Sunday, 24 September 2017 02:34 pm, Nepal

मिटर पाउन घुस खुवाउनुपर्ने ग्राहकको गुनासो

मेचीकाली : 2014-12-18 15:56:39


भक्तपुर, ३ पुस :

नेपाल विद्युत् प्राधिकरण भक्तपुरअन्तर्गतका दुईवटा शाखामा मागअनुसारको मिटर नआएपछि मिटर जडान गर्न आर्थिक चलखेल हुने गरेको गुनासो बढेको छ । महिनौ कुर्दा पनि मिटर नपाएपछि प्राधिकरणभित्रैका केही कर्मचारीले नयाँ मिटर जडानमा पैसा माग्ने गरेको गुनासो बढेको हो ।

असोज पहिलो साता नयाँ घरमा मिटर जडान गर्न निवेदन दिएका झौखेलका रामकृष्ण श्रेष्ठले हरेक साता ताकेता गर्दा पनि मिटर नपाएपछि एक कर्मचारीलाई एक हजार दिएपछि बल्ल मिटर जडान गरिदिएको गुनासो गर्नुभयो । यस्ता गुनासो हरेक दिन बढ्ने गरेको प्राधिकरणकै कर्मचारी बताउँछन् । भक्तपुर र ठिमी शाखाका केही कर्मचारीले मिटरका लागि भौँतारिएका ग्राहकसँग छिटो मिटर जडान गर्न घुस माग्ने गरेको गुनासो सञ्चारकर्मीसम्म आइपुगेको छ ।

कात्तिकमा मिटर जडान गर्न शुल्क तिरिसके पनि मिटर नपाएपछि प्राधिकरण भक्तपुर शाखा पुगेका कटुञ्जेका शिवराम पौडेलले पालो कुर्दा मिटरको ठेगान नभएको भन्दै छिटो मिटर जडान गर्न घुस मागेको सञ्चारकर्मीलाई गुनासो गर्नुभयो ।प्राधिकरण भक्तपुर शाखाका प्रमुख इन्जिनियर लखनलाल शाहले मागअनुसारको मिटर केन्द्रबाटै नआएकाले मिटरका लागि नौ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । मिटरका लागि पैसा तिर्ने ग्राहकलाई क्यूमा राखेको र पालो आएपछि मात्रै मिटर दिने गरेकाले चाँडो मिटर लिनका लागि कर्मचारीले घुस माग्ने गरेको गुनासो नआएको उहाँले दाबी गर्नुभयोे ।

यता ठिमी शाखाका प्रमुख सुवोध शर्माले बालकोटमा मन्त्रीको भान्जाका लागि मन्त्रीले नै छिटो मिटर दिन आग्रह गर्दा पनि पालो मिचेर मिटर नदिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “शाखामा मागअनुसारको मिटर नआएपछि ग्राहकले महिनौ कुर्नुपरेको छ, ग्राहकको पैसा तिरेको आवेदन पालोमा राखेको हुन्छ, पालो मिचेर कसैलाई मिटर दिने गरेको छैन ।” ठिमी शाखामा अहिले ९२४ जना ग्राहकले नयाँ मिटरका लागि आवेदन दिएका छन् भने प्राधिकरणले ४६७ जनाको मिटर जडान गरेको, ३०० ग्राहकको जडान गर्ने प्रक्रियामा गएको र अझै १५० भन्दा बढी मिटर अपुग रहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु