Wednesday, 20 September 2017 06:43 pm, Nepal

पुराना नाटकमा नयाँ स्वाद

मेचीकाली : 2015-02-11 13:52:09


अन्जली रम्तेल

  काठमाडौँका नाटकघरमा आजभोलि फेरि पुराना नाटकले आफ्नो प्रभाव देखाउन थालेका छन् ।अधिकांश नाटकघरमा अहिले पुराना लेखकद्वारा लिखित नाटकलाई केही परिमार्जन गरी पुनः मञ्चन गरिएको छ । नाटक पुराना भए पनि दर्शकको नाटकप्रतिको चाखमा भने झन् वृद्धि भएको अनुभव कलाकारहरुको छ ।

कालिकास्थानमा रहेको सर्वनाम नाटक घरमा अहिले ६६ वर्षअघि विजय मल्लले लेखेको ‘बहुलाकाजीको सपना’ मञ्चन भइरहेछ । यो नाटक अघिल्लो वर्ष पनि मञ्चन गरिएको थियो । कलाकार तथा निर्देशक राज शाह बढो रमाइलो मानेर तत्कालीन परिस्थितिका बारेमा जिज्ञासु भावले दर्शकले नाटक हेर्ने गरेको बताउनुहुन्छ ।

विसं. २०४६ पछि पहिलोपटक मञ्चन भएको बहुलाकाजीको सपनाले राम्रै दर्शक तानेको छ । चरम गरिबी र अभावबीच पनि शिक्षाको ज्योति फैलाउने क्रान्तिकारी पात्र हुन् बहुलाकाजी । सहरमा भारी बोकेर बल्लतल्ल गुजारा चलाउने भक्ते र मानेले बहुलाकाजीबाटै बच्चा पढाउने हौसला पाउँछन् ।

बहुलाकाजीको आग्रहमा नै वीरबहादुर पढ्न थाल्छ । पढाइमा अब्वल बन्छ । ऊ सबैको आशाको केन्द्र हुन्छ । तर सामान्य ज्वरोले थलिएर उपचार नपाउँदा सबैको आशाको किरण वीरबहादुर अस्ताएको कुरा यो वियोगान्त नाटकको कथामा छ । यो नाटक उच्चमाध्यमिक शिक्षा परिषद्अन्तर्गत कक्षा ११÷१२ को नेपाली विषयमा समावेश भएकाले पनि विद्यार्थीको आकर्षण यसमा बढी रहेको छ ।

केही समयअघि अनामनगरस्थित मण्डला थिएटरले लेखक मल्लकै ‘कोही किन बर्बाद होस्’ नामक नाटक मञ्चन गरेको थियो । कलाकार तथा निर्देशक सुनिल पोखरेलले लामो समयपछि सोही नाटकबाट आफूलाई पुनरागमन गरेका थिए ।

मल्लको सो नाटक २०१५ सालमा लेखिएको थियो । निर्देशक राजन खतिवडाका अनुसार सो नाटक हेर्नका लागि प्रायः परिवारका सदस्य आफ्ना छोराछोरीलाई लिएर आएका थिए । नाटकका निर्देशक शङ्कर रिजालले नाटक हेरिसकेपछि दर्शकले फरक र नयाँ कुरा थाहा पाएको प्रतिक्रिया दिएको बताउनुभयो । यसले आफूलाई अझ अन्य पुराना नाटकसमेत परिमार्जन गर्दै निर्देशन गर्ने हौसला प्रदान गरेको बताउनुभयो ।

बालबालिकामा प्रेम, मातृत्वले पार्ने प्रभाव र अभिभावकको दायित्वलाई नाटकमा प्रस्तुत गरिएको छ । कलाकार पोखरेल बोर्डिङ स्कुलको प्रिन्सिपलको भूमिकामा थिए । अभिनयमा उनी आदर्श शिक्षकको भूमिका निर्वाह गर्छन् ।

शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध कथाको मुख्य विषय छ । जसलाई फरक ढङ्गले बालबालिकामा मातृत्व प्रेमको प्रभावबारे नाटकमा प्रस्तुत गरिएको पोखरेल बताउँछन् । नाटक पुरानो भए पनि यसको कथा दर्शकमा नयाँ सोचको विकास गर्ने खालको भएको उहाँको भनाइ छ ।

सो नाटक हेरिसकेपछि आलोक भट्टले नाटकबाट शिक्षकले विद्यार्थीमाथि निर्वाह गर्नुपर्ने अभिभावकत्वबारे जानकारी मिलेको बताउनुभयो । “वास्तविक विषयवस्तुलाई मन छुने गरी नाटकमा प्रस्तुत गरिनुका साथै आदर्श शिक्षक र असल अभिभावकले विद्यार्थीको जीवनमा पर्ने सकारात्मक असरबारे नाटकमा देखाइएको छ”–उहाँले भन्नुभयो ।

यसैगरी लाजिम्पाटस्थित थिएटर भिलेजले पनि केही समयअघि ‘पीडा गीत’ नामक नाटक मञ्चन गरेको थियो । कलाकार तथा लेखक खगेन्द्र लामिछानेले लेख्नुभएको सो नाटकले द्वन्द्वकालको झझल्को दिन्छ ।

पहिलोपटक सात वर्षअगाडि गुरुकुलमा मञ्चन भएको ‘पीडा गीत’ थिएटर भिलेजमा दोस्रोपटक मञ्चन भएको हो । एक द्वन्द्वपीडितको कथामा आधारित पीडा गीतले तत्कालीन माओवादी विद्रोह र त्यसले स्थानीय जनजीवनमा पारेको असर देखाएको छ । कलाकार लामिछाने नाटकमा दलबहादुरको भूमिकामा छन् ।

द्वन्द्वमा छोराछोरी, श्रीमती र आफन्त मारिएर सहरमा भारी बोक्नका लागि छिरेका दलबहादुर विदेश हिँड्न लागेको एक युवकसँग भेट हुन्छ । आफूप्रति गरेको आत्मीय व्यवहारले दलबहादुर ती युवकलाई आफ्नो कथा सुनाउँछन् । नाटकमा लामिछानेको एकल भूमिका भए पनि उनका चोटिला संवादले दर्शकको मन खिचिरहेको हुन्छ । ‘पीडा गीत’ले द्वन्द्वको पीडा र वेदनालाई पुनः सम्झाएको छ ।

काठमाडौँमा अहिले पाँचवटा नाटकघर सञ्चालनमा रहेका छन् । जमलस्थित राष्ट्रिय नाचघरले पनि माघ १ गतेदेखि केही समयका लागि मञ्चन गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘मुनामदन’ गीति नाटकप्रति पनि निकै दर्शकहरु लोभिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु