Sunday, 27 May 2018 05:25 am, Nepal

दुर्गमका विद्यार्थी कम्प्युटर नै नदेखी कम्प्युटर शिक्षा पढ्दै !

मेचीकाली : 2015-07-09 17:17:44


प्यूठान-

जिल्लाका सबै विद्यालयले निम्नमाध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गराएपछि विद्युतीकरण नभएका यहाँका दुर्गम भेगका विद्यार्थी कम्प्युटर नै नदेखी कम्प्युटर शिक्षा पढ्न बाध्य भएका छन् । जिल्लामा दुई वर्ष पहिले कक्षा ६ देखि कम्प्युटर शिक्षा अनिवार्य लागू भएपनि लिघा, डामृ, खवाङ, स्वाउलिवाङ, कोचिवाङ, अर्खा र रजवाराका विद्यार्थीहरु कम्प्युटर नै नदेखी कम्प्युटर शिक्षा पढ्न बाध्य भएका हुन् ।

जिल्ला शिक्षा कार्यालयले विद्यालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेपछि कम्प्युटर खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ ।अहिले दुर्गम क्षेत्रहरुमा ऊर्जाको राम्रो व्यवस्था नहुँदा शिक्षा कार्यालय र दातृ निकायले विद्यालयमा दिएका कम्प्युटर प्रयोगविहीन भएका छन् ।कम्प्युटर प्रयोगमा नआएपछि विद्यार्थी कम्प्युटरबिना नै कम्प्युटर शिक्षा पढ्न बाध्य भएको अन्धानसक मावि, लिघाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनहादुर बुढाले बताउनुभयो ।

“दुर्गम क्षेत्रको जिल्लामा पहुँच नहुँदा हालसम्म विद्युतीकरण भएको छैन,” अध्यक्ष बुढाले भन्नुभयो –“विद्युत् पनि नहुनु र वैकल्पिक ऊर्जा पनि नहुँदा विद्यालयमा रहेका कम्प्युटर प्रयोग हुन सकेका छैनन् ।”व्यावसायिक शिक्षा भन्दै दुर्गमको विद्यालयमा कम्प्युटर शिक्षा पढाउन सुरु गरे पनि ऊर्जाको राम्रो व्यवस्था नहुँदा विद्यालयमा रहेका सबै कम्प्युटर प्रयोगविहीन भएको विद्यालयका प्रधानाध्यापक नेपालसिंह पुरीले बताउनुभयो । “विद्यालयको कक्षा ६, ७ र ८ मा अहिले अनिवार्यरुपमा कम्प्युटर शिक्षा पढाइ हुने गरेको छ ।” प्रअ पुरीले भन्नुभयो – “हामीले चाहेर पनि कम्प्युटर प्रयोग गर्न सकेका छैनौँ ।” विद्यालयको आर्थिकस्रोत राम्रो नहँुदा विद्यालयले वैकल्पिक ऊर्जाको व्यवस्था गर्न नसकेको विद्यालयले जनाएको छ ।

विद्यालयमा कक्षा ६ मा ४०, ७ मा ५८ र ८ मा ४५ जना विद्यार्थीले कम्प्युटर शिक्षा पढ्ने गरेपनि ५० प्रतिशतसम्म पनि विद्यार्थी कम्प्युटर विषयमा पास नहुने गरेको विद्यालयमा कम्प्युटर शिक्षा पढाउँदै आउनुभएका विषय शिक्षक हर्कमान केसीले बताउनुभयो ।

“प्रयोग गर्दै, पढ्दै गर्नुपर्ने विषय भएपनि कम्प्युटर प्रयोग नगरी पढ्दा विद्यार्थीले पढाएको कुरा चाँडो भुल्ने गरेका छन् ।” विषय शिक्षक केसीले भन्नुभयो – “केही विद्यार्थीले त हालसम्म कम्प्युटरसम्म पनि देखेका छैनन् । त्यस्तो अवस्थामा कसरी बुझ्छन् ?” विद्यार्थीहरु अन्य विषयमा राम्रो भए पनि कम्प्युटर विषयमा कमजोर हुने गरेको विद्यालयले जनाएको छ ।

अहिले कक्षा ६ बाट ७ तथा ७ बाट ८ मा पास भएर गएका अधिकांश विद्यार्थी कम्प्युटर विषयमा फेल भएको विद्यालयका विद्यार्थी केशुलाल बुढाले बताउनुभयो । दुई वर्ष पहिला जिल्लाका निम्नमाध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू भएपछि जिल्ला शिक्षा कार्यालयले लगातार जिल्लाका विद्यालयलाई कम्प्युटरमा अनुदान दिने गरेको छ ।

शिक्षा कार्यालयले कम्प्युटर ल्याब कक्षा, ऊर्जाको व्यवस्था भएपछि मात्रै कम्प्युटर दिने गरेको भन्दै जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले विद्युतीकरण नभएका र ऊर्जा अभाव रहेका विद्यालयलाई प्रत्यक्ष सहयोग गर्ने कार्यक्रमहरु नभएको बताउनुभयो ।

कम्प्युटरबिना विद्यार्थीले कम्प्युटर शिक्षा अध्ययन गर्दा नतिजा कमजोर आउने र विद्यार्थीले भुल्ने समस्या अत्यधिक रहेको छ । विद्यालयमा वैकल्पिक ऊर्जाका लागि शिक्षाले विभिन्न निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने शिक्षा अधिकारी भट्टराईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु