Tuesday, 26 September 2017 11:09 am, Nepal

बिग्रिएर थन्किएपछि टोक्नु न बोक्नु भो भक्तपुरको दमकल

मेचीकाली : 2015-02-10 17:26:50


भक्तपुर, २७ माघ :

आगलागीका घटना अत्यधिक हुने मौसम सुरु भए पनि आगो निभाउन तयारी अवस्थामा रहनुपर्ने भक्तपुरका दमकल जीर्ण भई बिग्रिएपछि टोक्नु न बोक्नु भएको छ ।    विगतमा भक्तपुर जिल्लादेखि काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, तातोपानीसम्म आगो निभाउन जाने यहाँका दमकल अहिले भक्तपुरमै आगलागी हुँदा पनि आगो निभाउन जान नपाएपछि यहाँका जीर्ण दमकल कर्मचारीलाई भने टोक्नु न बोक्नु भएको हो ।

    भक्तपुरका पाँचवटा दमकलमध्ये चालु अवस्थामा रहेको एउटा दमकल पनि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगेपछि आगलागीस्थलमा जान नसक्ने अवस्था आएको जुद्ध वारुणयन्त्र भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“आगलागीको समय आयो, अब दमकललाई चुस्तदुरुस्त राख्नुपर्छ, तर यसले त आगलागी हुँदा टुलुटुलु हेर्नबाहेक केही गर्न सकिन्न, शनिबार राति बालकोटमा कपास कारखानामा लागेको आगो निभाउन पनि जान नपाएकोमा दुःख लागेको छ ।”

    विसं २००१ मा अमेरिकाबाट ल्याइएको मोडेस, विसं २०२२ मा ल्याइएको डेनिस, विसं २०३२ मा ल्याइएको बेलायती म्याग्रिस डज दमकल र बेड फोर्ट दमकल वर्षौंदेखि बिग्रिएर थन्किएका छन् । म्याग्रिस डज दमकल छ वर्षदेखि बिग्रेर थन्किएको छ भने मोडेस २०४८ सालदेखि र डेनिस भने २०५० सालदेखि थन्किएर जीर्ण बनेका छन् । बिग्रिएका मध्ये बेलायती म्याग्रिस दमकल भने बन्नसक्ने अवस्थामा रहेको छ, कार्यालयका प्रमुख धौभडेलले भन्नुभयो – “तीनवटा दमकल बन्नै नसक्ने अवस्थामा पुगिसके, जेनतेन चलिरहेको एउटा दमकल पनि मर्मतका लागि ग्यारेज पठाएका छाँै, बेलायती म्याग्रिस भने पर्याप्त मर्मत गर्न सके अझै चलाउन सकिन्छ ।”

    यसको मर्मतका लागि करिब रु १५ लाख खर्च लाग्ने बताउँदै उहाँले म्याग्रिस दमकलको पार्टपुर्जासमेत टुक्राटुक्रा पारिएको अवस्थामा रहेकाले इन्जिन नै परिवर्तन गरेर चलाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो – “भक्तपुरका दमकल जीर्ण भइसके, सरकारले बन्न सक्ने दमकलको मर्मत गरिदिए वा तत्काल अर्को नयाँ दमकल ल्याइदिए दुईवटा दमकल सञ्चालनमा ल्याउन सकिन्थ्यो, यसले सबैलाई राहत दिनसक्थ्यो ।”

    जहाँ आगलागी भए पनि पहिला भक्तपुरको दमकललाई खबर आउने दाबी गर्दै उहाँले शनिबार बालकोटमा भएको आगलागीमा पनि भक्तपुरमै खबर आएपछि काठमाडौ,ँ ललितपुरको दमकललाई भनिदिएको बताउनुभयो । मर्मतका लागि ग्यारेज पठाएको दमकल केही दिनभित्रै बनाएर आउने भए पनि पुरानो बनाइदिने या नयाँ दमकल थप गरिदिने प्रष्ट हुनुपर्ने उहाँले बताउनुभयो ।

    सरकारले २०६६ साल साउनमा दमकलको जिम्मेवारी स्थानीय निकायलाई दिने निर्णय गरेपछि ललितपुर र काठमाडौँका दमकल स्थानीय निकाय (नगरपालिका) ले लिएपनि यहाँको दमकल भने भक्तपुर नगरपालिकाले लिन नमानेपछि अहिले पनि गृह मन्त्रालयअन्तर्गत नै रहँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु