Tuesday, 26 September 2017 11:16 am, Nepal

सार्क फस्ट लेडीले गरे भक्तपुर सम्पदाको भ्रमण

रासस : 2014-11-27 13:50:03


रमेश गिरी
 भक्तपुर, ११ मंसिर :

अठारौँ सार्क शिखर सम्मेलनमा भाग लिन आउनुभएका सार्क फस्ट लेडी र विदेशमन्त्रीका श्रीमतीहरुले आज विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रमुख सम्पदाहरुको अवलोकन गर्नुभयो । भक्तपुर भ्रमणमा आउने फस्ट लेडीमा माल्दिभ्सकी फतिमा इब्राहम र पाकिस्तानकी बेगम साहिबा हुनुहुन्छ ।

बङ्गलादेशका विदेशमन्त्रीकी पत्नी साहिन अली र श्रीलङ्कालीे विदेशमन्त्रीकी पत्नी सावित्री नेहम पेरिस उक्त टोलीमा सम्मिलित हुनुहुथ्यो ।  दरबारस्क्वायरमा उहाँहरुलाई नेपालकी फस्ट लेडी सुजाता कोइराला, प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, नगरपालिकाका कार्यकारी अधिकृत राममणि भट्टराईलगायतले स्वागत गर्नुभएको थियो ।

आज बिहान १०ः५० बजे भक्तपुरको दरबारस्क्वायर आइपुग्नु भएका पाहुनाहरु १२ बजे फर्किनुभएको थियो । स्वागतपछि उहाँहरुलाई ५५ झ्याले दरबार, राष्ट्रिय कला सङ्ग्रहालयको अवलोकन गराइएको थियो । त्यसैगरी, उहाँहरुले दरबारस्क्वायरको लामोपाटीमा भक्तपुर उद्योग वाणिज्य सङ्घले राखेको चर्खा, हाकुपटासी बुन्दै गरेको कपडा बनाउने तान, भक्तपुरका परम्परागत धातुकला, मूर्तिकला तथा हस्तकलाका सामग्रीको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा श्रीलङ्काको परराष्ट्रमन्त्रीको पत्नी पेरिसले ढाकाको सल, ऊनी टोपी र नेपाली हातेकागजबाट बनाइएको डायरी किन्नुभएको थियो । पाहुनालाई व्यापारीले आफूले उत्पादन गरेका सामग्री चिनोको रुपमा दिएका थिए ।

     पाँचतले मन्दिरको अवलोकनपछि उहाँहरुलाई तौमढी स्क्वायरमा प्रदर्शन गरिएको प्रसिद्ध देवी नाचको अवलोकन गराइएको थियो । तौमढी स्क्वायरको न्यातपोल क्याफेमा बसेर उहाँहरुले चियापानसँगै देवी नाच हेर्नुभएको थियो ।अवलोकनको क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पाकिस्तानका फस्ट लेडी साहिबाले नेपाल सम्पदाको धनी भएको बताउँदै यहाँका हस्तकलाका सामग्री आकर्षक रहेको प्रतिक्रिया दिनुभयो । नेपालको फस्ट लेडी कोइरालाले यहाँका हस्तकलाका सामग्री धेरै नै राम्रो लागेको प्रतिक्रिया दिँदै आजको भक्तपुर भ्रमण सबैका लागि उपलब्धिमूलक भएको बताउनुभयो । भ्रमण सकेर पाहुना मध्याह्न १२ बजे फर्किनुभएको थियो । उहाँहरुलाई भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत भट्टराईले मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।

फस्ट लेडीले भक्तपुर भ्रमण गर्ने भएपछि आज बिहानैदेखि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु