Sunday, 24 September 2017 02:34 pm, Nepal

राजनीतिक विवादमा तानिएको सानो देश मालद्वीप

रासस : 2015-03-21 14:21:02


काठमाडौँ, ७ चैत :

दक्षिण एसियाको सानो एवम् शान्तिपूर्ण मानिने राष्ट्र मालद्वीप यतिखेर राजनीतिक विवादमा तानिएको छ । त्यहांका पूर्व राष्ट्रपतिलाई १३ वर्षको जेल सजाय सुनाइएको समाचारले दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय जगतमा नै निकै चर्चा पाएको छ ।

मालद्वीपको एक फौजदारी अदालतले आतङ्कवादीको आरोप लगाउँदै प्रजातान्त्रिक दलका नेता र पूर्व राष्ट्रपति मोहमद नसिदलाई १३ वर्ष कारावासको सजाय सुनाएको छ । यसलाई उहाँ र समग्र मालद्वीपका प्रजातान्त्रिक जनताले राजनीतिक रूपमा प्रेरित निर्णय भनेका छन् । पूर्व राष्ट्रपतिलाई दिइएको यो जेल सजायप्रति विश्वव्यापी रूपमा चासो बढेको छ । अदालतको उक्त विवादास्पद निर्णयप्रति संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र दक्षिण एसियाको शक्तिराष्ट्र भारतले पनि चासो व्यक्त गरेका छन् ।

साथै, मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्च आयोग, विश्व मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल जस्ता निकायले वर्तमान सरकारले हतारमा कुनियतबस प्रतिशोध लिन खोजेकोे र आतङ्कवादी क्रियाकलापमा लागेको भनी अन्तर्राष्ट्रिय कानूनको प्रतिकूल जबर्जस्ती नसिदलाई फसाउन खोजेको प्रतिक्रिया दिएका छन् । उहाँलाई वर्तमान सरकारले आतङ्कवादी क्रियाकलापलाई समर्थन गरेको आरोपमा विगतदेखि नै थुनामा राखेको थियो । तर आफूमाथिका कुनै पनि आरोप सत्य नरहेको भन्दै उहाँले त्यसको खण्डन गर्दै आउनुभएको थियो ।

पूर्व राष्ट्रपति मोहमद नसिद सन् २००८ को नोभेम्बरमा मालदिभिएन डेमोक्र्याटिक पार्टीको तर्फबाट निर्वाचन जितेर पहिलो प्रजातान्त्रिक राष्ट्रपति बत्र सफल हुनुभएको थियो । सन् १९६५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भई सार्वभौमिकता सम्पन्न मालद्वीपमा यसलाई नै पहिलो प्रजातान्त्रिक निर्वाचन मानिएको थियो । मानवअधिकारबादी र स्वच्छ पत्रकारको छवि बनाइसकेका राजनीतिकर्मी नसिद पूर्व राष्ट्रपति मोमुन अब्दुल गैयुमलाई परास्त गरी सत्तामा आउनुभएको थियो । पूर्व राष्ट्रपति गैयुमले सातौँ कार्यकालसम्म गरी सन् १९७८ देखि २००८ सम्म अर्थात् त्यहाँ बिगत तीन दशकसम्म एकछत्र शासन चलाउनुभएको थियो । पछिल्ला वर्षमा गैयुम शासनलाई निरङ्कुश भएको आरोप लाग्दै आएको थियो । पछिल्लो निर्वाचनमा पनि गैयुम नै राष्ट्रपति पदको प्रत्यासी रहनु भएको र नसिदबाटै पराजित हुनुभएको थियो ।

गत मार्च १३ का दिनमा पूर्व राष्ट्रपति मोहमद नसिदलाई त्यहाँको फौजदारी अदालतले आतङ्कवादीको आरोप लगाउँदै १३ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको यस फैसलाको मालद्वीपमा जनस्तरमा व्यापक विरोध भएको र नसिदको पार्टीले यस निर्णयको विरोध गर्दै राजनीतिक प्रतिशोधका लागि अदालतलाई प्रयोग गरेको बताएको छ । नसिदको राजनीतिक दल मालदिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले यो एक राजनीतिक प्रतिशोधबाहेक अरु केही नभएको र यसले वर्तमान सरकारको कुनियत प्रष्ट देखिएको बताएको छ । वर्तमान राष्ट्रपति यामिन अब्दुल गैयुमको सरकारको हाल बढ्दो विरोध भइरहेको अवस्थाबीच पूर्व राष्ट्रपतिलाई १३ वर्षको जेल सजाय भएको छ । यस्तो निर्णयबाट नसिदलाई सन् २०१८ मा राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिनबाट वैधानिक रूपमा प्रतिबन्ध लगाउँछ ।

करिब बाह्र सय टापूले बनेको यस राष्ट्रमा दक्षिण एसियाली अन्य मुलुकहरूमध्ये प्रायः स्थिर राजनीति रहने गरेकोमा पछिल्ला केही वर्षयता अस्थिरता बढिरहेको पाईन्छ । पूर्व राष्ट्रपति नसिदलाई एक पटक सन् २०१२ मा र हालसालै पनि मालद्वीप सरकारले पक्राउ गरेर प्रतिशोध साँध्ने काम गरेकाले वर्तमान सरकारको यस्तो ज्यादतिले राजनीतिक अस्थिरता एवम् हिंसा बढाउनसक्ने चेतावनी विश्व समुदायले दिएको छ । नसिदसंग गरिएको यस्तो व्यवहार मुलुकले उपभोग गरिरहेको प्रजातन्त्रलाई नै साँघु¥याउने एक पड्यन्त्र भएको पनि उनीहरूले आरोप लगाएका छन् ।

सन् २०१२ मा मालद्वीपको उच्च न्यायालयका प्रमुख न्यायाधीश अब्दुल्लाह मोहम्मदलाई तत्कालिन राष्ट्रपति पदमा आसीन नसिदले पक्राउ गर्ने आदेश जारी गर्नु भएपछि सुरु भएको सरकार र न्यायालयबीचको चरम विवादले देशको शासनसत्ता नै उलटपुलट हुनेसम्मको रूप लिएको थियो । साधारणतया आन्दोलन एवम् विरोध प्रदर्शन कमै हुने गरेको शान्त राजधानी मालेको सडकमा मुलुकको राष्ट्रिय प्रहरी बल नै आन्दोलनमा उत्रियो । प्रहरीले नै राष्ट्रपति नसिदविरुद्ध नारावाजी र बन्दुक प्रदर्शन ग¥यो । यसले ठूलो रक्तपात ल्याउने सङ्केत देखिएपछि राष्ट्रपति नसिदले सन् २०१२ को फ्रेबुअरीमा राजीनामा दिनु भएको थियो । त्यस बखत उहाँको राजीनामाले देशमा ठूलो रक्तपात रोकेको उहाँको दल, समर्थक एवम् विश्व समुदायले विश्लेषण गरेका थिए ।

पदीय आचरणविरुद्ध काम गरेको आरोपमा राष्ट्रपति नसिदले प्रमुख न्यायाधीश अब्दुल्लाहलाई पक्राउ गर्न दिनुभएको आदेश नै अन्ततः विद्रोहको कारण बन्न गई उहाँका विरोधीहरू राष्ट्रपति र उहाँको दल मालदिभिएन डेमोक्र्याटिक पार्टीविरुद्ध खनिएका थिए । उहाँले देशमा सम्भावित रक्तपात रोक्न तथा प्रजातान्त्रिक परिवर्तनको जन चाहनालाई कदर गर्दै पदत्याग गरेको घोषणा गर्नु भएको थियो । त्यागी र जन निर्वाचित पहिलो प्रजातान्त्रिक नेता नसिदले आफूलाई प्रतिपक्षीले बन्दुकको घेरामा पारेर राजीनामा गर्न बाध्य बनाएको भनी पछि टिप्पणी गर्नुभएको थियो ।

नसिदले राजीनामा दिएकै दिन तत्कालिन उपराष्ट्रपति मोहम्मद वाहिद हसनलाई राष्ट्रपति पदमा नियुक्त गरिएको र हसन राष्ट्रपति बनेको केही समयमै मुख्य न्यायाधीश मोहमदमाथि पहिला चलाइएको कारबाही पनि फिर्ता लिइएकाले घटनाको केहीपछि हसनकै षडयन्त्रबाट राष्ट्रपति नसिद सङ्कटको भुमरीमा फस्नु भएको आरोप लगाइएको थियो । त्यस बखत नसिदलाई पदबाट हटाउनमा गैयुमको तीन दशक लामो शासनको प्रभावले पनि अहम् भूमिका निभाएको अनुमान गरिएको थियो ।

सामान्य परिवारमा हुर्किएर सङ्घर्ष गर्दै प्रजातान्त्रिक दल खोलेर प्रजातन्त्रकै वकालत गर्दै आउनुभएका नसिदले पछिल्लो निर्वाचनमा विजय हासिल गरेको बहुसङ्ख्यक सम्भ्रान्तबर्गलाई चित्त बुझेको थिएन । मुलुकमा पहिलोपटक सम्पत्र प्रजातान्त्रिक निर्वाचनबाट निर्वाचित राष्ट्रपतिलाई कार्यकाल पूरा गर्न नदिई प्रहरीलाई सडकमा उतारेर सत्ताच्युत गराउनुमा त्यही निरङ्कुश शासन र समर्थकको हात रहेको अनुमान धेरैको छ ।

करिब तीन सय वर्ग किलोमिटर मात्र क्षेत्रफल रहेको दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र मालद्वीपको अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन हो । हिन्द महासागरमा रहेको यो देश पर्यटन आकर्षणको रूपमा रहेको छ । मधुमास मनाउन जाने विश्वका सम्भ्रान्त जोडीका लागि यहाँका होटल र रिसोर्ट प्रख्यात छन् । मत्स्यपालन यहाँको पर्यटनपछिको दोस्रो ठूलो आयको माध्यम हो । करिब चार लाख जनसङ्ख्या रहेको मालद्वीपका एकलाख नागरिक त राजधानी मालेमा मात्र बस्छन् ।

शान्त, स्थिर र निश्चल वातावरणमा मात्र पर्यटन उद्योग चल्न, फस्टाउन सक्छ । सामुद्रिक पर्यटन उद्योग तथा होटल व्यवसाय नै राष्ट्रिय अर्थतन्त्रको प्रमुख श्रोत र बहसङ्ख्यक देशबासीको पेशा रहेको यस देशमा लामो समयसम्म राजनीतिक अस्थिरता बढेमा वा देशको छवि बिग्रिएमा अर्थतन्त्र नै धरापमा पर्न जाने सम्भावना रहन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु