Tuesday, 26 September 2017 11:57 pm, Nepal

नेपाली सिनेमाको आयु घट्दै

मेचीकाली : 2015-03-12 14:37:59


कास्की-

नेपाली सिनेमाको आयु नै एक हप्तामा खुम्चिएको छ । बजारले थेग्न सक्नेभन्दा बढी सिनेमा बन्न थालेपछि यो अवस्था आएको हो । चल्तीका कलाकार गजित विष्टका अनुसार अहिले हप्तामा सरदर दुईवटा सिनेमा नेपाली सिने बजारमा आउने गर्छन् । चाडबाडमा त्यो सङ्ख्या चारसम्म पुग्छ । एउटा नेपाली सिनेमा सरदर रु ५० लाखको लागतमा निर्माण हुन्छ ।

“एउटा सिनेमा चल्दाचल्दै अर्को पनि त्यही बजारमा आएपछि नयाँले ठाउँ लिन्छ”, उहाँले भन्नुभयो– “आफैँभित्रको अस्वस्थ्य प्रतिष्पर्धाले गर्दा हलबाट पुरानो सिनेमा हट्छ र नयाँ चल्छ, यो प्रवृत्ति दोहोरिरहन्छ अनि निर्माता टाट पल्टन्छन् ।” नयाँ सिनेमा चलाउँदा बढी नाफा हुने भएपछि सिनेमा हल सञ्चालकले पनि चल्दै गरेको सिनेमालाई हलबाट हटाउने गरेको उहाँले गुनासो गर्नुभयो ।

उहाँको भनाइमा निर्माता मोहनकृष्ण श्रेष्ठले पनि समर्थन जनाउनुभयो । पोखराको विन्ध्यवासिनी सिनेमा हलमा आफूले निर्माण गरेको ‘पुनर्जन्म’ प्रदर्शन भइरहेका बेला उहाँले भन्नुभयो, “सिनेमा बन्ने क्रम बढ्यो, अर्को सिनेमा लाइनमा बस्दा सास हुँदै गरेको मान्छेलाई घाट पठाएजस्तै हलबाट सिनेमा उत्रने गरेका छन् ।”

आफ्नै लगानीमा छवटा सिनेमा निर्माण गरिसक्नुभएका उहाँले बढ्दो प्रतिस्पर्धाले नेपाली सिनेमाको आयु एकहप्तामा छोट्टिएको ठोकुवा गर्नुभयो ।

“यहाँ सिनेमा चल्नलार्ई काकताली पर्नुपर्छ”, उहाँले थप्नुभयो– “कुनै खालका हिन्दी सिनेमा आयो भने त झन चौपट ।” अर्का निर्देशक मदन घिमिरेले ‘लाइम लाइट’को आकर्षणले गर्दा नयाँ व्यक्ति रहरले निर्देशक, कलाकार, निर्माता बन्ने प्रवृत्तिले गर्दा धेरै सिनेमाको गुणस्तर खस्केकाले पनि नेपाली सिनेमा घाटामा जान थालेको तर्क गर्नुभयो ।

नेपाली सिनेमामा धेरैका ‘गडफादर’ मानिएका छवि ओझाले पनि गुणस्तर नै खस्केकाले नेपाली सिनेमाको आयु घटेको बताउनुभयो । श्रीकृष्ण श्रेष्ठ अभिनित कोहिनुर, रेखा थापा अभिनित हिम्मतवालीलगायत लज्जा, तथास्तु, जेरीलगायतका सिनेमा राम्रो भएकै कारण दर्शकले मन पराएको जिकिर गर्नुभयो ।

“सिनेमा बनाउनु भनेको मजाक होइन, लाखौँ खर्चेर घर बनाउँदा त कति हेरखोज गरिन्छ भने सिनेमा बनाउँदा पनि मेहनत गर्नैपर्छ”, उहाँले थप्नुभयो, “एउटा सिनेमा बनाउने अनि घाटा खायो भनेर कुलेलम ठोक्नेलाई दर्शकले पनि चिन्नुपर्छ ।”

पोखराको विन्ध्यवासिनी हलका सञ्चालक उत्तम द्धाका अनुसार अहिले नेपालका पोखरा, भक्तपुर, चितवनलगायतका क्षेत्रलाई स्टेसन मान्दा सरदर १४० वटा हलमात्र गन्तीका हल रहेका छन् । नेपालमा हप्तैपिच्छे प्रदर्शनका लागि तयार हुने सरदर दुईवटा सिनेमा यिनै हलले प्रदर्शन गर्छन् । आफूहरुले राम्रो सिनेमालाई बलजफती हलबाट हुत्याउने नगरेको बताउँदै उहाँले भन्नुभयो– “राम्रा सिनेमा चल्छन्, अहिले सिनेमाको गुणस्तर नै छैन कसरी चलोस् ?”

निर्देशक सजन श्रेष्ठले सिनेमा बनाउने होडबाजी चल्दा कतिपय राम्रा चलचित्र पनि छायाँमा पर्ने गरेको गुनासो गर्नुभयो । उहाँले नेपालमा ‘बक्स अफिस’ नियम लागू गर्ने हो भने हलबाट सिनेमा छिटो उत्रने र निर्मातालाई घाटा पर्ने प्रवृत्तिको अन्त्य हुने दाबी गर्नुभयो ।

‘बक्स अफिस’ भनेको सिनेमा लागू कुन हलमा कति टिकट बिक्री भयो भन्नेबारे निर्माताले घरमै बसेर थाहा पाउने अनलाइन सिस्टम हो ।

निर्माता छवि ओझाको विचारमा ‘बक्स अफिस’ प्रक्रिया केन्द्रबाटै लागू गर्नुपर्छ । सिनेमा चलेका बेला हलवालाले खायो भन्ने र नचलेका बेला चलाइदिन अनुरोध गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

हल सञ्चालक उत्तम द्धाले भने हलवालाले राम्रा सिनेमालाई हलबाट बलजफती निकाल्ने नगरेको बताउँदै आफूहरुले हिसाब किताब चुस्त दुरुस्त राख्ने गरेको जिकिर गर्नुभयो ।

उहाँका अनुसार अहिले मूल्य अभिवृद्धि कर, स्थानीय करसहितको १८ प्रतिशत कर कटाएर हल सञ्चालक र निर्माताले टिकट बिक्रीको आधाआधा रकम बाँड्ने गरिएको छ । गुणस्तरीय बने त्यो सिनेमा चल्ने र लगानी पनि उठ्ने उहाँको बुझाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु