Tuesday, 26 September 2017 02:56 pm, Nepal

श्रीमतीको हत्या गरेर जलाउने श्रीमानसहित दुईजना जेल चलान

मेचीकाली : 2015-02-27 17:58:43


खोटाङ, १५ फागुन :

श्रीमतीको हत्या गरेर जलाएको खुलासा भएपछि पक्राउ परेका श्रीमान्सहित जिल्लाका दुईजना कारागार चलान भएका छन् ।     श्रीमतीको हत्या गरेर जलाएको प्रहरी अनुसन्धानबाट खुलासा भएपछि पक्राउ परेका फेदी–४ का २४ वर्षीय श्रीमान् सुदीप राई र स्थानीय २७ वर्षीय दुर्गाधन राई पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

    जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको आदेशमा दुवै जनालाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो ।   गत माघ २ गते राति आगलागीमा परी मृत्यु भएको भनिएकी फेदी–४ की २२ वर्षीया सुष्मा राईको ‘हत्यापछि जलाइएको’ खुलासा भएपछि श्रीमान् सुदीप र दुर्गाधनलाई प्रहरीले माघ १८ गते नियन्त्रणमा लिएको थियो ।

        अपराध ढाकछोपका लागि सुदीपले श्रीमतीको हत्यापछि आफ्नै घरमा आगो लगाएर ‘जलेर मृत्यु भएको बताइएको’ स्वीकार गरेको प्रहरीले जनाएको छ ।   सुष्माको शव अगेनाको चुलोमा घोप्टो परेर डढेको अवस्थामा भेटिएपछि घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरीले सुदीपलाई नियन्त्रणमा लिएको थियो ।

    सुदीप घटनाभन्दा केही समयअघिमात्र विदेशबाट घर आएका थिए । मृतक सुष्माको पेटमा चार महिनाको गर्भ रहेको अस्पतालको शव परीक्षण गर्दा देखिएको प्रहरीले जनाएको छ ।    पेटमा रहेको गर्भको विषयमा विवाद भएपछि घटना घटेको स्थानीयको अनुमान छ । सुष्माको शव डढेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।    दुर्गाधनलाई भने सुष्मासँगको सम्बन्धका विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु