Friday, 22 September 2017 05:37 pm, Nepal

दिनहुँ पाँच सय तिरेर एसएलसी दिँदै विद्यार्थी

मेचीकाली : 2015-03-22 14:06:34


गोरखा , ८ चैत :

  दिनहुँ रु पाँच सय तिरेर गोरखाको चारवटा विद्यालयका विद्यार्थीले मनकामना उमावि परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिँदै आएका छन् । घ्याल्चोकको ज्ञानमार्ग उमाविका ९२ जना विद्यार्थी, महेन्द्रशक्ति उमावि बक्राङका ४६ जना, सिञ्जाली मावि ताक्लुङका २५ जना र बक्केश्वर माविका २४ जना विद्यार्थीले प्रतिव्यक्ति रु ५०० तिरेर परीक्षामा सहभागी भएका हुन् ।

मनकामना बजारको होटलमा खाना, खाजा र आवाससहितको दैनिक शुल्क रु ५०० तिरेर विद्यार्थी एसएलसी परीक्षामा सहभागी भइरहेको केन्द्राध्यक्ष अरविन्दकुमार मिश्रले बताउनुभयो । ‘होम सेन्टर’ नहुँदा बर्सेनि यहाँका विद्यार्थीले चर्को मूल्य तिरेर एसएलसी परीक्षामा सहभागी हुनुपर्ने बाध्यता रहँदै आएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामना मन्दिर वरपरका होटलका कोठा भाडामा लिएर विद्यार्थीहरु एसएलसी परीक्षामा सहभागी भएका हुन् ।

मनकामनाका होटल व्यवसायीले भक्तजन, अन्य ग्राहकलाई भन्दा कम शुल्कमा विद्यार्थीलाई होटलमा बास दिएको जनाएका छन् । गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना एकाइ र परीक्षा सञ्चालन सहयोग समितिबीच भएको छलफलले यस वर्ष रु ५०० तिर्नेगरी होटलमा बिहान बेलुकी खाना, दिउँसो खाजासहित आवासको सुविधा मिलाएको होटल व्यवसायी नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

“कम शुल्कमा विद्यार्थीलाई आवाससहित सुविधा दिएका छौँ,” उहाँले भन्नुभयो– “मनकामनाका करिब ३० होटलमा विद्यार्थी बसेका छन् ।” गत वर्ष रु ४५० तिरेर विद्यार्थीले एसएलसी दिएका थिए । परीक्षामा ९२ जना छात्रा र ९५ छात्र सहभागी छन् ।

त्यस्तै, जिल्लामै पहिलोपटक प्राविधिक पढाइ हुँदै आएको ज्ञानमार्ग उमावि घ्याल्चोकका ३२ जना विद्यार्थी पनि एसएलसी परीक्षामा सहभागी छन् । प्राविधिक शिक्षा पढेका विद्यार्थीको परीक्षा चैत १६ गतेसम्म चल्नेछ ।

“साधारण एसएलसी दिने विद्यार्थीभन्दा प्राविधिक पढेका विद्यार्थीलाई खर्च बढी लाग्ने देखियो,” मनकामना उमाविका शिक्षक जनक अधिकारीले भन्नुभयो– “प्राविधिक पढेका विद्यार्थी १६ गतेसम्म होटलमा बस्नुपर्छ ।” आर्थिक हिसाबले निम्नस्तरका विद्यार्थीले ऋण खोजेर होटलमा बसी परीक्षामा सहभागी हुनुपरेको गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु