Tuesday, 26 September 2017 04:54 pm, Nepal

चालीस वर्षपछि सुनधारामा पानी आयो

मेचीकाली : 2014-11-24 15:49:18


भक्तपुर, ८ मंसिर :

करिब ४० वर्षअघिदेखि बन्द भक्तपुरको ऐतिहासिक सुनधारामा पानी आउन थालेको छ । सार्क सम्मेलनमा भक्तपुरमा पाहुना घुम्न आउने भएपछि पुरातत्व विभाग दरबार हेरचाह कार्यालयले यहाँको सुनधारामा पानी आउने व्यवस्था गरेको हो ।

    राजकुलोबाट सफा पानी आउने भक्तपुरको दरबारस्क्वायर क्षेत्रमा रहेको ५५ झ्याले दरबारको पछाडि तलेजु मन्दिर अगाडि रहेको सुनधारामा मल्ल राजाले नुहाउने गर्दथे ।

    पुरातत्व विभाग दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले सार्कको अवसरमा भक्तपुरमा पाहुना आउने भएपछि सुनधारामा पानी आउने व्यवस्था गरेको बताउनुभयो ।

    मल्ल राजाले नुहाउने सुनधारामा पानी आउन छाडेपछि विगतमा आउने पर्यटकले पानी आएको हेर्न चाहेको बताउने गरेको जानकारी दिँदै उहाँले अब सुनधारामा सधैँ पानी आउने व्यवस्था गरेको उल्लेख गर्नु भयो ।

    भक्तपुरमा बाक्लो बस्ती बढेपछि राजकुलो पुरिन थालेको र धारामा पानी आउन बन्द भएको उहाँको भनाइ छ । अहिले पानी ट्याङ्कीको व्यवस्था गरी ट्याङ्कीबाट धारासम्म पाइप जडान गरी पानी आउने व्यवस्था गरेको हो ।

    धारामा आएको पानी धारा अगाडिकै नागपोखरीमा जम्मा हुने र त्यही पानी फेरि रिसाइकल गरी ट्याङ्कीमा लगेर पानी आउने व्यवस्था गरेको हो ।

    धारासँगै रहेको मल्ल राजाले नुहाएर कपडा फेर्ने गरेको गोप्य कोठाको समेत मर्मत गरिएको छ । पानी चुहिने अवस्थामा पुगेको यस कोठाको झिँगटी फेर्ने, मर्मत गर्ने र कौसीमा जाने भ¥याङ राख्ने काम सकिएको श्रेष्ठले जानकारी दिनुभयो ।

    सार्कका लागि पुरातत्व विभाग दरबार हेरचाह कार्यालयले भक्तपुर नगरपालिका क्षेत्रको सम्पदामा १५ वटा प्याकेजमा र चाँगुनारायण क्षेत्रमा छवटा प्याकेजमा मर्मत, रङ्गरोगन गर्ने र सिँगार्ने कार्य गरेको छ ।

    इन्जिनियर श्रेष्ठका अनुसार भक्तपुर दरबारस्क्वायरको मुख्य दत्तात्रयको पुजारी मठको झ्यालको फलैँचा, बुट्टे झ्यालको मर्मत, रसायन संरक्षण, धातुकला सङ्ग्रहालयको चिंकफली मठको छानो मर्मत, दत्तात्रय मठको डबली र मन्दिरको रसायन संरक्षण गर्ने कार्य भएको छ ।    यसका लागि रु ७५ लाख खर्च भएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

    यता रु ३० लाखको लागतमा विश्वसम्पदा सूचीमै रहेको चाँगुनारायण मन्दिरको भीमसेन पार्टीसँगैको खाली जग्गामा डबली बनाउने, ढुङ्गा छाप्ने, मन्दिरको पूर्वतर्फको ढोकाको फलैँचा तथा भीमसेन पार्टीको संरक्षण गर्ने, पश्चिमपट्टिको ढोका बाहिर ढल्किएको पर्खाल सोझ्याउने काम भएको उहाँले जानकारी दिनुभयो ।

    गत वर्ष बनाएको नारायणहिटी सिँढीको बाँकी कार्य पूरा गर्ने, मन्दिरको चौघेरा सत्तल बाहिरको उत्तरपूर्वी कुनामा विश्रामस्थल तथा टेवा पर्खाल नयाँ निर्माण गर्ने, चौघेरा सत्तलको दक्षिण पूर्वी कुनामा पर्खाल लगाउने, वातावरण संरक्षण गर्ने कार्य भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु