Tuesday, 26 September 2017 11:57 pm, Nepal

आकर्षक गन्तव्यः बौद्ध स्तूपा

मेचीकाली : 2014-12-17 16:51:07


विश्व सम्पदा सूचीमा सूचीकृत बौद्व धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल काठमाडौँको बौद्ध स्तूपा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।     अनुपम् सांस्कृतिक सम्पदाका रूपमा रहेको यो स्तुपामा बढी मात्रामा नेपालीहरू जाने भए पनि पछिल्लो समयमा विदेशी पर्यटक उत्तिकैमात्रामा आउने गरेका छन् ।

    आफ्नो प्रेमीसँग नेपाल भ्रमणमा आएकी दक्षिण अफ्रिकाकी इमिली गोमिसले बौद्ध स्तुपा निकै आकर्षक लागेको बताइन् । “नेपालमा अझै पनि परम्परागत धर्म, संस्कृति र सम्पदा कायमै छन्, यहाँ स्थापित प्राचीन परम्परा अध्ययन, अवलोकन र अनुसन्धानका लागि रुचीमूलक छन्”, उनको कथन छ । अमेरिकाबाट आउनुभएकी लिसा ब्ल्याक्मेरले स्तूपा आकर्षक लागेको बताउनुहुन्छ । “स्तूपा कलात्मक छ र म यहाँ हुनुको पूराका पूरा आनन्द लिइरहेकी छु, यहाँको वातावरण र व्यवस्थापन पक्ष एकदमै राम्रो छ”, उनको भनाइ थियो ।

    भुटानबाट आएकी छिरिङ वाङ्गमोले पानी परेको मौसममा यहाँको वातावरण रमाइलो देखिएको अनुभव सुनाइन् । “नेपाल आउनुअघि यहाँ केही फोहोर छ भनेको सुनेकी थिए, सायद आज पानी परेकाले पनि होला राम्रै देखिएको छ, छिरिङले भनिन् । स्तूपा ४३ दशमलब २५ मिटर उचाइको छ । यो २० फिट व्यास, १ हेक्टर फराकिलो भई छ हजार ७५६ वर्ग मिटरको क्षेत्रफलमा फैलिएको छ । आन्तरिक र बाह्य पर्यटकको मिश्रण, त्यसमा पनि विभिन्न उमेरसमूहका दर्शनार्थी र बहुभाषीको स्तूपा अवलोकन आगमनले यहाँको वातावरणलाई थप आकर्षक र मनमोहक बनाउने गर्दछ ।

    स्तूपाका सुरक्षाकर्मी तीर्थ लामाले स्तूपा अवलोकन कर्ताले नियम नमान्दा दुःख लाग्ने बताउनुहुन्छ । “यो स्तूपालाई मैले नजिकबाट नियालेको ३७ वर्ष भइसकेको छ, नियमपालन गर्न अनुरोध गर्दा पनि पर्यटकले नमानिदिँदा दुःख लाग्छ”, उहाँले भन्नुभयो ।बौद्घनाथ क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्ष २०६६÷६७ यता स्तूपा भ्रमणका लागि आउने बाह्य पर्यटकको सङ्ख्या १२ लाख २५ हजार ५३९ पुगेको छ ।  त्यसमा पनि सार्क राष्ट्रबाट चार लाख १६ हजार ३८४ सङ्ख्यामा पर्यटक स्तूपामा भित्रिसकेका छन् भने अन्य राष्ट्रबाट आठ लाख नौ हजार १५५ को सङ्ख्यामा पर्यटक स्तूपामा आएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७०÷७१ मा मात्रै सार्क राष्ट्रबाट आउने पर्यटक सङ्ख्या नौ लाख तीन हजार ४१२ र अन्य राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या एक लाख ७० हजार ७५५ गरी कुल सङ्ख्या दुई करोड छ लाख चार हजार १६७ रहेको छ ।

    यो सङ्ख्या आर्थिक वर्ष २०६९÷७० को तुलनामा ११ हजार ५०२ को सङ्ख्याले बढेको देखिन्छ  । स्तूपाको सम्बद्र्घन र संरक्षणमा बौद्घनाथ क्षेत्र विकास समिति तथा बौद्घ घ्याङ गुठी समाजलगायत संस्था कार्यरत छन् । बौद्घ स्तूपाको व्यवस्थापनमा बौद्घनाथ क्षेत्र विकास समिति दत्तचित्त भई लागिपरेको समितिका अध्यक्ष सुवर्णकुमार लामा बताउनुहुन्छ । “पहिलेको जस्तो समस्या धेरै छैनन् तापनि कहिलेकाहीँ महानगरपालिकाले भूस्याहा कुकुरको व्यवस्थापन नगरिदिँदा समस्या आउँछ, स्तूपाकोे फोहोर नियन्त्रण गर्न कूचीकारको व्यवस्था गरेका छौँ र बौद्घ सरसफाइ केन्द्रसँग सफाइ कार्यमा सहयोग लिएका छौँ”, लामा बताउनुहुन्छ । विगत दश वर्षदेखि लामा पढ्दै आउनुभएकी डोल्मा शेर्पाले सकारात्मक सुधारको महसुस गर्नुभएको बताउनुहुन्छ । “बस्ने कुर्सी राखिएका छन्, ढुङ्गाहरू राम्ररी बिछ्याइएको छ, । चाडपर्वको समयमा आवारा केटाहरू आएर हल्ला गर्दा ध्यानमा असर पुग्छ”, डोल्माले दुखेसो गर्नुभयो ।

समितिले पर्यटकलाई स्व–सचेत हुन जानकारीमूलक पर्चा र ठाउँठाउँमा सूचनापार्टी राखेको छ । यही वर्षमात्रै समितिले स्तूपामा वज्र प्लास्टरदेखि म्हानेको सरसफाइमा करिब रु ४५ लाख खर्च गरेको छ ।  संस्कृति मन्त्रालयबाट बर्सेनि रु चार÷पाँच लाखको आर्थिक सहयोग आउने भए पनि पर्याप्त नहुने समितिको भनाइ छ । पर्यटक शुल्कबाट उठेको रकमले कर्मचारीलाई तलब दिनेलगायतका विविध कार्यक्रम समितिले गर्दै आएको छ । वास्तवमा बौद्घनाथ क्षेत्रको व्यवस्थापनमा समितिले पैसा खर्चने भए तापनि समयसमयमा विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोगको आह्वान गर्न आउने हुँदा समस्या पर्ने अध्यक्ष लामाको गुनासो छ । यही वर्षदेखि बाह्य पर्यटकबाट लिने शुल्क समितिले बताएको छ ।

    सार्क राष्ट्रका लागि नेपाली ५० रुपैयाँ र अन्य देशका पर्यटकका लागि रु २०० तोकिएको छ । विदेशी पर्यटकका लागि शौचालय भर्खरै बनेको छ भने स्वदेशी पर्यटकका लागि शौचालय निर्माणाधीन छ । स्तूपा क्षेत्रमा ऐतिहासिक महत्व बोकेको पोखरीलाई केन्द्रबिन्दु बनाएर पार्क बनाउने समितिको योजना छ । स्तूपा परिसरमा बिछ्याइएका पुराना ढुङ्गालाई विस्थापन गरी नयाँ ढुङ्गा बिछ्याउने काम पनि समितिले चाँडै अघि बढाउँदैछ । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु