Tuesday, 26 September 2017 12:36 am, Nepal

बूढीगण्डकी आयोजना प्रभावितका लागि चक्रपथ बनाइने

मेचीकाली : 2015-03-22 17:28:10


काठमाडौँ, ८ चैत :

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयवासीलाई बसोबासका लागि एकीकृत रूपमा नयाँ बस्ती निर्माण गरिने भएको छ । जलाशययुक्त आयोजनाका कारण धादिङ र गोरखाका ४५ हजार जनता प्रभावित हुने भएपछि नयाँ बस्ती निर्माण गर्न लागिएको हो ।

    आयोजनाको बाँध २६३ मिटर अग्लो हुने भएकाले त्यसबाट थातथलो छोड्नुपर्ने स्थानीयवासीलाई राख्न दुवै जिल्लामा प्रभावित क्षेत्रभन्दा ३०० मिटर माथि चक्रपथ निर्माण गरी स्थानीयवासीलाई राख्ने योजना रहेको छ । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले चक्रपथ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन सुरु गरेको छ । समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले केही दिनभित्रै सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट गरिने बताउनुभयो ।

    परियोजनाबाट गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरु अर्बाङ सबैभन्दा बढी प्रभावित हुने छन् । धादिङको सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मारपाक, मूलपानी, बसेरी र बुढाथुम गाविसको महत्वपूर्ण धान खेत तथा टारहरू पानीमुनि पर्नेछ ।

    भीमसेन थापाको बगैँचा, पुथ्वीनारायण शाहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास, भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग, धादिङ र गोरखाको प्रमुख व्यापारिक क्षेत्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछ ।  आयोजनाले प्रभावितलाई सेयर र घरजग्गाको उचित मुआब्जा दिने बताएको छ । स्थानीय राजनीतिक दलले भने ५० प्रतिशत मुआब्जा र ५० प्रतिशत सेयर दिन माग गरेका छन् ।

    बूढीगण्डकी जलविद्युत् आयोजनाका सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालका अनुसार आफ्नो थातथलो छाड्नु परे पनि उचित क्षतिपूर्ति पाए सबैले सहयोग गर्नेछन् । आयोजनाको ताल हालको फेवाताल भन्दा चौध गुणा ठूलो हुने र करिब ४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलने हुनाले पर्यटन क्षेत्रका रूपमा समेत विकास हुनेछ । भारतको उत्तराञ्चलमा रहेको टिहरी बाँधभन्दा दुई मिटर अग्लो बाँध बन्ने भएकाले आयोजनाले केही प्रभावितलाई अध्ययन भ्रमण गराउने तयारीसमेत गरेको छ । बूढीगण्डकी आयोजनाका कारण निर्माण हुने तालमा माछापालन, जलविहार गर्न मिल्ने भएकाले आवश्यक योजना बनाइने समितिका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

    धादिङका सभासद् राजेन्द्रप्रसाद पाण्डे आयोजनालाई सफल बनाउन जग्गाको नापजाँच, मुआब्जा, पुनः स्थापना र पुनर्बासलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुहुन्छ । आयोजनाले हाल सडक निर्माणको काम सुरु गरिसकेको छ । पुथ्वीराजमार्गको बेनीघाटदेखि गोरखाको आरुघाटसम्म कुल ४८ किलोमिटर सडकको ट्र्याक खुलेर यातायात सञ्चालनमा आए पनि त्यसको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने काम सुरु भएको आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतको भनाइ छ । आयोजनाको क्याम्प निर्माणका लागि स्थानीय घ्यालचोक सियरेनीटारमा जग्गाधनीले जग्गा दिन मञ्जुर गरिसकेका कारण गोरखाका मातपोत अधिकृतको अध्यक्षतामा मूल्य निर्धारण समिति गठन भइसकेको छ । आयोजनाको क्याम्प निर्माण भएपछि सहज रूपमा चक्रपथ निर्माणका लागि आवश्यक अध्ययन गर्नसमेत सहज हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु