Wednesday, 25 April 2018 12:09 am, Nepal

पर्यटकीयस्थल मयुङ ओझेलमा

मेचीकाली : 2016-03-26 17:35:56


खोटाङ-

पर्यटकीयस्थल मयुङ विकासको प्रचूर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । जिल्लाको उत्तरी गाविस फेदीमा पर्ने मयुङमा बाह्रै महिना ढकमक्क फूल फुलिरहने, समथर घाँसे मैदान, पर्याप्त पानीको स्रोत, जडीबुटीको क्षेत्र, विभिन्न ठाउँको दृश्य सजिलै देख्न सकिने ठाउँ छन् । समुद्री सतहदेखि करिब तीन हजार मि उचाइमा रहेको मयुङबाट सगरमाथा, महालङ्गुर हिमाल, अरुण उपत्यका, मेरापिक, मकालु, सगरमाथा तथा बरुण राष्ट्रिय निकुञ्जलगायत देख्न सकिन्छ ।

झन्डै तीन हजार रोपनी क्षेत्रफल रहेको मयुङमा डाँफे, मुनाल, कालिज, मलेवा लगायत विभिन्न प्रजातिका चराचुरुङ्गी तथा गिद्ध, लोपोन्मुख जनावर रातो हाब्रे, पाटे बाघ, कालो भालु, चितुवा, मृग, घोरल, थार, खरायोलगायत वन्यजन्तु पाइन्छ ।

ठूलाठूला घाँसे मैदान रहेको मयुङमा दर्जन बढी चौंरीगोठ, दर्जन बढी गाईगोठ र उत्तिकै सङ्ख्यामा भेडीगोठ रहेको छ । यामअनुसार बाह्रै महिना ढकमक्क पूmल फुल्ने मयुङमा लालीगुराँस, चिमाल, चाँप, ढाप्ले, हिरिङ्गी लगायत पाइन्छ । दर्जनौँ पोखरीको रहेको मयुङमा सयौँको सङ्ख्यामा पानी हाँस समेत पाइन्छ ।

हरेक नयाँ वर्षको दिन ठूलो मेला लाग्ने मयुङमा चरणमा रहेका घोडा चढेर विभिन्न ठाउँ डुल्न समेत पाइन्छ । घोडामा चढेर घोडाटार, साउने डाँडा, जोगीमारा, बतासे, नागी, मात्तिम, भुवान पोखरी, जलजले पोखरी, ढुङ्गाखर्क, नौलाखर्कलगायत ठाउँ डुल्न सकिने स्थानीयवासी ज्ञानकुमार राईले जानकारी दिनुभयो ।

“पर्यटनको यत्तिका सम्भावना हुँदा हुँदै पनि मयुङको विकासमा राज्यको ध्यान पुग्न सकेको छैन”–उहाँले भन्नुभयो, “यसको विकास गर्न सकेमा जिल्लाको मात्र नभई देशकै आर्थिक विकासमा सघाउ पुग्छ ।”

मेलामा खोटाङका विभिन्न गाविस, छिमेकी भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, विराटनगर र धरान लगायतबाट पर्यटक आउने गरेको राईले बताउनुभयो । उहाँका अनुसार मेलामा आउने कतिपय मानिस चांैरी तथा गाईगोठमा बास बस्ने गरेका छन् ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने मयुङ आसपास अन्य विभिन्न मनोरम दृश्य अवलोकन गर्न सकिने डाँडा समेत छन् । मयुङ नजिक रहेका चिलिमढुङ्गा, लौरेथुम, रावाधाप, रमिते लगायत डुल्न र अन्य ठाउँको दृश्य अवलोकन गर्न सकिने ठाउँ हुन् ।

बाह्रै महिना हरियाली देख्न सकिने मयुङमा बिखुमा, पाखनभेद, पदमचाल, भैरुङपाती, चिराइतोलगायत बहुमूल्य जडीबुटी पाइन्छ । मयुङमा पाइने जडीबुटी बाहिर जिल्ला तथा अन्यत्र निकासी गर्न सकेमा जिल्लाको आर्थिक उन्नतिमा सघाउ पुग्ने स्थानीयवासी धनकुमार राईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु