Tuesday, 26 September 2017 08:18 pm, Nepal

निर्माण भएको एक दशकपछि सञ्चालन आउँदै सूचना प्रविधि पार्क

मेचीकाली : 2016-04-07 17:25:16


काभ्रे :

एक दशक पहिले काभ्रेको धनेश्वरमा निर्माण भएको सूचना प्रविधि(आईटि पार्क) सञ्चालनमा आउने भएको छ । वि.सं. २०६२ सालमा निर्माण सम्पन्न भएको आईटि पार्क नियमित रुपमा सञ्चालन आउन सकेको थिएन । वर्षौ पहिले निर्माण भएको आईटि पार्क सञ्चालनमा ल्याउनका लागि बुधबार सूचना प्रविधि विभागले काठमाडौँ विश्वविद्यालय, क्लाउड हिमालय प्रालि, थापाथली, सफ्टेक फाउण्डेशन प्रालि डिल्लीबजार बीच सम्झौता भएको छ ।

विभागका महानिर्देशक बिरेन्द्रकुमार मिश्र, काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डाक्टर भोला थापा, क्लाउड हिमालयका अध्यक्ष रमेशकुमार श्रेष्ठ र सफ्टेक फाउण्डेशनका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद लुईटेलबीच सम्झौता भएको हो । सम्झौताको अवधि दश वर्षको रहेको छ । सम्झौता अनुसार काठमाडौँ विश्वविद्यालयले दुई वटा ब्यवसायिक एकाईमा सूचना प्रविधिमा आधारित नयाँ उद्योगहरुको लागि इन्कुवेशन केन्द्र, फिनिसिङ्ग स्कुल सम्बन्धी काम गर्ने विश्वविद्यालयका रजिष्ट्रार डाक्टर भोला थापाले जानकारी दिए ।

उनले सम्झौतासँगै विश्वविद्यालयले विहिबारदेखि नै काम सुरु गर्ने बताए । थापाले जस्तोसुकै चुनौती आएपनि विश्वविद्यालय आईटि पार्कबाट नफर्कने बताए । यसैगरि सफ्टेक फाउण्डेशनले पार्कको व्यवसायिक भवनको एक एकाईमा सफ्टवेयरको विकास सम्बन्धी कार्य गर्नेछ भने क्लाउड हिमालय प्रालिले डाटा सेन्टर सञ्चालन गर्ने सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रले आफु विभागको महानिर्देशक भएर आएको दिनदेखि नै पार्क सञ्चालन गर्ने प्रतिवद्धता गरेको बताउँदै त्यो प्रतिवद्धता कार्यान्वयनको चरणमा रहेको बताए । उनले पार्क सञ्चालनमा आउन लागेपनि विभाग भने काठमाडौ सर्न लागेको बताए ।

सम्झौता बमोजिम कम्तिमा एक सय ३० जना सूचना प्रविधि सम्बन्धित दक्ष जनशक्तिको लागि नयाँ प्रत्यक्ष रोजगारी सिर्जना हुने र बार्षिक रुपमा १० नयाँ सूचना प्रविधिमा आधारित कम्पनीहरु स्थापना भई प्रत्येक वर्ष थप ५० वटा नयाँ रोजगारी सिर्जना हुने मिश्रले बताए । एक दशक निर्माण सम्पन्न भई सञ्चालनमा आउन नसकेको पार्क सञ्चालनमा ल्याउन नेपाल सरकारले यसै वर्ष ‘सूचना प्रविधि पार्क(व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७२’ स्विकृत गरेको थियो ।

वि.सं. २०५७ सालमा निर्माण सुरु गरिएको आईटी पार्क निर्माण कार्य सम्पन्न भई ०६२ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपाल सरकारलाई हस्तान्रण भएपछि २०६३ मंसिरदेखि आइटी पार्कमा काम सुरु गरेको नेदरल्याण्डको जाभ्रा सफ्वेयर कम्पनी ६ महिनापछि काभ्रेबाट काठमाडौं गएको थियो । इन्टरनेट कनेक्सनमा समस्या देखापरेको भन्दै जाभ्रा फर्किएको साँढे २ वर्षपछि आइबिएमले  २०६६ असोज २३ गतेबाट आईटी पार्कमा अनुसन्धान केन्द्र स्थापना गरेको थियो ।  

आईटी पार्क छोडेको जाभ्रा सफ्टवेयर कम्पनीले  काम सुरु गरेदेखि नै आइटी पार्कमा कनेक्टिभिटीको समस्या देखाएको थियो । नेपाल टेलिकमले कनेक्टीभिटीको जिम्मा लिएपनि टेलिकमले गुणस्तरीय सेवा दिन नसकेको आरोप पनि जाभ्राले लगाएको थियो ।  सूचना प्रविधि पार्कको संचालन विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत हुन्छ । सूचना प्रविधिको लागि नभै नहुने संचार सुविधा (टेलिफोन, इन्टरनेट आदि) सूचना तथा संचार मन्त्रालय अन्तर्गत भएको र पार्कलाई उद्योगको रुपमा विकास गर्न उद्योग मन्त्रालयको दायित्व हुने भएकाले यी तीनवटै मन्त्रालयवीच समन्वय हुन नसकेकाले आईटी पार्क संचालन अन्यौलमा परेको पाइएको छ ।

बनेपा र पनौती नगरपालिकाको २ सय ५७ रोपनी जग्गामा निर्माण गरिएको पार्कमा एकैपटक १ सय ४४ जना कम्प्युटर इन्जिनियरले काम गर्नसक्ने क्षमता रहेको छ । नेपाल सरकारले ०५४ सालमा आइटी पार्कको अवधारणा ल्याएको थियो । आइटी पार्क निर्माण सुरु भएपछि विभिन्न विदेशी कम्पनीले पार्कमा आउन चासो देखाए पनि पछि उनीहरु आउन मानेका थिएनन् । पार्कमा व्यापारिक, प्रशासनिक तथा आवास गृह निर्माणका साथै अप्टिकल फाइबर र भिस्याटसमेत जडान भइसकेका छन् । तर, पार्क भित्रै उपलब्ध हुनुपर्ने चमेना गृह, विद्यालय, वैंक, मनोरन्जनस्थल लगायतका पूर्वाधार भने बन्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु