिक अभावका कारण नसकिएको कोषाध्यक्ष उत्तमरत्न शाक्यको भनाइ छ । एक वर्ष एउटा कथामा आधारित र अर्काे वर्ष अर्को कथामा आधारित नाच देखाउने गरिएको छ । नाच संरक्षण र प्रवद्र्धनका लागि सरकारले गरेको सहयोग अपर्याप्त भएको उहाँले बताउनुभयो ।

नाचमा विष्णु गण, कृष्ण गण, महादेव गण, देवी गण, इन्द्र गण, दैत्य गणलगायत भगवान्का विभिन्न अवतारको लीला समेटिएको हुन्छ ।

राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको नाचमा बाःथ प्याखँ(तीन चलाख र धुर्त दाजुभाइको कथामा आधारित नाच) थियो । अर्का मल्ल राजा योगनरेन्द्र मल्लका पालामा उषाहरणलीला र माधवानरलीला थप भएको थियो ।

राजा सिद्धिनरसिंहले विसं १६९७ मा साङ्गीतिक भाव भएको यस्तो नाच सुरु गरेकामा नाचमा तान्त्रिक, शास्त्रीय र लोकभाव देखिन्छ । राजा मल्लका शिक्षा गुरु हरिवंश उपाध्यायलाई नाचको सर्जक मानिन्छ । नाचमा शास्त्रीय पक्ष जोड्ने काम दीक्षागुरु विश्वनाथ उपाध्यायले गरेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु