Tuesday, 26 September 2017 02:57 pm, Nepal

सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखका रोचक पक्ष

मेचीकाली : 2014-11-25 18:17:30


वासुदेव पौडेल/कालिका खड्का
काठमाडौँ, ९ मंसिर ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको करिब तीन दशकको अन्तरालमा हुन लागेको १८औँ शिखर सम्मेलन यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।

    भौगोलिक रुपमा भूपरिवेष्ठितदेखि जलवेष्ठितसम्म रहेको यो क्षेत्रमा आर्थिकरुपमा सम्पन्नदेखि विपन्नसम्म, शक्तिका हिसाबले शक्तिशालीदेखि कमजोरसम्म सबैको उपस्थिति पाउन सकिन्छ ।

सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखमध्ये भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वर्तमान विश्व राजनीतिका चर्चित व्यक्तित्व हुनुहुन्छ ।

    अफगानिस्तानका राष्ट्रपति असरफ घानी विश्वमै बुद्धिजीवीका रुपमा चिनिनुहुन्छ भने बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद विश्वकी शक्तिशाली महिलाहरुमा ४७औं स्थानमा पर्नुहुन्छ ।

    सम्मेलनमा नेपालका प्रधानमन्त्री सुशील कोइराला उमेरका दृष्टिले ज्येष्ठ सदस्य ठहरिनुभएको छ भने कनिष्ठ सदस्यका रुपमा भुटानका प्रधानमन्त्री छिरिङ् तोब्गे हुनुहुन्छ ।

    अविवाहित ७५ वर्षीय कोइरालाले यस सम्मेलनको अध्यक्षता गर्दै हुनुहुन्छ भने कान्छा भुटानका प्रधानमन्त्री तोब्गे ४९ वर्षको हुनुहुन्छ ।

उमेरका हिसाबले अन्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुमा श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष ६९ वर्षीय, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद ६७ वर्षीय हुनुहुन्छ । हसिना बङ्गलादेशका संस्थापक तथा प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुनहुन्छ ।

    पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन ६५ वर्षीय र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६४ वर्षीय हुनुहुन्छ ।

अफगानिस्तानका राष्ट्रपति घानी संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युनडिपी)अन्तर्गत काम गर्ने क्रममा यसअघि नै लामो समय नेपालमा बसेर काम गर्नुभएको थियो ।

बङ्गलादेशकी प्रधानमन्त्री हसिना तेस्रोपटक शिखर सम्मेलनमा सहभागी हुनु हुँदैछ भने उहाँपछि सार्क शिखर सम्मेलनका अनुभवी श्रीलङ्काका राष्ट्रपति महिन्द राजापक्ष रहनुभएको छ । सन् २००८ मा आफैंले सार्कको अध्यक्षता गरेका राजापाक्ष त्यसयताका सबै सम्मेलनमा सहभागी हुनुभएको छ ।

    हालसम्म सम्पन्न  शिखर सम्मेलनमध्ये  स्थापनाकालीन सम्मेलन आयोजना गरेको बङ्गलादेशले आफ्नो देशमा हालसम्म तीनवटा सम्मेलन आयोजना गरिसकेको छ ।

    भारत, श्रीलङ्का र मालदिभ्सले तीन÷तीनपटक सम्मेलन आयोजना गरेकामा नेपालले यसपालिको सम्मेलन आफ्नो देशमा तेस्रो पटक आयोजना गरेको हो ।

    पाकिस्तानले दुईवटा सम्मेलन आयोजना गरेको छ भने हालसम्म जम्मा एउटा मात्रै सम्मेलन गर्ने राष्ट्रका रुपमा भुटान रहेको छ  ।

सार्कको कान्छो सदस्य अफगानिस्तानलाई हालसम्म सम्मेलन आयोजना गर्ने अवसर जुटेको छैन । सार्क सम्मेलनको प्रचलित नियम अनुसार (वर्णानुक्रम) आगामी सम्मेलनको पालो पाकिस्तानले पाएपछि श्रीलङ्का र त्यसपछि मात्र अफगानिस्तानमा आउनेछ ।

प्रत्येक वर्ष आयोजना हुनुपर्ने सम्मेलनले स्थापनाको चार वर्षसम्म निरन्तरता पाए पनि पाँचौपटक सन् १९८९ मा हुनुपर्नेमा १९९० मा मात्रै भयो ।

    त्यसयता एकवर्षको अन्तराल रहने गरेकामा भारत–पाकिस्तान तनावले सन् १९९८ पछि चार वर्षसम्म शिखर सम्मेलन हुन सकेन । त्यसपछि एकैचोटी २००२ मा एघारौं सार्क शिखर सम्मेलन काठमाडौँमा सम्पन्न भयो ।

    प्रत्येक वर्ष हुनुपर्ने शिखर सम्मेलनहरु आयोजक राष्ट्रका समस्याका साथै सार्क राष्ट्रमा भएका राजनीतिक घटनाक्रमका कारण अवरुद्ध भएका छन् ।

    हालसम्म अवरुद्ध सम्मेलनहरुमा सन् १९८९ मा श्रीलङ्कामा तामिल समस्या, १९९२ मा भारतमा धार्मिक  द्वन्द्व, १९९४ र १९९६ मा सबै सदस्य राष्ट्रका आ आफ्ना आन्तरिक समस्या, १९९९ मा जनरल पर्वेज मुसर्रफको नेतृत्वमा पाकिस्तानको सैनिकद्वारा प्रधानमन्त्री नवाज सरिफको नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेका कारण अवरुद्ध भएको थियो ।

    त्यस्तै, सन् २०००, सन् २००१, सन् २००३ मा भारत पाकिस्तानबीचको आन्तरिक द्वन्द्वका कारण, सन् २००६ मा सन् २००५ मा आएको सुनामी तथा सदस्य राष्ट्रका आन्तरिक समस्या, सन् २००९ मा माल्दिभ्सले आर्थिक मन्दीका कारण आयोजना गर्न नसक्ने जनाएपछि उक्त सम्मेलन भुटानले सन् २०१० मा आयोजना गर्ने सुनिश्चित गरेपछि सन् २००९ मा सम्मेलन हुन सकेन ।

    यस सम्मेलनका सहभागी राष्ट्राध्यक्ष वा सरकार प्रमुखमध्ये बङ्गलोदशका प्रधानमन्त्री हसिना र श्रीलङ्काका राष्ट्रपति राजपाक्ष सबैभन्दा अनुभवी हुनुहुन्छ भने अन्य छ वटै देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्मेलनमा पहिलोपटक सहभागिता हुने अवसर  पाउनुभएको छ  । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु