Wednesday, 25 April 2018 12:10 am, Nepal

यार्सागुम्बा टिप्न गएपछि गाउँघर सुनसान

मेचीकाली : 2015-05-28 16:57:02


मुगु, १४ जेठ :

यार्सागुम्बा सङ्कलन गर्ने याम सुरु भएसंगै मुगु जिल्लाका बस्ती सुनसान हुन थालेका छन् । विगतका वर्षझैँ गाविस, जिविसले प्रवेशाज्ञा दिने र शुल्क लिएर निश्चित समयका लागि सङ्कलकलाई पाटनमा छोड्ने गर्ने गरेको भए पनि यो वर्ष जिविसले जेठ २२ बाट मात्र प्रवेश गर्न सूचना गरेको छ । तर यार्सागुम्बा पाइने गाविसका जनता आफूखुसी पाटन क्षेत्रमा प्रवेश गर्न सुरु गरेका छन् ।

गत वर्षमा यार्सा सङ्कलन गर्न जाने प्रवेश क्षेत्र सिरानी चौरमा सरकारी निकायले प्रवेश शुल्क लिने गरेको थियो । यो वर्ष त्यहाँ सरकारी निकायको उपस्थिति नभएपछि उनीहरु बिनाशुल्क सङ्कलन क्षेत्रतर्फ जान थालेका हुन् । जेठ १५ र २० गतेबाट वन पस्ने पुरानो चलनलाई तोड्दै सङ्कलक जान थालेपछि गाउँघर सुनसान हुन थालेका हुन् ।

गाउँघरका १२ वर्षदेखि माथि र ६० वर्षदेखि तलका सबै मानिस पाटनतिर गएपछि गाउँमा वृद्घ, काखेबच्चा भएका महिला मात्र छन् । “सबै कीरा टिप्न निस्केकाले गाउँ सुनसान छन् गाउँमा कसैको मृत्यु भइहाले छ भने पनि शव उठाउनेसम्म मानिस छैनन्” पाटनतिर जान लागेका रोवा गाविस सोभा गाउँका मैनादल बुढा भन्छन् । यार्सा टिप्न आउने अन्य जिल्लाका बस्ती पनि यो याममा खाली हुने गरेका छन् ।

जुम्ला गज्याङकोट गाउँका रामसिङ बुढा आफ्नो गाउँका मात्र मुगुमा यार्सा टिप्नका लागि ७०० बढी आएको बताउँछन् । “एक महिनाको कमाइले अन्य कामको एक वर्षबराबरको आम्दानी हुन्छ” उहाँले भन्नुभयो । यो बेला गाउँमा वृद्घ, बालबालिका तथा दुधेबच्चा र आमाहरु मात्र रहेका छन् । मुगुमा यार्सा टिप्न कर्णालीका पाँच जिल्लाका अलावा बाजुरा, सुर्खेत, अछाम, दैलेख, जाजरकोट, बाँके, सिन्धुपाल्चोक, धादिङ, डोटी, बैतडी, मुस्ताङ, मनाङ, कास्की, डडेलधुराबाट समेत सर्वसाधारण आउने गरेका छन् ।

अहिले दिनहुँजसो यार्सा टिप्न जानेको लस्कर बाटोमा देखिने गरेको छ । सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा बर्सेनि यार्सा लुटिने, सङ्कलकबीच झगडा हुने, हतियारधारी समूहले त्रास देखाउने गरेका छन् । प्रतिकार कसैले गरे ज्यान गुमाउनुपर्ने अवस्था हुन्छ ।

यार्सा पाइने क्षेत्र मुगु तथा डोल्फु गाविसका सचिव मकरबहादुर रावलका अनुसार जिविसको निर्णय उल्लङ्घन गरेर ठूलो सङ्ख्यामा सङ्कलक वन प्रवेश गर्ने गरेका छन् । समयभन्दा २० दिनअगावै पाटन क्षेत्रमा गएकाले शुल्क उठाउन समस्या भएको उहाँले बताउनुभयो । प्रहरी, सशस्त्र प्रहरी तथा मुगु र डोल्फु गाउँका युवा परिचालन गरी चोर सङ्कलकलाई नियन्त्रणमा लिने र जरिवान तिराउने उहाँको भनाइ छ । “वन क्षेत्रमा प्रहरी र युवा परिचालित गरेका छौँ” उहाँले भन्नुभयो ।

वनमा प्रवेशका लागि रसिद प्रयोग गर्न जिविसले निर्देशन दिए पनि मुगु र डोल्फु गाउँका बासिन्दाले गाविसको मात्र प्रवेश रसिद प्रयोग गर्न सङ्कलकलाई दबाब दिइरहेका छन् । “कुन रसिद प्रयोग गर्ने भनेर अन्योल छ” सचिव रावलले भन्नुभयो । गाविसको रसिद प्रयोग नगरे सङ्कलकलाई बिनाशुल्क वनमा छाड्ने र सरकारी टोलीलाई कुनै किसिमको सहयोग नगर्ने स्थानीयवासीले दबाब दिइरहेका छन् ।

गत वर्ष यार्सा सङ्कलन गर्न २० हजारभन्दा बढी मानिस पाटनमा पुगेका थिए । प्रवेश शुल्कबाट एक करोडभन्दा बढी रुपैयाँ उठेको थियो । यार्सा जेठदेखि असार मसान्तसम्म सङ्कलन गरिन्छ । एक किलो पुग्न तीन हजार ५०० देखि चार हजार २०० वटासम्म यार्सा पुग्नुपर्छ । यार्सालाई व्यापारी ए, बी र सी श्रेणीमा विभाजन गरी किनबेच गर्ने गर्दछन् । व्यापारीका अनुसार पाटन क्षेत्रमा ए, बी र सी गुणस्तरका यार्साको मूल्य क्रमशः प्रतिगोटा रु ७००, ४०० र ३५० पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु