Sunday, 24 September 2017 12:20 pm, Nepal

तेजाबपीडित : अस्पतालमा परीक्षा दिँदा पनि आत्मविश्वास उस्तै

मेचीकाली : 2015-03-19 17:29:30


सुशील दर्नाल
काठमाडौँ, ५ चैत :

सामान्यतः अस्पतालको उपचार कक्षमा बिरामी रहनु स्वाभाविक हो । सङ्गीता मगर र सीमा बस्नेतचाहिँ बिरामीमात्र होइन, उपचारकक्षमै परीक्षार्थी पनि बनेका छन् ।  परीक्षाको तयारीका क्रममा ट्युसन सेन्टरमा पढ्न जाँदा गत महिना सङ्गीता र सीमाले अज्ञात व्यक्तिबाट अचानक तेजाब (एसिड) प्रहारको सिकार हुनुपरेपछि उपचारस्थलमै परीक्षा दिनुपरेको हो ।

आजबाट प्रारम्भ भएको यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा उहाँहरू दुईजना मात्र यस्ता परीक्षार्थी हुनुहुन्छ, जसका लागि मन्त्रिपरिषद्को फागुन २९ गतेको बैठकको निर्णयका आधारमा अलग–अलग परीक्षा केन्द्र तोकिएको छ । सम्भवतः प्रवेशिका परीक्षाकै आठ दशकको इतिहासमै यो पहिलो घटना हो ।

उहाँहरू स्वस्थ्य भएको भए अन्य परीक्षार्थीसँगै नियमित परीक्षा केन्द्रमा परीक्षा दिनुपर्ने थियो तर घाइते अवस्थामा पनि परीक्षा दिने चाहना र आँटलाई सरकारले सम्बोधन गरेपछि सङ्गीताले त मेडिकल कलेज पब्लिक लिमिटेडबाट उपचारकक्षमा सहयोगी राखेर आजको अङ्ग्रेजी विषयको परीक्षा दिनुभयो । सीमाले चाहिँ वीर अस्पतालमा आफैँ परीक्षा दिनुभयो ।

उहाँहरूका लागि क्रमशः बागबजारस्थित पद्मकन्या क्याम्पस र सीनामङ्गलस्थित गुह्ेश्वरी माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको थियो । परीक्षापछि सीमाले यदि आफू घाइते नभएको भए पहिलो श्रेणीमा उत्तीर्ण हुने थिएँ भन्दै अहिलेको अवस्थामा पनि उत्तीर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “तेजाब आक्रमण हुनुभन्दा पहिले परीक्षा राम्रो गर्छु भन्ने आशामा थिएँ, त्यस्तो घटनापछि तनाब त भयो तर पास हुन्छु होला”, उहाँले भन्नुभयो ।

परीक्षामा तोकिएको समयमा सीमाका लागि १० मिनेट थपिएको थियो । हातले लेख्न मिल्ने हुँदा आफैँले परीक्षा दिएकी सीमाले सरकार, सञ्चारमाध्यम र आफन्तको सहयोग र हौसलाका कारण परीक्षा दिन पाएको बताउनुभयो । उहाँको परीक्षास्थलमा पुगी शिक्षा मन्त्री चित्रलेखा यादवले पनि भेट गरी हौसला दिनुभएको थियो ।

यता सङ्गीताले शान्ति निकुञ्ज माविमा कक्षा ९ का सनम लामाको सहयोगमा परीक्षा दिनुभयो । उहाँलाई भेट्न आज बिहान काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालगायतका व्यक्तिहरू अस्पताल पुग्नुभएको थियो । सङ्गीताका पिता प्रेमबहादुर मगरका अनुसार सङ्गीतालाई अझै महिना दिनजति अस्पतालमै राख्नुपर्ने छ ।  

सङ्गीता र सीमाको तत्काल गर्नुपर्ने शल्यक्रिया र विशेष उपचारका कार्य सबै विषयको परीक्षापछि गरिने भएको छ । गत फागुन १० गते राजधानीको वसन्तपुरमा अपरिचित व्यक्तिले प्रवेशिका परीक्षाका तयारीका लागि पढिरहेका सङ्गीता सीमामाथि तेजाब प्रहार गरेका थिए ।

घटना भएको महिना दिन हुन लाग्दा पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन नसकेको भन्दै प्रेमबहादुरले गुनासोसमेत गर्नुभयो । “सरकार र अन्य निकायले जतिसक्दो चाँडो दोषी पत्ता लगाएर कारबाही गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु