Tuesday, 26 September 2017 12:34 am, Nepal

चियाको बजारीकरण गर्न चिया बिक्री केन्द्र सञ्चालन गरिने

रासस : 2015-03-15 17:22:28


झापा, १ चैत :

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको बजारीकरण गर्न झापाको बिर्तामोडमा चिया बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ । सरकारले कृषि विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत अक्सन प्रक्रियाबाट चियाको बजारीकरण गर्न वैशाख दोस्रो सातादेखि अक्सन सेन्टर सञ्चालन गर्न लागेको क्षेत्रीय कार्यालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

    रु चार करोडको लागतमा निर्माण हुन लागेको अक्सन सेन्टर सञ्चालन गर्न निर्देशिका तयार गर्ने, घर भाडामा लिनेलगायत पूर्वाधारको काम सकिएको उहाँले बताउनुभयो । “अक्सन सेन्टरमा स्वदेशमा उत्पादित चिया बिक्रीका लागि राखिनेछ” अधिकारीले भन्नुभयो । स्वदेशी तथा विदेशी खरिदकर्ताले चियाको गुणस्तर परीक्षण गरेर स्वयम् मूल्य निर्धारण गरी चिया खरिद गर्न सक्ने व्यवस्था सेन्टरले प्रदान गर्ने उहाँको भनाइ छ ।

    सार्वजनिक खरिद बिक्री प्रक्रिया (अक्सन) सञ्चालनमा आएपछि नेपाली चियाको बजारीकरण स्वस्थ हुने अधिकारीको भनाइ छ । “तयारी चिया बिक्रीका लागि अहिले उत्पादक–उत्पादकबीच अस्वस्थ प्रतिस्पर्धा छ”, उहाँले भन्नुभयो, “अक्सन प्रक्रियामा गएपछि सबै कुरा पारदर्शी हुने हुनाले चिया क्षेत्रका धेरै समस्या समाधान हुन्छ ।”

    अक्सन सेन्टर सञ्चालनमा आएपछि चिया किसान र ठूला चिया उद्योमीबीचको वर्षौंदेखिको हरियो पत्तीको मूल्य विवाद समाधान भई विश्वासको वातावरण सिर्जना हुने अधिकारीको भनाइ छ ।     विसं १९२० मा इलामबाट सुरु भएको चियाखेती अहिले देशकै महत्त्वपूर्ण कृषिजन्य उद्योगका रूपमा स्थापित भएको छ । झापा, इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा गरी १९ हजार २७१ हेक्टर जमिनमा चियाखेती भइरहेको चिया तथा कफी विकास बोर्डको तथ्याङ्कले देखाएको छ ।

    तराईमा एक करोड ८० लाख ४५ हजार ४५१ किलो सिटिसी चिया र पहाडमा ३३ लाख ५९ हजार १२८ किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । बोर्डकै तथ्याङ्कअनुसार उत्पादित सिटिसी चियाको करिब ४० प्रतिशत र अर्थोडक्स चियाको १० प्रतिशतमात्र स्वदेशमा खपत हुन्छ । बाँकी चिया विदेशी बजारमा बिक्री गर्नुपर्ने अवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु